चित्रमा नयाँ नेपाल



 

नयाँ नेपालको प्रतिबिम्बलाई करिब एक दर्जन अग्रज र २० जना कलाका विद्यार्थीले चित्रमा उतारेका छन्। समृद्ध देशको सपनालाई रङ र कुर्चीले क्यानभाषमा कलात्मकरूपमा प्रस्तुत गरेका चित्रको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पस भोटाहिटी र राष्ट्रिय योजना आयोगको सहकार्यमा ५ दिने कला प्रदर्शनी आइतबारदेखि शुरु भएको हो। विकासका लागि चित्रकला निर्माण र प्रदर्शनी शीर्षकको कला प्रदर्शनीको शुभारम्भ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले संयुक्तरूपमा गरेका थिए। प्रदर्शनीमा सहभागी ११ जना अग्रज कलाकारलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले कलाले नेपाललाई विश्वमा चिनाउन सकेको चर्चा गरिन्। त्यसै गरी प्रदर्शनीमा नेपाली कलामा काँचुली फेर्ने कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको कलाकार तथा लेखक मदन चित्रकारले चर्चा गरे।

प्रदर्शनीमा उत्तम नेपाली, मदन चित्रकार, रागिनी उपाध्याय, हरिप्रसाद शर्मा, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, शशिकला तिवारी, शशि शाह, किरण मानन्धर, रतन कुमार राई र विपीन घिमिरे सहभागी छन्। नेपाललाई चिनाउने गौरवका विषयसँगै वातावरण, शिक्षा, भौतिक पूर्वाधार, गरिबी, अशिक्षा, जलवायु परिवर्तन र त्यसको प्रभावलगायतका आम चासोका विषय कलाकारले चित्रमा उतारेका छन्। साथै ललितकला क्याम्पसमा अध्ययनरत् करिब २० जना कला विद्यार्थीका देश निर्माण र विकासमा आधारित कला प्रदर्शनीमा राखिएको क्याम्पस प्रमुख पोखरेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्