‘हनी ट्रयापिङ’मा व्यापारी प्रकरण, हत्यारा सबै समातिए, अपहरण देख्नेको पनि हत्या गरिएको खुलासा



 

नरेन्द्र केसी, घोराही, दाङ
दाङको तुलसीपुर उपमहानगरपालिकाका व्यापारी राजकुमार श्रेष्ठको अपहरण गरी हत्या गर्ने मुख्य अभियुक्तहरू पक्राउ परेका छन्। उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय भूपेन्द्र भण्डारी र तुलसीपुर–११ बस्ने ३० वर्षीय खुमबहादुर केसीलाई पक्राउ गरेको छ। भण्डारीलाई तुलसीपुरबाटै र केसीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो।

त्यस्तै मुख्य अभियुक्तको रुपमा पक्राउपर्नेहरूमा सल्यान झिम्पे कोरवाङ घर भई हाल दाङको साविक हेकुली–६ बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, दाङकै साविक शान्तिनगर ४ घर भई हाल तुलसीपुर–६ बस्ने ३९ वर्षीय टीकाराम घर्ती र उनकै छोरी १८ वर्षीया पूजा घर्ती रहेका छन्। उनीहरूलाई बाँकको डुडुवा गाउँपालिका–६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर–९ का ४१ वर्षीय नारायण ओलीलाई पनि पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो। जेठ २६ गते पूजा घर्तीको ‘हनी ट्रयापिङ’मा परेर अपहरणमा परेका श्रेष्ठको २१ दिनपछि हत्या भएको खुलासा भएको थियो। उनको शव सल्यान छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेकमा फेला परेको थियो। व्यापारी श्रेष्ठलाई जेठ २६ गते साँझ पौने ६ बजे तुलसीपुर ६ बस्ने पूजा घर्तीले फोन सम्पर्क गरी बोलाएको र सल्यान कपुरकोट–५ मेलखोलासम्म गाडीमै लगेको खुलेको थियो। त्यहाँबाट गाडी छाडेर श्रेष्ठलाई हिँडाएर जेठ २९ गते नै सल्यान छत्रेश्वरीमा लगी हत्या गरेको खुलेको थियो।

व्यापारी श्रेष्ठलाई मोटो रकम फिरौती लिनका लागि अपहरण गरिएको खुलेको प्रहरीले जनाएको छ।

घटनाका अभियुक्त तुलसीपुर उपमहानगरपालिका–१२ निबासी २५ वर्षका अविरल महतरा धादिङमा पक्राउ परेपछि हत्याको रहस्य खुलेको थियो।

प्रहरीले यसअघि घोराही–४ बस्ने वर्ष ४० को रमेश भन्ने मनबहादुर पुन, साविक पवननगर १ घर भई हाल तुलसीपुर ६ निवासी २३ वर्षको रुगत थापामगर र घोराही उप–महानगरपालिका १४ नयाँबजार निबासी ३८ वर्षकी जमा पुनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। लामो अनुसन्धानपछि प्रहरी मुख्य योजनाकार पक्राउ गर्न सफल भएको हो।

यसैबीच व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको खुलासा भएको छ। श्रेष्ठलाई हत्या गर्ने क्रममा प्रत्यक्षदर्शी रहेका दाङकै घर्तीलाई पनि अपहरणकारीले सँगै लगेका थिए। रुकुम जान छुट्टै गाडीमा चढेका घर्तीले श्रेष्ठको अपहरण भइरहेको देखेको र अपहरणकारीलाई चिनेर बोलाएपछि उनीहरूले श्रेष्ठसँगै घर्तीलाई पनि अपहरण गरेका थिए। अपहरित घर्तीलाई पनि श्रेष्ठकै हत्याको दिन सल्यानको झिम्पे क्षेत्रमै हत्या गरिएको अभियुक्तहरूले प्रहरीसमक्ष बयान दिएका छन्। यद्यपि उनको शव फेला परेको छैन।

प्रतिक्रिया दिनुहोस्