क्षति न्यूनीकरणमा सधैँ उदासीन



 

हाम्रो देशमा बर्सेनि बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नयाँ कुरा होइन । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको छ । निरन्तरको वर्षासँगै मुख्य नदी र जलाधार क्षेत्रमा पानीको बहाव बढेको छ । पश्चिम तराईका अधिकांश नदी तटीय बस्ती उच्च जोखिममा छन् । पहाडी बस्तीहरुमा गएको पहिरोले निरन्तर जनधनको क्षति भइरहेको छ । तीन वर्षअघि गएको शक्तिशाली भूकम्पले पुर्याएको क्षतिको घाउ निको हुन नसकिरहेको बेला बर्सेनि आउने बाढीपहिरोले थप थला बसालिरहेको छ ।

प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरुपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पइँदैन । हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरुपमा न्यूनीकरण गर्दै जानुपर्ने भए तापनि सो कार्यमा अपेक्षित प्रगति हुन नसकेको व्यवस्थापिका संसद्को विकास समितिले समेत निष्कर्ष निकालेको छ । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरुलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरु (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरु) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धतिअनुरुप आवश्यक पूर्वतयारी एवं पूर्वसावधानीसहितको कार्ययोजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधिललगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरु तयारी अवस्थामा राख्न र विपद व्यवस्थापन विधेयक १५ दिनभित्र तयार गरी सदनमा पेस गर्न विकास समितिले नेपाल सरकार, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलाई निर्देशन पनि दिएको छ ।

समस्या समाधानको लागि सम्बन्धित सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गरी छिटो कार्य अघि बढाएमा कार्य प्रगति देखिन्थो र प्राकृतिक प्रकोप न्यूनीकरण हुँदै जाने थियो । तर हाम्रो मुलुकमा कामभन्दा बढी गफ हुने गर्छ । एउटा निकायले भनेको अर्कोले टेर्दैन । अहिले वर्षायाम छ । बाढीपहिरोको कारण जनधनको क्षति भैरहेका समाचार नियमित प्रकाशमा आइरहेका छन् । राजनीतिक दल तथा दलका नेताहरुले पनि समस्याबारे चर्को स्वरमा आवाज उठाइरहेका छन् । यही बेला क्षति न्यूनीकरणको लागि अपनाउनुपर्ने नीति बनाउने तथा निर्देशन दिने कार्य भैरहेको पनि छ । अब दुई–चार महिनापछि फेरि अहिले क्षति भएका कुरा बिस्तारै हराउँदै जान्छन् र अर्को वर्षायाममा पुनः उही कुरा उठ्छ । अतः प्राकृतिक प्रकोपवाट हुने क्षति न्यूनीकरणको लागि कुरा हैन काम गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्