कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?



 

प्रशान्त वली, काठमाडौं
एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउँथ्यो। कुरा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को हो। त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अर्बौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ। तर, त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त? यो कुराको सपाट जवाफ भने कतैबाट पनि पाउन सकिँदैन। तर, त्यतिबेलाको युद्धमा संलग्नमध्येका कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन्। उनीहरू अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरु मान्ने गरेका मोहन वैद्य सेक्टर काण्डमा परेसँगै प्रचण्डलाई पार्टीको नेतृत्व जिम्मा दिइयो। २०५२ साल फागुन १ गतेदेखि सर्वहारावर्गको राज्य सत्ता स्थापनाका लागि भन्दै प्रचण्डले माओवादी जनसेनाको सुप्रिम कमान्डर बन्ने मौका पाए।

जनयुद्धको क्रममा थुपै्र घरहरू लुटिए। बैङ्कहरू कब्जा भए। त्यति मात्रै होइन, सयौं बिगाहा जमिनमा माओवादीले झण्डा गाड्यो। अहिले ती सम्पत्ति र रकमको हिसाबकिताब खोज्दा माओवादीबाट स्पष्ट जबाफ आउँदैन। ‘जनयुद्ध’को क्रममा हजारौं घरबारविहीन भए भने राज्य र माओवादी दुवै पक्षबाट करिब १७ हजार मानिसको ज्यान गयो। त्यसमा १२ हजार माओवादी समर्थित मात्रै थिए। कहाँ गयो त माओवादीको उतिबेलाको त्यति धेरै सम्पत्ति? यो जिज्ञाशामा माओवादीका एक उच्च नेताले भने– ‘हामीले त केही गर्न पाएनौं। माओवादी केन्द्रका सामान्य नेताले महल ठडइएका छन्। उद्योग खोलेका छन्। के गर्नु नाम मात्रैको माओवादी रहेछ।’ नेपालगन्जकी रमा पोख्रेलले वाणिज्य बैङ्कको शाखामा दुई तोला सुन राखेकी थिइन् २०५६ सालमा। तर, त्यो बैङ्क सशस्त्र युद्धको समयमा विस्थापित भयो। रमा भन्छिन्– ‘न त मैले अहिलेसम्म दुई तोला सुन पाएँ न त एक सुको नगद नै।’ अहिले माओवादीका सामान्यस्तरका नेताहरूसमेत कारमा हिँड्ने गरेको उनी बताउँछिन्।

तत्कालीन माओवादीका शीर्षस्थ नेताहरूको बोलचाल बन्द हुनुको एउटा कारण आर्थिक विषयसमेत भएको खुल्न आएको छ। ‘जनयुद्ध’ कालको शुरूमा माओवादीका नेता सीपी गजुरेलको नाम प्रचण्ड थियो र पुष्पकमल दाहालको नाम गौरव थियो। ती दुई नेताहरू मिल्ने भएकाले पछि नाम साटेर पुष्पकमल दाहालले प्रचण्ड र सीपी गजुरेलले गौरव राखे। ‘जनयुद्ध’ हुनुअघि सीपी गजुरेलले पार्टीको कामका लागि भन्दै पुष्पकमल दाहाललाई दुई बिगाहा जग्गा दिएको र पछि गजुरेलकी पत्नीले थाहा पाएपछि दुई शीर्षस्थ नेताबीच ठाकठुक परेको विशेष स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।

‘जनयुद्ध’ को नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी फुटेर अहिले कैयौं पार्टी बनेका छन्। त्यतिबेलाको युद्धको नेतृत्व गरेका प्रचण्ड, वैद्य र बाबुराम भट्टराई अहिले अलग–अलग धारको नेतृत्व गरिरहेका छन्। प्रचण्ड दुई पटक सरकारमा पुगिसकेकाले उहाँलाई आर्थिक मामिलामा त्यति दुःख नभएको र बाबुराम भट्टराई पनि सरकारमा एक पटक गइसकेकाले त्यति धेरै आर्थिक मामिलामा कष्ट नभएको बुझिएको छ। यद्यपि बाबुराम भट्टराई अहिले पनि भाडाको घरमा बस्दै आउनुभएको छ । वैद्य धापासीस्थित एक घर भाडामा लिएर मासिक २५ हजार रुपियाँ तिर्दै बस्नुभएको छ। पार्टीबाट उठेको चन्दा र कार्यकर्ताको सहयोगले उहाँको गुजारा चलिरहेको उहाँ निकट स्रोतले जनाएको छ।

माओवादी केन्द्रको कुरा मात्रै होइन केही समयअघि वैद्य माओवादी फुटेपछि रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रमा फर्किंदा हिसाबकिताबलाई लिएर वैद्य र बादलबीच शीतयुद्धको अवस्था रहेको स्रोतले बताएको छ। बादलले वैद्यसँग एकै स्थानमा रहँदाको हिसाबकिताब नबुझाउनुभएको बुझिएको छ। विशेष स्रोतका अनुसार पार्टी विभाजन हुँदा बादलले पार्टीमा रहेको २२ लाख रुपियाँको हिसाब वैद्यलाई नबुझाउनुभएको हो। यो हिसाबले हेर्दा माओवादीका नेताहरूमा विगतदेखि वर्तमानसम्म आर्थिक अनुशासनको अभाव देखिएको छ। ‘जसले जता भेट्टायो उतै खायो जस्तै भएको छ’ –स्रोतले भन्यो। माओवादीले ‘जनयुद्ध’ गर्दा जम्मा गरेको अर्बौं रकम कहाँ गयो होला त ? यो जिज्ञासामा माओवादीका नेताहरू स्पष्ट जवाफ दिन चाहँदैनन्। कतिपयको जवाफ हुन्छ– ‘यो कुरा पार्टीलाई सोध्नुपर्छ। सायद रकम लुकाएर राखेका हुनसक्छन्। देखाउँदा एक्कासी कहाँबाट लियो भन्ने भएकाले पनि नदेखाएर राखेका होलान्। ’

‘जनयुद्ध’ को समयमा संकलन भएको रकमका विषयमा नयाँ शक्तिकी नेतृ हिसिला यमीले रकमको वास्तविकता पत्ता लगाउने अधिकार अख्तियारको भएको बताउनुभयो। उहाँले केहीअघि नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभएको थियो– ‘हामी त अलग भइसक्यौं। पार्टी अलग्गिँदा १ रुपियाँ पनि लिएर आएका छैनौं। प्रचण्डजीका आफन्तहरू हेर्नुहोस् त कति धनी भए ? यस विषयमा अख्तियारले आँखा लगाउनुपर्ने देखिएको छ।’

उता माओवादी आन्दोलनमा सरिक भएका नेता धीरज शेर्पालीले आफू प्रचण्ड र बाबुराम भट्टराईसँग नजिकमा रहेर काम गरे पनि दुवै जनाले अहिलेसम्म पार्टीको हिसाब आधिकारिकरूपमा नदेखाएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सेना समायोजनका क्रममा २ हजार ४ सय लडाकू घोटाला भएको छ। प्रमाणित भइसकेका ती लडाकूलाई अनुपस्थित गराएर २८ करोड ८० लाख घोटाला भएको छ। खोई त्यो रकम ? यसबारेमा प्रश्न अवश्य पनि शहीद तथा बेपत्ता परिवारका छोराछोरीले कुनै न कुनै दिन तेस्र्याउने छन्।’

पूर्वजनमुक्ति सेना अर्जुन बुढाथोकीले ‘जनयुद्ध’ का क्रममा भएको आर्थिक हिसाब खोजिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले मागिराखेका छौं तर माओवादीका शीर्ष नेताहरूले कहिले नि यो कुराको जवाफ दिन चाहन्नन्। उनीहरूले त्यही पैंसाले घर–जग्गा तथा आफ्ना आफन्तको बन्दोबस्त गराएका छन्। उनीहरू देखाउन नै चाहन्नन्। जनयुद्धको पैसा सबै प्रचण्डका आसेपासेहरूसँग नेपालमै छ। उनीहरू त्यही पैसामा मोज गरिराखेको हामीले देखेका छौं। हिजो गाउँमा खान नपाउनेहरूको काठमाडौंमा कसरी घर–जग्गा छ, त्यो हिसाबकिताब अब हामी छिट्टै सर्वजनिक गर्छौं।’ ‘जनयुद्ध’ को रकमले स्थापना गरिएको जनमैत्री अस्पताल अहिले माओवादीको नाममा नभएको विशेष स्रोतले बताएको छ।

राष्ट्र बैंकले द्वन्द्वको समयमा २ सय ९६ वटा विभिन्न प्रकृतिका बैंक विस्थापन भएको बताएको छ। जसमध्ये १ सय १२ वटा नेपाल बैंक, १ सय ७ वटा राष्ट्रिय बाणिज्य बैंक र ७७ वटा कृषि विकास बैंकका शाखा विस्थापित भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। जसमध्ये १ सय ५४ वटा पुनःस्थापना भइसकेका छन्। यद्यपि राष्ट्र बैंकसँग कति रकम लुटिएको भन्नेबारे यकिन विवरण अझै छैन।

एता माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भने पार्टी चुनावमा होमिएको अवस्थामा जनयुद्धको हिसाब अहिले खोज्न नमिल्ने केही समयअघि बताउनुभएको थियो। उहाँले भन्नुभयो– ‘जनयुद्धमा भएको हिसाब पार्टी कमिटीहरूले फछ्र्यौट गरीसकेको र अहिले पार्टी चुनावमा केन्द्रित भएकाले फोनमा भन्न मिल्दैन।’ यद्यपि प्रवक्ता भुसालले कति रकम फछ्र्यौट भएको भन्ने चाहिँ खुलाउनुभएन।
माओवादीभित्र सामन्ती संस्कार हुर्कन थालेको भन्दै कार्यकर्ता तहबाट व्यापक विरोध भएपछि नेता अमिक शेरचनको संयोजकत्वमा छानविन समिति गठन गरिए पनि सो समितिले पार्टीलाई बुझाएको प्रतिवेदनमा के छ भन्ने कुरा अझै खुलाइएको छैन। शेरचन स्वयंसमेत सो मामिलामा बोल्न रुचाउनुहुन्न।

प्रतिक्रिया दिनुहोस्