पाँच युवा प्रतिभा सम्मानित



 

भक्तपुर, (नेस)
जिल्लास्तरका युवा प्रतिभा तथा उद्यमीहरूलाई सम्मान गरिएको छ। राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति भक्तपुरले सञ्चारकर्मी सोम शर्मा (बजगाईं) सहित जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत ५ युवा उद्यमीलाई नगदसहित सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा सञ्चार क्षेत्रबाट पत्रकार सोम शर्मा (बजगाईं), खेल क्षेत्रबाट राष्ट्रिय धावक कृष्णश्वरी सिन्तकल, साहित्यबाट साहित्यकार श्यामकृष्ण खुलीमुली, योग अभियन्ता विकास वज्राचार्य र उद्यमशील तार रोजगारीतर्फबाट संस्थागतरूपमा भक्तपुर घरेलु तथा साना उद्योग संघ रहेका छन्। उनीहरूलाई नगद ५ हजार रुपियाँसहित प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र राष्ट्रिय युवा परिषद्का उपसचिव धु्रवराज पौडेलले सम्मान गरे।

सम्मान कार्यक्रममा युवा समितिले ‘समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयमा आयोजना भएका वतृत्वकला प्रतियोगिताका विजयीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरेको छ। प्रतियोगितामा प्रथम हुने मोर्डन कलेजका बल्सला एस राजधामीले ४ हजार रुपियाँ, द्वितीय हुने सैनिक आवासिय महाविद्यालयका क्षीतिज वैद्यले ३ हजार, तृतीय हुने काठमाडौं स्कुल अफ ल का रक्षा खनालले २ हजार र जनप्रेमी कलेजका साम्भवी अधिकारीले १ हजार रुपियाँसहित सान्त्वना पुरस्कार प्राप्त गरे।

कार्यक्रममा प्रजिअ पोखरेलले सरकारले युवालाई रोजगारी सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रमले युवा विदेश पलायल रोक्न मद्दत पुगेको बताए।

परिषद्का उपसचिव पौडेलले युवाहरूको क्षमता अभिवृद्धीअन्र्तगत तालिमसमेत प्रदान युवालाई स्वरोजगार बन्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। युवा समिति भक्तपुरका प्रमुख पद्मराज जोशी, गैसस महासंघका अध्यक्ष बालमुकुन्द सुवाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले युवालाई उद्यमशील सीप विकास गराई स्वरोजगार र रोजगारीको अवसर सिर्जना गर्न सरकारले रणनीतिक योजना बनाई कार्य गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्