बायो ग्यास प्लान्टमा नयाँ मोडेल,सिमेन्टको विकल्पमा अब फाइवर डोम



 

प्रकाश पन्त, वीरेन्द्रनगर
बायोग्यास प्लान्टमा नयाँ मोडेलको विकास भएको छ। केपी व्यावसायिक सेवा सुर्खेतले जीजीसी २०४७ मोडेलको विकल्पमा सुधारिएको प्रविधि फाइवर डोम (मिथेन ग्यास रहने ठाउँ) को विकास गरेको हो।

वर्ष दिनसम्म गरिएको अध्ययन र अनुसन्धानपछि नयाँ फाइवर डोम मोडेलको विकास गरिएको सेवाका सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो।
‘बायो ग्यास बनाउँदा अहिलेसम्म सिमेन्टको डाइजेस्टर (कुहिने वस्तु रहने ठाउँ) र सिमेन्टकै डोम प्रयोग हुँदै आएका थियो’, ढकालले भन्नुभयो– ‘तर अब भने सिमेन्टको डाइजेस्टर र फाइवरको डोम हुन्छ।’ नेपालमै पहिलोपटक विकास गरिएको फाइवरको डोम उपभोक्ताका लागि निकै किफायती भएको उहाँले बताउनुभयो। सिमेन्टको डोम प्रयोग गरेर एउटा बायोग्यास बनाउन महिना दिन लाग्थ्यो भने फाइवरको डोम प्रयोग गर्दा ४ दिनमै बायो ग्यास निर्माण हुन्छ।

सिमेन्टको डोम टुट्ने फुट्ने समस्या हुन्छ, फाइवरमा हँुदैन, सिमेन्टको डोमलाई भूकम्पले क्षति गर्छ फाइवरलाई गर्दैन, सिमेन्टको डोम अन्यत्र सार्न मिल्दैन, फाइवरलाई अन्यत्र सार्न मिल्छ, सिमेन्टको डोमलाई मर्मत गर्न सकिँदैन टुट्यो फुटयो भने नयाँ बनाउनै पर्छ, फाइवरलाई मर्मत सुधार गरे पुग्छ।

फाइवरको डोम प्रयोग गरेर बायो ग्यास बनाउँदा जनशक्ति र सिमेन्ट, वालुवा पनि निकै काम लाग्छ। सिमेन्ट प्रयोग गरेर एउटा बायो ग्यास बनाउन १६ बोरा सिमेन्ट, ७० बोरा बालुवा, ३० बोरा गिटी दक्ष र अदक्ष गरी ३० जना कामदार लाग्छ।
तर फाइवरको डोम प्रयोग गरेर बायो ग्यास बनाउँदा ६ बोरा सिमेन्ट, ४ बोरा गिटी, ३० बोरा बालुवा, दक्ष र अदक्ष गरी १५ जना जति कामदार लाग्ने सञ्चालक ढकालले बताउनुभयो। ‘सिमेन्टको डोममा सानो ठाउँमा इनामेल गर्न छुट्यो भने पनि ग्यास लिक हुने समस्या हुन्छ तर फाइवरको डोममा त्यस्तो समस्या हँुदैन’, ढकालले भन्नुभयो– ‘त्यसैले फाइवरको डोम सिमेन्टको भन्दै धेरै सस्तो, किफयती र उपयोग गर्न निकै सजिलो हुन्छ।’

पुरानो मोडेलबाट उत्पादन हुने ग्यासको इपिसेन्सीभन्दा यसको इपिसेन्सी पनि बढी भएको सञ्चालन ढकालले बताउनुभयो। केपीएस एफअरपी नाम दिइएको यो फाइवर डोम बनाउन जिल्ल्ला समन्वय समिति सुर्खेत, वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्र र केएफडब्लुले सहयोग गरेका हुन्।

नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएका यो प्रविधिको सफल परीक्षणसमेत गरिएको छ। यसलाई उपभोक्ताको घरघरसम्म पुर्याउनका लागि सहयोग गर्न पनि ढकालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केएफडब्लुलाई आग्रह गर्नुभएको छ। एक घरलाई एक भारी दाउरा तीन दिनसम्म हुन्छ। एक भारी दाउरा ३० देखि ४० केजीसम्म हुन्छ। वर्ष दिनमा एक घरले १ सय ३० देखि १ सय ५० भारी दाउरा प्रयोग गर्छ। वर्ष दिनमा एक घरले १३० देखि १५० भारी दाउरा प्रयोग गर्नु भनेको एउटा ३० देखि ४० वर्षको रुख नष्ट हुनु हो त्यसैले वन जंगल जोगाउन पनि बायो ग्यासको प्रयोगलाई प्रोत्साहन गर्न सरकार गम्भीर हुनुपर्ने ढकालले बताउनुभयो।

सुर्खेतमा अहिले वायो ग्यास प्रयोगकर्ताको संख्या ४ हजारको हाराहारीमा छ। सुर्खेतमा हरेक वर्ष केपी व्यावसायिक सेवाले २ सय ५० को हाराहारीमा बायो व्यास बनाउँदै आएको जनाएको छ। अहिलेसम्म शहरी क्षेत्रमा एलपी ग्यास र ग्रामीण क्षेत्रमा दाउराको प्रयोग बढी मात्रामा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्