हावा मात्रै नहुने कि ?



 

दोस्रो चरणको निर्वाचनमा मतदातालाई लक्षित गरेर बम हानिएकामा त्यो बम समातेर फाली जनता जोगाउने हवल्दार दुर्गाबहादुर रानालाई १ हजार ५ सय रुपियाँ मात्रै दिएको भनेर हिजो सामाजिक सञ्जालमा हल्लीखल्ली भएको देखियो। पछि गृहमन्त्रालयले सो कुराको खण्डन गरेको समेत देखियो। उनलाई केही समय अघिदेखि नै अलिअलि रकम विभिन्न पक्षले दिँदै प्रोत्साहित गरेको कुरा सुनिएको हो। गृह मन्त्रालयले उनलाई अलि अगाडि नै केही गरेर तत्काल प्रोत्साहन गर्नुपर्ने हो तर त्यसो नगरिएकै हो। हिजो बल्ल गृहमन्त्रीले भेट्न भ्याएछन्। उनलाई बोलाएर भेटेछन्। उनलाई बढुवा गर्न वा आकर्षक सहयोग गर्न सरकार पछि पर्नुहुन्न।

तर, सामाजिक सञ्जालमा जे पायो त्यही टिप्पणी गर्ने र त्यसको विश्वसनीयता नपर्गेल्ने शैलीले भने अलि सस्तो बनाउन थालेको पाइएको छ। सामाजिक सञ्जाल पछिल्लो समय सशक्त हुँदै आएकोमा कहिलेकाहीँ हावा कुरामा पनि दौडिन थालेर जसलाई पायो उसलाई गालीगलौज गर्न थालिएपछि चाहिँ अलि सस्तो हुन थाल्यो है। यस्तै हुँदै गयो भने सामाजिक सञ्जालका कुरालाई एक कानले सुनेर अर्को कानले उडाउने समय पनि आउन सक्छ । अझ गाडीको विषयलाई लिएर राष्ट्रपतिका सन्दर्भमा व्यक्त गरिएका विचार त झनै गाईजात्रे पाराकै थिए र छन्। राष्ट्रपति भनेको सेरेमोनियल पद हो। त्यो पदको दोष भनेको सरकारले नै बेहोर्नुपर्छ। तर पतिको मृत्युको कुरालाई समेत जोडेर मनपरी गालीगलौज गरेको पटक्कै सुहाएन। त्यसले हामी नेपालीलाई नै लज्जित हुनुपर्ने अवस्थामा पुर्याएको छ। कसले बुझाउनुपर्ने होला यस्ता कुरा?

प्रतिक्रिया दिनुहोस्