बन जोगाउन ‘हटस्पट’



हेटौंडा,(नेस) । अतिक्रमणबाट बनलाई जोगाउन ‘हटस्पट क्षेत्र’ निर्माण गरिएको छ । जिल्ला बन कार्यालयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यक्रमअन्तर्गत् शक्ति खोला नदी प्रणालीको हेटौंडा–१६ स्थित घ्याम्पे सामुदायिक बन उपभोक्ता समूहमा ‘हटस्पट’ निर्माण गरेको हो ।

जिल्ला बन क्षेत्र समन्वय समितिमार्फत् शक्ति खोलामा आर्थिक वर्ष २०७३÷०७४ सञ्चालन भएका विभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमनका क्रममा उक्त स्थानको अनुगमन गरिएको थियो । ‘अतिक्रमणबाट जोगाउन हटस्पट निर्माण गरिएको हो । अतिक्रमणको चपेटामा रहेको बनलाई तारले घेरी, बृक्षरोपण गरिएको छ’, जिल्ला बन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले भने ।

हटस्पट निर्माणका लागि करिब एक किलोमिटर क्षेत्रमा तारबार लगाइएको छ । जग्गा अतिक्रमण भएको थियो । हाल अतिक्रमणको चपेटाबाट उक्त क्षेत्र अलग भएको छ । त्यहाँ अम्रिसो, साल, बाँसजस्ता बिरुवा रोपिएका छन् । करिब १६ हेक्टर जमिन बचाउनका लागि हटस्पट निर्माण गरिएको हो । चुरेको पानीको मूलको रुपमा चित्रण गरिँदै आएको शक्ति र बकैया क्षेत्रमा हटस्पट निर्माण गरिएको हो ।
हटस्पट निर्माण गर्न करिब नौलाख रुपियाँ खर्च भएको जिल्ला बन कार्यालय मकवानपुरका सहायक बन अधिकृत विशाल भट्टराईले जानकारी दिए । ‘निजी आवादीसँग जोडिएको क्षेत्र भएकाले जैविक विविधता संरक्षण गर्न हटस्पट निर्माण जरुरी थियो’, उनले भने ।

हटस्पटमा जिल्ला बन, कृषि विकास, पशु, जलउत्पन्न प्रकोप, वनस्पति र भूसंरक्षण कार्यालयले एकीकृतरुपमा कामहरु गरिरहेका छन् । ‘चुरे क्षेत्रको संरक्षणका लागि एकीकृतरुपमा भएका कामहरुले राम्रो नतिजा प्राप्त भएको छ । रोपिएको बिरुवा हुर्केसँगै त्यसक्षेत्र हराभरा देखिनेछन्’, उनले भने ।

शक्ति खोला र बकैया नदीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । शक्ति र बकैया नदीमा तीन वर्षबाट छ वटा सरकारी कार्यालयले संयुक्तरुपमा एकीकृत कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्