गाउँमा घर बनाउँदै महिला



 

रोशन पराजुली, हेटौंडा
बकैया–६, जुइनाकी विमला माझी घर निर्माण तालिमपछि घर बनाउने काममा व्यस्त छिन्। ४० वर्षीया विमला पढ्न खासै नपाए पनि तालिमपछि घर निर्माण गर्ने कार्यमा लाग्न पाउँदा आफूलाई खुसी लागेको बताउँछिन्।

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा तालिम पाएकी उनी अब घर बनाउनसक्ने भएकी छिन्, त्यो पनि भूकम्पप्रतिरोधी। उनी हेल्भेटासको सहयोगमा प्रदान गरिएको ५० दिने तालिममा सहभागी महिला डकर्मी हुन्। उनीमात्र होइन, हेल्भेटासले प्रदान गरेको तालिम र तालिमकै क्रममा घर बनाउँने उनीजस्ता महिला डकर्मी अरु पछि छन्।

जुइनाकै २८ वर्षीया चन्द्रकुमारी माझी पनि तालिमपछि भूकम्पप्रतिरोधी घर निर्माण गर्ने आत्मविश्वास पलाएको बताउँछिन्। उमेरले नेटो काट्दै गरे पनि बिमला सिप भएमा आफू अरुको अगाडि झुक्न नपर्ने बताउँछिन्। डकर्मी तालिमपछि तालिमलाई व्यवहारमा उतार्न घर निर्माण अभ्यासमा लागिरहेका दुवै जनाको दक्ष डकर्मी बन्ने लक्ष्य छ।

 

भूकम्पले भत्काएको गाउँलेका घर बनाइदिएर आफ्नो सिप प्रयोग र गाउँलेलाई सहयोग गर्ने यी दुई महिला डकर्मीको रहर छ। बकैया–८, स्कुलदमारमा भूकम्पप्रतिरोधी घर बनाउँदै भेटिइछिन् ३८ वर्षीया नर्वदा घिमिरे।

डकर्मी काम गर्न पाएकोमा दंग उनले भनिन्–पुरुषले सक्छन् भने महिलाले किन सक्दैन। वैदेशिक रोजगारीमा रहेका पतिले ‘महिलाले घर बनाउँछन् र’ भनेर खिसी गरेपछि झन रहर जागेको उनले बताइन्। विदेशमा दुःख गर्नुभन्दा गाउँमै डकर्मी काम गर्न पाएकोमा उनी गर्व लागेको उनी बताउँछिन्।

बकैया–९ की २२ वर्षीया सम्झना थिङ र २४ वर्षीया सुमित्रा घलानले पनि डकर्मी तालिम लिँदैछन्। आर्थिक समस्याले १० कक्षापछि छाडेका उनीहरू पनि वैदेशिक रोजगारीभन्दा गाउँमै घर बनाउने योजनामा छन्। गाउँमा थोरै डकर्मी भएकाले पारिश्रमिक बढाएकोमा दुःख व्यक्त गर्दै उनीहरूले एकै स्वरमा भने–गरिब भूकम्पपीडितसँग थोरै ज्याला लिएर काम गर्नेछौं।

महिला डकर्मीहरूले घर बनाउँदा पुरुषको तुलनामा बढी ध्यान दिएर काम गरेको बकैया–६, जुइनाका मोतीलाल सिगारले बताए। ‘महिलाले के नै गर्न सक्छन् र भन्थे, मेरो घर महिला डकर्मीहरूले बनाएको देख्दा धेरै खुशी लाग्यो’, बकैया–४, अजिंगरेकी तुलसी उप्रेतीले दंग हुँदै भनिन्।

डकर्मी तालिम पनि बढी उपलब्धिमूलक बनाउन महिलाहरूले सहयोग गर्ने गरेको पुरुषहरूले बताए। महिलाहरूको लगनशीलता, हौसला र आत्मबलले केही गर्ने आँट बढेको बताउँदै बकैया–९ का मदनबहादुर तामाङले भने–तालिमको प्रमाणपत्र कुहिन दिने छैनौ।

तालिम लिँदै महिलाहरूले घर बनाउन थालेपछि ग्रामीण क्षेत्रका उनीहरूलाई हेर्ने दृष्टिमा परिवर्तन आएको छ। महिलाहरूले जग खन्ने, बनाउने, गाह्रो लगाउने, जस्तापाताको छाना लगाउन सहयोग गर्दै आएका छन्।

भूकम्पीय आवास तथा पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकार्इं मकवानपुरका अनुगमन तथा मूल्यांकन विशेषज्ञ विवेक गौतमले महिला डकर्मी हुँदा समावेशीताको राम्रो प्रभाव पर्ने बताए। महिलाले घर बनाउनसक्ने रहेछन् भनेर सकारात्मक जाने उनको भनाइ छ।

मकवानपुरका साविक २४ गाविसका १ हजार ४ सय जनालाई ५० दिने डकर्मी तालिम दिने लक्ष्य हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको छ। कार्यक्रमका लागि हेल्भेटासका जिल्ला सिभिल इन्जिनियर विजय कोइराला गाउँगाउँमा तालिमपछि निर्माण भएको घर भूकम्पका दृष्टिबाट बलियो रहेको बताउँछन्। ‘तालिमका क्रममा सहभागीले सिकेका सिपको व्यवहारिक प्रयोगबाट बनेका घर साँच्चै भूकम्पप्रतिरोधी छन्,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्