सप्तरी बाढीपीडितलाई सहयोगका हात मुखले होइन मनले जोडिन्छ सम्बन्ध



 

कृष्णउदास खनाल, वीरगन्ज
मधेसको नाउमा राजनीति भए पनि मधेसकै नागरिक पीडामा परेका बेलामा राजनीतिक बृत्तमा कुनै चासो र बहस नभएको भन्दै चिन्ता जनाइरहेका बेला पर्सामा बाढीपीडितहरूका लागि मनकारी मनहरू अगाडि सरेका छन्।

सप्तरीका बाढीपीडितहरूका लागि लक्षित गरी संघीय समाजवादी फोरम पर्साले राहत सामग्री संकलन अभियान सञ्चालन गरेको छ। संकलित सामानहरू बुधबार बिहान राहत सामग्री पठाएको छ। सप्तरीका बाढीपीडितहरूको दुराअवस्थामा राहत तथा सहयोग पुर्याउने काममा कमी रहेको कुरा सञ्चार माध्यमबाट आइरहेको मध्यनजर गर्दै फोरम नेपालको पर्सा जिल्ला समितिले १० लाखभन्दा बढी मूल्यको राहत सामग्री पठाएको छ। राहत सामग्रीस्वरूप पार्टीका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीले उपलब्ध गराउनुभएको ८ लाख मूल्यबराबरका त्रिपाल ५ सय थान, विभिन्न दाताहरूबाट चामल ७५ बोरालगायत सामान बाढीपीडितहरूका लागि संघीय समाजवादी फोरम नेपाल, पर्साले जुटाएको हो। जिल्ला अध्यक्ष प्रदीप यादव र मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगीले पार्टीको झन्डा हल्लाएको राहत समग्रीको ट्रकसहितको टोलीलाई विदाइ गरेको थिए।

उक्त राहतसामग्री २ नम्बर क्षेत्रका क्षेत्रीय सचिव राधाकृष्ण रौनियारको नेतृत्वमा कार्यसमिति पर्साका पदाधिकारीहरू, युवा नेता रोहित बर्णवाल युवा अभियंता आशु सर्राफलगायतको टोली वितरण गर्न सप्तरी प्रस्थान गरेको छ। मधेसको नाउमा राजनीति गर्नु मात्रै आफूहरूको दायित्व नभइ मधेस वा पहाडको कुनै पनि स्थानमा दुःखमा परेकाहरूको सहयोग गर्ने आफूहरूको लक्ष्य रहेको फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो। पीडामा साथ दिने मुख होइन मन आवश्यक पर्ने फोरमका कोषाध्यक्ष सरावगीले बताउनुभयो। उद्योगीसमेत रहनुभएका सरावगीले मुखले मात्रै ठीक्क पार्ने राजनीतिमा मनकारी हातहरू बढ्न आवश्यक रहेकोमा पनि जोड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्