वर्षाका कारण राजमार्ग अवरुद्ध



 

विनोद सिंह विष्ट, बैतडी
लगातारको वर्षाका कारण बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण यहाँ विगत ३ दिनदेखि विद्युत सेवासमेत अवरुद्ध भएको छ। आइतबारदेखि अवरुद्ध भएको विद्युत सेवा ३ दिनसम्म पनि सुचारु नहुँदा समस्या भएको छ।

वर्षासँगै आएको पहिरोले खोडपे– मोतिनगर सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपािलकाका ८ झौलेक नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो। पहिरोले सडक अवरुद्ध हुदा बझाङबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन्। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

यसका साथै बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन्। पहिरोले अवरुद्ध पारेको सडक खुलाउन प्रयास भइरहेको भए पनि ठुलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले बताएको छ। पहिरोकै कारण जयपृथ्वी राजमार्गअन्र्तगत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहा पनि सडक अवरुद्ध भएको बताइएको छ। यसैबीच बैतडीको देहिमाण्डौदेखि गिरेगडा सडक पनि अवरुद्ध भएको छ। उक्त सडकमा सडक फराकिलो गर्ने काम भइरहेको सडक अवरुद्ध भएको से १ ज १३२ जिपमा चालक शिवराज जोशीले जानकारी दिनुभयो।

बैतडीको डिलाशैनीमा पहिरोले बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई समस्या भएको छ। डिलाशैनी गाउँपालिका १ कोटपेटराको जुकानी भन्ने ठाउँमा पहिरो जाँदा विद्यार्थीलाई समस्या भएको स्थानीय रविन्द्र धामीले जानकारी दिनुभयो। बाटो अवरुद्ध भएपछि मण्डेश्वरी माविका विद्यार्थीलाई समेत विद्यालय जान समस्या भएको छ। विद्यार्थीहरूको त्रैमासिक परीक्षा चलिरहेको र बाटो अवरुद्ध हुँदा परीक्षा दिनसमेत नपाएको उहाँले बताउनुभयो।

जुकानीमा रहेको पहिरो वर्षौ पहिलादेखि खसिरहेको ठूलो पहिरो रहेकाले हालको लगातारको झरीका कारण पुन खस्न थालेको हो। पहिरोका कारण डिलाशैनीको १ नम्बरको दुनी ,पारीखेत ,लेक ,सिराड र ननरगाड तथा वडा नम्बर २ पन्तौडाका स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या भएको बताइएको छ। यस्तै लगातारको वर्षाका कारण सुर्नया गाउँपालिका ७ का किसानहरूले लगाएका मकैबाली ढलेर नष्ट भएको स्थानीय राकेश मडैले जानकारी दिनुभयो।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्र लालले देवले वर्षाको कारण कैलालीको फल्टुडेमा ६६ केभी प्रसारण लाइनमा क्षति भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्