पाँचतारे होटलहरू थपिँदै



 

दीपेन्द्र थापा, काठमाडौं

पर्यटन उद्योगमा आएको सुधारसंगै देशभर २८ वटा नयाँ तारे होटल थपिनेछन्।
नेपालभरि १० वटा पाँच तारे, ७ वटा चार तारे र ११ वटा तीन तारे गरी कूल २८ ओटा नयाँ होटल संचालन हुन लागेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार काठमाडौंमा मात्र ६ ओटा होटल थपिनेछन्। नयाँ होटल थपिनु समग्र पर्यटन क्षेत्रका लागि सकारात्मक कुरो हो।’ पर्यटन विभागका होटल शाखा निर्देशक विष्णुप्रसाद रेग्मीले भन्नुभयो।

थपिएका होटल चाँडै नै सञ्चालनमा आउने विभागका नायव सुब्बा राजेश लम्सालले बताउनुभयो। लम्सालले भन्नुभयो– ‘ती होटलमध्ये कुनै सञ्चालन अनुमतिका लागि आएका छन् भने कुनै प्रारम्भिक वातावरण परीक्षण गर्ने क्रममा रहेका छन्।’

यसैबीच होटल संघ नेपाल (हान)ले अनुसार नयाँ होटल थपिँदा होटल क्षेत्र कूल ३३ अर्ब रुपियाँ थपिने जनाएको छ। हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार कार्य पत्र प्रस्तुत गर्दै नेपालमा होटलमा कूल लगानी करिब २ खर्ब ५० अर्ब रहेको जानकारी दिनुभयो।

सन् २०२० सम्म ४ हजार बेड थपिंदै छन्। त्यसमा २ हजार कोठा काठमाडौं थपिँदै छन्। एक जना पर्यटक आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ जनालाई रोजगारी प्राप्त हुने हानले जनाएको छ। हानका अनुसार होटल क्षेत्रमा ५ लाखले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।

सरकारले आगामी ३ वर्षमा ८३ अर्ब रुपिँया लगानी गर्न लक्ष्य राखेकोमा ८ अर्ब सरकारले र बाँकी निजी क्षेत्रले लगानी गर्ने अपेक्षा राखिएको छ।

४ हजार बेड थपिँदा नेपालमा कूल बेड क्षमता ४२ हजार पुग्नेछ। हानका अनुसार ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने भएका हुन्। बेड संख्यामा वृद्धिपछि नेपालको कूल पर्यटक क्षमता २० लाख पुग्ने अनुमान छ।

प्रस्तावित नयाँ पाँचतारे होटलमा काठमाडौंमा थपिने सिटी होटल, कालीमाटी, होटल क्राउन ईम्पेरियल, रविभवन, एभरेस्ट हस्पिटालिटि, नक्साल, जगदम्बा हस्पिटालिटि, नक्साल, अकला होटल, धुम्बाराही र होटल ले शेर्पा रहेका छन्। त्यस्तै काठमाडौं बाहिर रारा परियोजना, होटल टाईगरवान, रूपन्देही, होटल पवन प्यालेस, लुम्बिनी, भेगास सीटी ईन्टरटेन्मेन्ट, होटल मेची क्राउन, झापा रहेका छन्।

अघिल्लो वर्ष पनि खुलेका होटलमध्ये अधिकांश काठमाडौं उपत्यकाभित्र रहेका थिए। पर्यटकको सुविधाका लागि वर्ष २०७३ मा ४४ वटा सुविधा सम्पन्न नयाँ होटल सञ्चालनमा आएका थिए। तीमध्ये चारतारे १, तीनतारेको ५, दुईतारे २, एकतारे ६ र पर्यटनस्तरीय ३० होटल थिए।

यसैबीच भूकम्प र नाकाबन्दीका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र विस्तारै पुर्नजीवित हुँदै गएपछि लगानीकर्ता आकर्षित देखिएको विभागका निर्देशक दुर्गादत्त ढकालको भनाइ छ। उहाँका अनुसार नयाँ खुलेका पर्यटकीय होटलका कारण पनि नेपालको पर्यटन क्षेत्रमा आर्कषण रहेको पुष्टि गर्छ। ढकालले भन्नुभयो–‘भूकम्पपछि होटल खुल्ने क्रम बढेको छ।’ उहाँले भूकम्प र नाकाबन्दीका कारण पर्यटक आउने संख्यामा वृद्धि हुँदै जानुले पनि भोलिका दिन राम्रो हुने देखेर लगानी कर्ता उत्साहित भएको बताउनुभयो।

हालसम्म पर्यटन विभागमा दर्ता भएका होटलको संख्या ५ सय ८५ रहेको छ। विभागमा पाँचतारे १०, चारतारे ३, तीनतारे ३१, दुईतारे ४३, एकतारे ३३ र पर्यटनस्तरीय ४ सय ६५ को स्ंख्यामा होटल दर्ता भएका छन्। त्यस्तैे २ सय २७ वटा होमस्टेले सञ्चालनका लागि स्वीकृति पाइसकेर सञ्चालनमा रहेको पर्यटन विभागले जनाएको छ।

सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभाग तथ्यांकमा उल्लेख छ। सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको हुँदा पनि पर्यटन क्षेत्रमा लगानीको आकर्षण बढेको सरोकारवालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्