पूरै आयो दोस्रो चरणको परिणाम कसको कति ?



 

काठमाडौं, (नेस)
दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३ सय ३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ।

निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख⁄अध्यक्षमा विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख⁄अध्यक्षमा एमालेले ४५ दशमलव २ प्रतिशत, कांग्रेसले ३६ दशमलव ५ र माओवादी केन्द्रले ११ दशमलव ४ प्रतिशत पद जितेका छन्। उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १ सय ७५, कांग्रेस १ सय ४, माओवादी केन्द्र ३८, समाजवादी फोरम ७, लोकतान्त्रिक फोरम ६ तथा जनमोर्चा र राप्रपाका २⁄२ उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो।

दोस्रो चरणका ३ सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ। सो निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मत खसेको थियो।

अब सबैका आँखा

वीरगन्जमा
कृष्णउदास खनाल, वीरगन्ज
झन्डै १ सय वर्ष पुरानो वीरगन्ज शहरको मेयर पद हत्याउनका लागि अहिले सबै राजनीतिक दलहरू लागिरहेको पाइएको छ।

वीरगन्ज पर्साको मात्र नभई मध्य तराईको समेत राजधानी शहर भएकाले वीरगन्जको मेयर पदमा धेरैको आँखा लागेको छ। ठूला दलदेखि मधेसवादी दलहरूसमेत वीरगन्जको मेयर पद हत्याउनका लागि अहिले रणनीतिक योजनामा रहेका छन्।

वैशाख ३१ हँुदै असार १४ बाट असोज २ गतेका लागि चुनावको साइत जुरेको वीरगन्जको मेयर पदका लागि चुनाव प्रचार अभियानले अहिले निकै गति लिएको छ। अन्तरघात बढी हुने भएकाले यसलाई रोक्न दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। मतदान गर्ने दिन पछि सरे पनि यसलाई रणनीतिक रूपमा उपयोग गर्ने दलहरूको तयारी रहेको छ।

अन्तरघात कम गर्न भन्दै केही दिनअघि संघीय समाजवादी फोरमले कार्यकर्ता भेलासमेत आयोजना गरेको थियो। भेलामा मेयर पदका लागि प्रस्तावित उम्मेदवार विजय सरावगीलाई सघाउन आग्रहसहितको निर्देशन गरिएको फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताए। अन्तरघात नभए आफूहरूले सजिलैसँग चुनाव जित्ने अवस्था रहेको उनी बताउँछन्। त्यसो त नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदी पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्।

कांग्रेसको पुरानै गढ वीरगन्ज भएका कारण अन्तरघात नभए चुनाव सजिलैसँग जित्ने द्विवेदी बताउँछन्। यद्यपि उनी गएको संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट सभासद्मा उठेको भए पनि अन्तरघातका कारण पराजित भएको कांग्रेस पर्साका नेताहरूले नै बताउने गरेका छन्।

एमाले पनि आफ्नै दाउमा छ। एक स्थानीय मेडिकल कलेजको सञ्चालकसमेत रहेका बसरुद्दिन अन्सारीलाई मेयरमा उठाउँदा चुनाव जितिने एमालेको दाबी छ। मुसलमान समुदायको भोट सबै आफूलाई पर्ने र पार्टीको भोट पनि सबै आए चुनाव जित्ने अन्सारीको तर्क छ। यद्यपि उनी एमालेमा प्रवेश गरेपछि एमाले पर्सामा खैलाबैला भनेछ।

आफ्नो उपस्थितिका लागि मात्रै भए पनि मेयरमा उम्मेदवारी दिने सोचमा रहेका माओवादी केन्द्रका प्रस्तावित उम्मेदवार रहबर अन्सारी पनि चुनाव जित्ने विश्वासमा छन्। राजपाले मेयर पदका लागि उम्मेदवारको टुंगो नलगाएको भए पनि विमल श्रीवास्तव, राजेशमान सिंह, पुरुषोत्तम झालगायतका नेताहरूको नाम चर्चामा छ।

यीमध्येका एक जनालाई चुनावी मैदानमा राजपाले उठाउने नेताहरूले बताएका छन्। वीरगन्ज पुरानै शहर भएकाले पनि र प्रदेश नम्बर २ को राजधानीसहितको हैसियत भएका कारणले पनि वीरगन्जको मेयर पद हत्याउनका लागि दलहरूले प्रतिष्ठाको विषय बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्