धोबीखोला करिडोर कछुवाको गतिमा



सुरेश तामाङ

काठमाडौं उपत्यकाको उत्तर–दक्षिण भित्री लिंकरोडको विकास गरी सवारी व्यवस्थापन तथा शहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण थालेको १५ वर्ष बितिसक्दासमेत काम अधुरै छ।

धोबीखोला करिडोर सुधार आयोजनामार्फत् सरकारले यो करिडोर निर्माणका लागि १ अर्ब ६६ करोड खर्च गरिसकेको छ तर हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।


यस आयोजनामा योजना सञ्चालनका लागि द्विपक्षीय लगानी निति अपनाइएको छ। आयोजना क्षेत्रमा निर्माण हुने पूर्वाधारका कार्यहरुमा नेपाल सरकारबाट लगानी भइरहेको छ।

आयोजनाले १५ वर्षमा अर्बाैं खर्चेर पनि आधा काम गर्न सकेको छैन। आखिर किन यस्तो ढिलासुस्ती त ? आयोजना प्रमुख दीपक श्रेष्ठले भन्नुभयो– ‘समयमै बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकायबीच समन्वयको अभावलगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाइ भएको हो।’

आयोजनालाई वार्षिक ६०–७० करोडको हाराहारीमा बजेटको आवश्यकता परे पनि हाल ३५ करोडको हाराहारीमा वार्षिकरूपमा बजेट विनियोजन हुँदै आइरहेको छ।


त्यस्तै, अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिद्वारा ढल बिछ्याउने कार्य गरे पनि कुन ठाउँमा कसले ढल बिछ्याउने भन्ने टुंगो नलाग्दा पनि करिडोर निर्माणमा समस्या देखिएको आयोजनाका इन्जिनियर सज्जन कुँवरले बताउनुभयो।

यसको निर्माण कार्य २०५९ सालदेखि नै थालिएको थियो। तर, बल्ल आर्थिक वर्ष २०६७⁄०६८ देखि मात्रै निर्माणको कामले केही गति लिन थाल्यो। काम उही कछुवाकै गतिमा हिँडिरह्यो।

जापानी सहयोग संस्था जाइकाको सन् १९९३ को अध्ययन प्रतिवेदनअनुसार भित्री रिङरोडको पूर्वतर्फको अंशको रूपमा धोबीखोला कोरिडोर सुधार आयोजनालाई प्रस्ताव गरिएको थियो।

तीन चरणमा धोबीखोलाको दुवै किनार गरी जम्मा २४ किमि सडकको ट्रइक खोल्ने, कालोपत्रे गर्ने, ढल बिछ्याउने, फुटपाथ बनाउने काम भइरहेको छ।

पहिलो चरणमा खैरो पुल (बागमती दोभान), बैजनी पुल (चाबाहिल) सम्म ११ किमि, त्यस्तै दोस्रो चरणमा बैजनी पुल (चाबहिल), कपन भंगाल पुलसम्म ८ किमि र कपन भंगालपुल, राम मन्दिर (खड्का भद्रकाली मन्दिर) ५ किमि सडक हुने गरी निर्माण कार्य भइरहेको छ।

धोबीखोलामा करिडोर बनिसकेपछि काठमाडौंमा हाल देखिएको सवारी चाप तथा धोबीखोलामा हाल भइरहेको अनियन्त्रित खोलाको अतिक्रमण र बस्ती विस्तारलाई व्यवस्थित गरी वातावरणीय सुधार गर्ने विश्वास लिइएको छ।

बेला–बेला संसद्मा धोबीखोला करिडोरको बारेमा काम धिमा भयो भन्दै सांसदहरुले कुरा उठाउने गरेको पाइन्छ। उनीहरुले छिटोभन्दा छिटो यस करिडोरको निर्माण सम्पन्न गर्नसमेत सरकारलाई माग गर्दै आएका छन्।
के हुन् समस्या ?

विस्थापित जग्गा धनिको मुआब्जामा समस्या।

आयोजना विस्तार गर्ने क्रममा स्थानीय व्यक्तिको घरजग्गा पर्ने भएकाले निर्माण कार्यमा अवरोध आउने गरेको।

चाबहिल पुलदेखि भंगाल पुलसम्मको क्षेत्रमा ९ मिटर कोरिडोर निर्माण गर्ने क्रममा कपन, पाथिभरा क्षेत्रमा सुकुम्बासी बस्तीका २८ वटा घर–टहरा भएका कारण सो स्थानमा अहिलेसम्म ट्रइक खोल्ने कार्य गर्न सकिएको छैन।

बजेटको अभाव।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिद्वारा ढल निर्माण गर्ने कार्य समयमा सम्पन्न नभएकाले कालोपत्रे गर्ने कार्य समयमा हुन नसकेको।

पृष्ठभूमि
तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोबीखोला करिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरी यस करिडोरको निर्माण कार्यका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दियो।

महानगरले आफूले निर्माण गर्ने भन्दै त्यस ताका समितिसँग माग राखेको थियो। २०५९ वैशाख १७ देखि महानगरले यस आयोजनालाई सञ्चालनमा ल्याइयो।

करिब ६ वर्ष सञ्चालन गरेपछि पूर्वाधार विकासका लागि बजेट अभाव जस्ता कारणहरु देखा पर्न गई महानगरबाट कार्य हुन नसकेपछि पुनः २०६४ पुस २ गतेदेखि तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिबाट नै आयोजनाको कार्य सञ्चालन हुन थाल्यो।

काठमाडौं उपत्यका नगर विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरणमा परिणत भएपछि यो आयोजना शहरी विकास मन्त्रालयअन्तर्गत रहेर सञ्चालित छ।

निर्माण गर्नुको उद्देश्य
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको मध्य शहरी भागको उत्तर दक्षिण लिंक रोड तयार गर्ने।
नदीको दुवै किनारामा सडक निर्माण पश्चात् शहरको भित्री भागको यातायात व्यवस्थापनमा सुधार गर्नेे।

नदीको अतिक्रमणमा रोकथाम तथा नदी नियन्त्रण गर्ने।

धोबीखोलाको प्रदूषित वातावरणमा सुधार गरी शहरी सौन्दर्यतामा वृद्धि गर्ने।

नदीको दुवैतर्फ व्यवस्थित व्यापारिक तथा आवासिय क्षेत्रको विकास भई स्थानीय उपभोक्ताहरुको सामाजिक तथा आर्थिक व्यवसाय वृद्धि हुन जाने।

स्थानीय उपभोक्ताहरुलाई समेत सहभागी बनाई सम्बन्धित क्षेत्रको संरक्षण स्थानियलाई नै जिम्मा लगाउने।

पहिलो चरण कति प्रगति ?

यस आयोजनाको क्षेत्र उत्तरमा बैजनी पुल (चावहिल) देखि दक्षिणमा खैरोपुल (बागमती दोभान) सम्म खोलाको दायाँ–बायाँ दुवैतर्फ ५ दशमलब ५ किमि गरी जम्मा ११ किमि लम्बाई रहेको छ।

निर्माण क्षेत्रमा खोलाको चौडाई १२, १४ र १७ मिटरसम्म र पुलको छेउमा विद्यमान खोलाको चौडाई नै कायम गरिनुका साथै खोला किनारबाट दुवै तर्फ ९⁄९ मिटर करिडोरसमेत निर्माण गरिएको छ।

बैजनी पुल (चाबहिल रिङरोड) देखि खैरोपुल (बागमती दोभान) सम्म खोलाको दुवैतर्फ ५ दशमलब ५ र ५ दशमलब ५ गरी जम्मा ११ किमि लम्बाईको ९ मिटर चौडा सडक ट्रइक खोल्ने कार्य सम्पन्न भएको छ।

९ किमि फुटपाथ निर्माण कार्य सम्पन्न भएको छ।

८ किमि रेलिङ निर्माण कार्य सम्पन्न भएको छ।

७ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा १ दशमलब ७ किमि सडक कालोपत्रे भएको छ।

चोक तथा मोड सुधारतर्फ हरियो पुल (बिजुलीबजार पुल), सिम्रिक पुल (हनुमानस्थान), सेतोपुल, रातोपुल, कालोपुल र पहेंलो पुल (भत्केको पुल) मा मोड सुधारका लागि ५ दशमलब ६२ रोपनी जग्गा अधिग्रहण गरी मोड सुधारको कार्य सम्पन्न भएको छ।

खैरोपुलदेखि बैजनी पुलसम्मको विभिन्न स्थानमा वातावरणीय सुधार गर्ने कार्यका लागि रुख–बिरुवा रोप्ने कार्य गरिएको छ।

दोस्रो चरणमा कति प्रगति ?

आर्थिक वर्ष ०७१⁄७२ देखि धोबीखोला करिडोर सुधार आयोजनाको क्षेत्र उत्तरमा कपन भंगालपुलदेखि दक्षिणमा बैजनी पुल चावहिलसम्म विस्तार गरिएको छ।

दोस्रो चरणको आयोजना क्षेत्र उत्तरमा कपन भंगाल पुलदेखि दक्षिणमा बैजनी पुलसम्म धोबीखोलाको दायाँ–बायाँ दुवैतर्फ ४⁄४ गरी जम्मा ८ किमि लम्बाई रहेको छ।

महानगरको वडा नं. ४, ७ र बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ९, १०, ११ र १२ आयोजनामा समेटिएका छन्। उक्त क्षेत्रमा खोलाको चौडाई १२ र १० मिटरसम्म र पुलको छेउमा विद्यमान खोलाको चौडाई नै कायम गरिनुका साथै खोला किनारबाट दुवैतर्फ ९⁄९ मिटर करिडोर ट्रइक खोल्ने कार्यसमेत गरिएको छ।

यस चरणको काममा ८५ प्रतिशत ट्रइक खोल्ने कार्य सम्पन्न भएको छ भने १ दशमलब ५ किमि फुटपाथ निर्माण गरिएको छ। त्यस्तै यस खण्डमा ढल कसले बिछ्याउने भन्नेमा कुरो नटुंगिँदा काममा थप अन्योल देखिएको छ।

तेस्रो चरणमा कति प्रगति ?
आव २०७२⁄०७३ देखि कपन भंगालपुलदेखि उत्तरतर्फ राम मन्दिर खड्का भद्रकाली मन्दिरसम्म सडकको ट्रइक खोल्ने काम सम्पन्न भएको छ। ३ किमि नदी नियन्त्रणको कार्य सकिएको छ।

प्रतिक्रिया दिनुहोस्