वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी



 

रोविन पौडेल, काठमाडौं

वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार ३० गते २५औं साधारणसभाले हुँदै छ। उक्त साधारणसभाले आगामी कार्यकालका लागि अध्यक्ष र महासचिवसहित ७ पदाधिकारी तथा १० सदस्य गरी जम्मा १७ जनाको कार्यसमिति निर्वाचित गर्दैछ। ८ सयभन्दा बढी म्यानपावर सञ्चालक सहभागी हुने संघको साधरणसभाको मिति नजिकिँदै गर्दै अध्यक्ष पदका लागि कांग्रेस र एमाले निकट म्यानपावर व्यवसायी दुई धारमा विभाजित भएर चुनाव लड्न लागेका छन्।
नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वर्तमान अध्यक्ष बिमल ढकाललाई पुनः उठाउने भएको छ। त्यस्तै एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले वर्तमान महासचिव रोहन गुरुङलाई अध्यक्ष पदका लागि अगाडि सारेको छ।

नयाँ नेत्तृत्वका लागि हुन लागेको निर्वाचनमा आफ्नो समूहलाई विजयी गराउन दुवै समूह अहिले भेटघाट तथा छलफलमा व्यस्त छन्।

चुनावमा ढकाललाई तराई वैदेशिक रोजगार व्यवसायी फोरम, ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजलगायत समूहले सहयोग गरेका छन्। ढकाल यसअघि फोरमकै बागी किरणकिशोर घिमिरेको उम्मेदवारी हुँदा पनि निर्वाचित भएका थिए।

यसैगरी नयाँ नेतृत्वमा गुरुङलाई माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, गुरुङ व्यवसायीको सामाजिक संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधीँ, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज नेपाल र वैदेशिक रोजगार मगर समाजलगायत ६ समूहले निर्वाचनमा सहयोग गर्ने भएका छन्।

ढकालको टिममा प्रथम उपाध्यक्षका लागि फोरमले प्रज्ञान न्यौपानेलाई अगाडि सारेको छ भने गुरुङको टिमबाट माओवादी केन्द्रका रामप्रसाद भान्तनालाई अगाडि सारेका छन्। ढकालको टिममा महासचिवका लागि सुजितकुमार श्रेष्ठ चुनावी मैदानमा छन्। त्यस्तै गुरुङ समूहबाट नरेश गेलालको महासचिवका लागि उम्मेदवारी परेको छ।


‘रोजगार व्यवसायी तथा व्यवसाय क्षेत्रमा रहेका समस्याको पहिचान गर्न मेरो कार्यकाल सफल रहेकाले ती उपलब्धिलाई निरन्तरता दिन तथा बाँकी काम पूरा गर्न पूरै ढकाल प्यानलले जित्नैपर्छ। म राजनीतिक पहुँचका आधारमा पनि यो क्षेत्रका समस्या समाधान गर्न सक्षम छु। समकक्षीबाट पनि सोही सुझाव तथा अनुरोध आएकाले मैले त्यसलाई स्वीकार्दै उम्मेदवारी दिएको हुँ।

लोकतान्त्रिक फोरम आफैँमा ठूलो संस्था हो। अन्य समूहले विपक्षीलाई सहयोग गर्ने भने पनि भित्रबाट अधिकांश भोट मलाई आउँछ। मेरो अनुमानमा मैले १५० भोटको फरकमा चुनाव जित्छु।’

‘म महासचिव भएको बेलामा महासंघ तथा समग्र रूपमा हामीसँग सम्बन्धित श्रमिकलाई ठेस लाग्ने धेरै अवस्था देखेंँ। ती समस्या सुधार, व्यवस्था परिवर्तन तथा परिमार्जन गर्न मैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको हुँ। संघभित्र रहेका आन्तरिक विषयवस्तु तथा समस्या समाधान गर्न र सरकारी पक्षबाट नीतिगत सुधारका लागि पहल गर्न सक्ने व्यक्ति म नै हुँ भन्ने व्यवसायी साथीहरूको धारणा रहेकाले म मैदानमा उत्रिएको हुँ। अहिलेको परिवेशमा ८० प्रतिशत व्यवसायी हाम्रो पक्षमा हुनुहन्छ। मलाई लाग्छ हाम्रो पूरै प्यानल नै बहुमतका साथ विजयी हुने निश्चित छ।’

 

प्रतिक्रिया दिनुहोस्