मालिकले थाहै नपाई जग्गा अर्कैको नाममा पास



नेपाल समाचारपत्र, बाँके । नेपालगञ्ज–१८, कारकादोकी ७८ वर्षीया मालती कुम्हारको विभिन्न कित्ताका १२ कठ्ठा १६ धुर जग्गा २०७३ असार ३१ गते किर्तेगरी खजुरा–८, रनियापुरका मो. इसहाक खाँको नाम पास गरियो । साविकको कारकादो गाविस वडा नं. १ को कित्ता नम्बर १ को ६ कठ्ठा ६ धुर, कित्ता नम्बर २ को ३ कठ्ठा ३ धुर, कित्ता नम्बर ३ को २ कठ्ठा ५ धुर र कित्ता नम्बर ६५४ को १ कठ्ठा २ गरी १२ कठ्ठा १६ धुर जग्गा किर्ते गरी पास गराउन मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नासु चन्द्रबहादुर डांगी र रामबहादुर खड्कालगायत एक दर्जनको मिलोमतो थियो ।

कम्तीमा एक करोड दुई लाख रुपैयाको उक्त जग्गाको प्रहरीले १० महिना लगाएर अनुसन्धान ग¥यो । मालपोतका तीन कर्मचारीसहित १६ जनालाई प्रहरीले मुद्दा चलायो । तीमध्ये मालपोतका तीन कर्मचारीसहित सात जना पक्राउ परे भने अरु फरार भए । पाँच दिन प्रहरी हिरासतमा रहेका मालपोतका तीन कर्मचारी, सूर्यलाल कुम्हार, मिरा अहिर, राजा खाँ जनही ४० हजार रुपैया धरौटी राखेर अदालतबाट दुई दिनअघि २३ गते छुटे । एकजना उद्दितप्रसाद काहार भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज–९ का काहारले जग्गा दिनेको किर्ते औठाछाप गरेका थिए ।

प्रहरीले दश महिना लगाएर अनुसन्धान गरिरहदा अरु फरार भए । यो बीचमा मालपोतका तीन कर्मचारी पटक–पटक सोधपुछ गर्दै जिम्मा जमानीमा छोडिएको थियो । बृद्धाको जग्गा खानाका लागि नक्कली संरक्षक छोरा बन्नेदेखि साक्षी जमानी बस्ने धेरै छन् । मालपोतका अधिकृत नै संलग्न रहेकाले बृद्धा मालतीको जग्गा खाँको नाम पास गरेर अरु तीन जना नेपालगञ्जका अमितकुमार बस्नेत, प्रतिक्षा शाह बस्नेत र संगीता शाही मल्ललाई बेचिएको थियो । प्रहरीले थाहा पाएर कारबाही अगाडि बढाएपछि किर्ते गर्नेहरुमा खैलाबैला मच्चिएको छ ।

२०७३ चैत्र १३ गते अर्को ठगी बाहिर आयो । कोहलपुर–९, चटारका कल्लु ठठेर भन्ने दयाशंकर कौशलको मृत्यु भएको भनि जग्गा पास भयो । कौशलको नाममा रहेको ३९ नम्बर कित्ताको ५ कठ्ठा जमिन नक्कली कागजात तयार गरी अर्कैले पास गरे । कोहलपुरका चन्द्रप्रसाद जैसी र नेपालगञ्जका विजय ठठेरले कौशलको जग्गा आफ्नो नाममा पास गरेका थिए । विजयले दयाशंकर आफ्नो हजुरबुवा भएको नक्कली कागजात तयार पारेका थिए । जैसीले पैसा लगानी र योजना बनाएका थिए ।

जिउँदो मान्छेलाई मरेको कागजात गराएर जग्गा पास गर्न ठगहरुले २०७० सालदेखि नै प्रक्रिया शुरु गरेका थिए । धेरै मिहेनतपछि उनीहरुले २०७२ सालमा आएर जग्गा पास गरेका थिए । दयाशंकरले चैत्रमा थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । यो घटनामा पनि मालपोतका कर्मचारीको मिलोमतो आशंका गरिएको छ । प्रहरीले अहिले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।

यी दुई बाहेक इन्द्रपुरमा भर्खरै अर्को ठगी घटना सार्वजनिक भएको छ । इन्द्रपुरका ९० वर्षीय रहिमबक्स बागवानलाई बाटो बनाउने निवेदनमा सही छाप गर्न भन्दै मालपोत कार्यालयमा लगेर सात लाखको लेनदेन कागजमा सही गराइएको थियो । अशक्त बृद्धलाई भतिजा नाता पर्ने उमर अलि बागवान र माधवप्रसाद नाउले यस्तो जन्झालमा फसाएका थिए ।

२०७४ जेठ १६ गते रहिमलाई मालपोत लगेर सात लाख लेनदेनको कागजमा झुक्याएर सही गराइएको थियो । रहिमलाई सही गराउन लगाइएको कागजमा नाउसँग सात लाख रुपैया लिइएको व्यहोरा उल्लेख गरिएको थियो । पैसा भने २०७० असोज ४ गते लिइएको उल्लेख गरिएको थियो ।

२०७४ जेठ २१ गते रहिमविरुद्ध बाँके जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेका थिए । जुन कुरा रहिमकी श्रीमती खैरुल बागवान र स्थानीयले थाहा पाएपछि प्रहरीमा आएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि असार २१ गते दुवै जनाले घटनालाई स्वीकार गरेर मुद्दा फिर्ता लिएका थिए ।

अशक्त, बृद्धबृद्धा र आफन्त नभएकाहरुको जग्गा खान दलालहरुले वर्षौसम्म लगानी गरेर अघि बढेको घटनाहरुले देखाएका छन् । मालपोतका अधिकृतसमेतलाई आफ्नो बनाएका दलालहरुले सहजै छलकपट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले जिल्लामा यस्ता घटना प्रशस्तै आइरहेको बताउनुभयो । ‘जति भित्र पस्यो उति नै भयावह फेला पर्छ, थापाले भन्नुभयो, हामीकहाँ आएका उजुरीको हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्