जिबौटीमा चीनको पहिलो विदेशी सैन्य अड्डा



 

बेइजिङ, (एजेन्सी)
चीनले पहिलो पटक आफ्नो सेनालाई विदेशी भूमिमा तैनाथ गर्ने तयारी गरेको छ। चीनले आफ्नो सेनाका लागि अफ्रिकी मुलुक जिबौटीमा सैन्य अड्डा खडा गर्ने जनाएको छ। यसअघि जिबौटीमा अमेरिका, जापान र फ्रान्सले आफ्नो सैनिक अड्डा बनाइसकेको छ।
अफ्रिकाको यो सानो देश जिबौटी विदेशी सेनाको केन्द्रमा रहेको छ। चिनियाँ सञ्चारमाध्यमले चिनियाँ सैनिकको टुकडीलाई लिएर केही पानी जहाज जिबौटीतर्फ प्रस्थान गरिसकेको जनाएको छ।

जिबौटी रहेको स्थान सैन्य अखडा बनाउनका लागि अत्यन्त उपयुक्त मानिन्छ। यो अत्यन्त व्यस्त पानीजहाज आवागमन मार्गमा पर्ने देश हो। यहाँको राजनीतिक स्थिति उसको छिमेकी देशको तुलनामा स्थिर रहेको छ।

चीनले आफ्नो सैन्य अखडाको माध्यमबाट अफ्रिका र दक्षिण एसियामा शान्ति तथा मानवता कायम गर्नमा मद्दत गर्ने जनाएको छ। यसबाट सैन्य सहयोग, नौसैनिक अभ्यास र राहत अभियानको कार्य पनि गरिने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

हालैका दशकमा अफ्रिकामा लगातार लगानी बढाइरहेको छ। विगत केही वर्षमा आफ्नो सेनाको आधुनिकीकरणमा पनि धेरै ध्यान दिइरहेको छ। चीनको दक्षिणी ग्वाङदोङ प्रान्तको शहर झाजियाङबाट चिनियाँ सेना जिबौटीका लागि प्रस्थान गरिसकेको सिन्ह्वाले जनाएको छ। जिबौटीको सैन्य अखडाको निर्माण चीन र जिबौटीबीच मित्रताको नतिजा भएको समाचारमा उल्लेख छ। यो कदमलाई अफ्रिकी क्षेत्रमा चीनको उपस्थिति स्थापित गर्ने थालनीका रुपमा लिइएको छ।
सन् २०१५ मा अफ्रिकी देशसँग भएको शिखर सम्मेलनमा चीनले अफ्रिकाको विकासका लागि ६० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। योसँगै चीन अफ्रिका महाद्वीपको सबैभन्दा ठूलो व्यापार साझेदार बनिसकेको छ। त्यसै गरी अफ्रिकाबाट चीनले पनि थुप्रै प्राकृतिक संसाधन प्राप्त गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्