रोकायालाई पुरस्कार



 

काठमाडौं, (नेस)
सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुल कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ।

स्व. पाठकको स्मृतिमा उनका एकै ब्याचका सहकर्मीद्वारा स्थापित १ लाख ५० हजार रुपियाँ राशीको स्थापना गरिएको अक्षयकोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एक जना छात्र तथा छात्रालाई सो पुरस्कार प्रदान गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। यही असार २८ गते बुधबार सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हलचोकमा आयोजित सो संघको वार्षिकोत्सवमा एक समारोहका बीच रोकायालाई सो पुरस्कार प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल सि.सं. ७ का सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा आफ्ना सहकर्मीको सम्झनामा सो संगीत अक्षयकोष स्थापना गरिएको हो। सानैदेखि गीत–संगीतमा रुचि राख्ने बहुप्रतिभाका धनी सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकले पक्षी र निन्द्रा लाग्दैन गरी २ वटा एल्बम बजारमा ल्याइसकेका थिए। गीत रचना गर्ने, आफैं संगीत भर्ने र आफैं गाउनेसमेत क्षमता राख्ने स्व. पाठकको सांगीतिक प्रतिभालाई अमर राख्नका लागि सो अक्षयकोषको स्थपाना गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए।

स्व. पाठकको कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत्र २७ गते धादिङको मलेखुमा सडक दुर्घटनामा परी निधन भएको थियो। यसका साथै सो संघले पुरस्कार स्थापना गर्न सहयोग गरेबापत सो सि.सं. लाई प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त सि.सं. को तर्फबाट सशस्त्र प्रहरी निरीक्षक थापालाई प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्