सडकमा मरेका पशुलाई गाड्ने रणनीति



 

नेपाल समाचारपत्र
बाँके
एक दिनअघि न्यूरोडमा एउटा गधा मर्यो। स्थानीयले खबर गरेपछि नेपालगन्ज उपमहानगरपालिकाको टोली पुग्यो। मरेको गधालाई कहाँ लगेर फाल्ने समस्या भयो। नगरपालिकाको टोलीले नजिकै खाली जग्गा खोज्न थाल्यो। स्थानीयले नेपाल बैंक लिमिटेडको पछाडि रहेको खालि जग्गा देखाइदिएपछि त्यही खाल्टो खनेर गाडियो।

नेपालगन्ज उपमहानगरपालिकाले सडकमा मरेका गाई, गधा, कुकुर, बिरालोलाई गाड्ने रणनीति बनाएको धेरै भएको छैन। खासमा फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावमा छट्पटिरहेको नगरपालिकालाई फोहोरसँगै मरेको पशु फाल्दा नजिकका स्थानीयले चर्को विरोध गरेपछि पशुलाई गाड्ने रणनीति बनाएको सरसफाई शाखाका प्रमुख अशोक केसीले बताउनुभयो।

३२ वर्षदेखि बुलबुलियास्थित व्यक्तिको निजी खाल्टो जग्गामा फोहोर फाल्दै आएको नगरपालिकालाई खाल्टो पुरिएपछि ती व्यक्तिले फोहोर फाल्न रोक लगाइएपछि समस्या भएको छ। केही दिन नजिकैको पप्पु कुरैसीको खाल्टो जग्गामा फोहोर फालेको नगरपालिकालाई स्थानीय व्यक्तिले चर्को विरोध र हात हाल्ने नै स्थिति आएपछि त्यहाँ फोहोर फाल्न बन्द गरिएको छ। फोहोरको गन्धले गर्दा जग्गाधनी राजी भए पनि स्थानीयले फोहोर फाल्न रोक लगाउने गरेका छन्।
कुरैसीको जग्गामा फोहोर फाल्न रोक लागेपछि नगरपालिकाले पछिल्लो तीन दिन औद्योगिक क्षेत्र अगाडिको नालाछेउको खाल्टोमा फोहोर फालेको थियो।

आपतकालिन अवस्थामा त्यहाँ फोहोर फालिएको सरसफाइ प्रमुख केसीले बताउनुभयो। बुधबार भने भवानीयापुरको सम्पतसिंह सरदारको खाल्टो जमिनमा फोहोर फालिएको छ। ‘सरदारसँग मौखिक सहमति भएको छ, आज ६ ट्रिप फोहोर त्यही लगेर फालियो, सरसफाइ शाखा प्रमुख केसीले भन्नुभयो, लिखित समझदारी हुने तयारीमा छौं। त्यो भयो भने २⁄३ वर्ष फोहोर फाल्न ढुक्क हुन्छ।’ नेपालगन्ज बजारदेखि ६ किलोमिटर टाढा रहेको भवानीयपुरको यो ठाउँको वरिपरि घरहरू पनि नरहेकाले कसैको विरोध पनि नआउने केसीको भनाइ रहेको छ।

नेपालगन्जमा दैनिक एक वा एकभन्दा बढी छाडा पशु सडकमा मरेका भेटिन्छन्। त्यसलाई पनि फोहोरसँगै लगेर फालिदिंदा दुर्गन्ध बढ्ने गरेको थियो। फोहोर र त्यसमा पनि मरेको पशुको गन्धले गर्दा जहाँसुकैका स्थानीयले फोहोर फाल्नमा रोक लगाउने गरेका थिए। पशु मात्रै होइन, बेवारिसे मानिसको शवलाई समेत नगरपालिकाले फोहोरसँगै लगेर फाल्ने गरेको थियो।
मरेको पशुलाई फोहोरसँगै फाल्दा अझ बढी गन्ध आएर चर्को विरोधका स्वरहरू बढेपछि नगरपालिकाले पछिल्लो दिनमा पशुलाई गाड्ने रणनीति बनाएको हो। ‘बर्खामा झन् छाडा पशु मर्ने क्रम बढ्छ, हामीले यसलाई फोहोरसँगै नभइ खालि जग्गाहरू खोजेर गाड्ने गरेका छौं, सरसफाइ प्रमुख केसीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्