एक बोरा ग्राहकलाई हाम्रोतर्फबाट उपहार हो



साजन देवकोटा
भाइस पे्रसिडेन्ट (सेल्स एन्ड मार्केटिङ)शिवम् सिमेन्ट प्रालि

विगत लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्टले समय–समयमा ग्राहकलाई सहुलियत दिँदै आएको छ। यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ। यस योजनाअन्तर्गत शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिइरहेको छ। कम्पनीले ल्याएको यस योजना र अन्य विषयमा शिवम् सिमेन्ट प्रालिका भाइस पे्रसिडेन्ट (सेल्स एन्ड मार्केटिङ) साजन देवकोटासँग नेपाल समाचारपत्रका लागि हेमन्त जोशीले गरेको कुराकानी।

शिवम् सिमेन्टले ल्याएको नयाँ स्किमको उद्देश्य चाहिँ के हो ?

‘२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा’ योजना हामीले बजार प्रवद्र्धनभन्दा पनि ग्राहकको सम्मान स्वरूप शिवम् सिमेन्टको उपहारका रूपमा ल्याएका हँैं। कुनै पनि ब्रान्डको आफ्नो ग्राहकप्रति केही उत्तरदायित्व रहेको छ। कुनै पनि उत्पादनलाई सफल ब्रान्ड बनाउने भनेको उपभोक्ताले हो। उपभोक्ताले कुनै पनि उत्पादन रुचाएपछि र प्रयोग गरिदिएपछि न ब्रान्ड बन्ने हो। ब्रान्ड बनाउनुमा हाम्रो जति हात छ त्योभन्दा कैयौं गुणा बढी उपभोक्ताको हात रहन्छ।

यस अर्थमा उपभोक्ताको हाम्रो ब्रान्ड स्थापनाका लागि यति ठूलो भूमिका रहन्छ भने कम्पनीका तर्फबाट हाम्रो पनि उत्तरदायित्व हुन्छ कि समय–समयमा हामीले पनि केही दिन सकौं। यस अर्थमा हाम्रो स्किमको उद्धेश्य बजार बिस्तारभन्दा पनि उपभोक्ताप्रतिको कम्पनीको जिम्मेवारी हो। हामीले हाम्रो ग्राहकलाई धन्यवाद दिनैपर्छ। शिवम् सिमेन्टले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै ‘चाँदी नै चाँदी’ नामक योजना स्वरूप सम्मान व्यक्त गरेको थियो। सो योजनाअन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो।

वर्षात्को समयलाई संरचना निर्माणका लागि प्रतिकुल समय रहने र यो बेलामा सिमेन्टको बजार पनि घट्ने गर्छ। शिवम् सिमेन्टको अहिले बजार मागको अवस्था कस्तो छ ?

सिमेन्ट उद्योगमा उत्पादित वस्तु लामो समय मौज्दातका रूपमा रहने भन्ने नै हुँदैन। हामीले बोरा प्याक गर्ने बित्तिकै बजार पठाउने हो। यसअघि हामीले ५५ किलोग्रामको बोरामा सिमेन्ट बजारमा पठायौं त्यो बेलामा पनि अफ सिजन नै थियो। त्यसपछि चाँदी नै चाँदी भन्ने स्किक चलायौं त्यो बेलामा पनि चाडपर्वको समय थियो। अहिले पनि हामीले असारमै यो स्किम ल्याएका छौं। निश्चित समयको अन्तरालमा हामीले हाम्रा ग्राहकलाई रिवार्ड गरिराखेका छँैं। हामीले हाम्रा ग्राहकलाई १ बोरा सिमेन्ट धन्यवाद स्वरूप दिएका हौं।

भौगोलिक रूपमा बजारलाई कसरी समेट्नुहुन्छ ?

हामी जुन–जुन ठाउँमा छौं, त्यहाँ हाम्रो उत्पादनलाई एकदमै रुचाइएको छ। हाम्रो पूर्वमा सबैतिर छ, पश्चिममा पोखरा, पर्वत, दमौली, नारायणगढ, गैंडाकोट क्षेत्रमा पनि राम्रो बजार छ। सिमेन्टको दुईवटा मूल्य हुन्छ। एउटा उद्योगको मूल्य, एउटा भाडाको मूल्य। उद्योगको मूल्य त यथावत नै रहन्छ तर थ्रेट कस्टले यति भूमिका खेलेको हुन्छ कि थे्रस्ट कस्ट बढी भयो भने बजारमा हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं लोकल लेभलका सिमेन्टसँग। आजको दिनमा पनि ग्रामीण क्षेत्रमा बजारको अवस्था न्यून नै छ। भौगोलिक रूपमा जति टाढा हुँदै जान्छ त्यति नै भाडादरमा पनि वृद्धि हुँदै जान्छ। जुन क्षेत्रमा जस्तो यातायात र ढुवानीको उपलब्धता छ, सोहीअनुसार नै उत्पादन गाउँ–गाउँमा पुर्याइरहेका छँैं। हाम्रो देशको विडम्वना भनेकै ग्रामीण भेगमा यातायात सुविधा नहुनु हो। जसले गर्दा ढुवानीमा असहजता आउने र मूल्य पनि बढी पर्न जाने समस्या रहिरहन्छन्।

अहिले भुकम्प पछि पुर्ननिर्माण र नवनिर्माणको काम चलिरहेको छ। तपाईहरूले प्रतिस्पर्धी बजारमा अरूभन्दा कसरी फरक र ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

कुनै पनि कम्पनीले आफ्नो पहिचान बनाउनका लागि आफ्नो उत्पादनमा केही फरकपन त ल्याउनैपर्छ। हामीले अहोरात्र खटेर वस्तुको गुणस्तर कायम गर्न एकदमै ध्यान दिएका छौं। त्यही नै एउटा कारण हो जसले गर्दा ग्राहकले हाम्रो सिमेन्टलाई रुचाई दिनुभएको छ। सोही कारणले गर्दा पनि हामीले हाम्रो ग्राहकप्रतिको उत्तरदायित्व सम्झेर बेला–बेलामा यस्ता स्किम ल्याउने गरेका छँैं, यो हाम्रो तेस्रो स्किम हो। सबैभन्दा पहिले हामीले प्रतिबोरा ५ किलोग्राम बढी सिमेन्ट निःशुल्क रूपमा दिने योजना ल्यायौं। यस्तो अभ्यास त्योभन्दा पहिले अरू कसैले गरेको थिएन र ग्राहकबाट एकदमै सकारात्मक प्रतिक्रिया पायौं। अहिले ल्याएको योजनाका विषयमा उपभोक्ताको प्रतिक्रिया बुझ्न हरेक वितरण केन्द्रमा हामीले जनशक्ति नै खटाएका छँैं।

हामीले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं। निर्माण विज्ञ परामर्श सेवा भनेर। टोल फ्रि नम्बरमा पैसा पनि पर्दैन तपाईंले कुनै पनि निर्माण गर्दै हुनुहुन्छ भने फोन गर्नुस, टेस्ट पनि गर्दिन्छौं तपाईको अगाडि देखाइदिन्छौ भनेर। एउटा अभियान नै सञ्चालन गरेका छौं।

सिमेन्ट उद्योगको क्षेत्रमा कच्चा पदार्थको उपलब्धताले बजारमो समस्या हुन्छ कि हुँदैन ?

हामी अहिले मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भयो भनिरहेका छँैं। तर, हामीले बिर्सन नहुने कुरो के हो भने हामी उत्पादनमा आत्मनिर्भर भएका हौं तर उत्पादनका लागि चाहिने कच्चा पदार्थमा आत्मनिर्भर हुनसकेका छैनौं। हामीसँग राम्रो पक्ष के पनि छ भने मुलुकभित्रै प्रशस्त कच्चा पदार्थ क्लिंकरका लागि चुनढुंगा खानी रहेको छ। बिस्तारै यस्ता खानीको उत्खनन् हुनु जरुरी छ। अहिले हामीले क्लिंकर आयात गर्नु त हाम्रो बाध्यता हो। क्लिंकर आयातमा देखिने समस्याबाहेक विद्युत्, कोइलालगायत ऊर्जा क्षेत्रले पनि समस्या सिर्जना गर्दछ। यातायात समस्या भएकै कारण हामीले आफ्नो औसत उत्पादन क्षमता घटाउने भन्ने त होइन। हामीले अहिले पनि पूर्ण क्षमतामा नै उत्पादन गरिरहेका छौं। असार–साउनमा पनि तीन⁄चार दिनसम्म लगातार पानी पर्यो भने मात्र अलिकति वितरणमा कमी आउनसक्छ। वर्षातले ग्रामीण भेगका सडक भत्किने हँुदा ढुवानीमा पनि अलिकति प्रभाव पार्छ।

नेपाली बजारमा खासगरी ओपीसी र पीपीसी सिमेन्ट पाईन्छन। ओपीसी र पीपीसीमा मुख्य फरक के हो ?

ओपीसी र पीपीसी सिमेन्टमा मुख्य फरक भनेको प्रयोग भएको क्लिंकरको मात्रामा हो। ओपीसीमा ९७ प्रतिशतभन्दा बढी क्लिंकरको प्रयोग भएको हुन्छ भने पीपीसीमा त्यो भन्दा केही कम हुन्छ। अर्को भनेको ढलानलगायत काममा प्रयोग भईसकेपछि कति समयमा सेट हुने र बलियोपनामा पनि फरक पार्छ। क्लिंकरको मात्रा बढी भएकै कारण मूल्यमा पनि फरक आउँछ।

प्रतिक्रिया दिनुहोस्