खरेलको चैतन्य सार्वजनिक



 

गीतकार तथा फिल्मकर्मी यादव खरेलको एकल रचनामा भक्तिगीत एल्बम चैतन्य लोकार्पण गरिएको छ। गुह्येश्वरीको किराँतेश्वर मन्दिरको किराँतेश्वर संगीत आश्राममा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनले एल्बमको लोकार्पण गरेका हुन्।

मधुर गुञ्जनको प्रस्तुति रहेको एल्बममा ५ भक्ति गीत छन्। एल्बममा चण्डीप्रसाद काफ्लेको संगीत र गायक राज सिग्देलको स्वरमा सबै आत्माको ऐनामा, प्रभु भागवतको संगीत र गायिका मिलन अमात्यको स्वरमा तिम्रो मुरलीको, अच्युतराम भण्डारीको संगीत र गायिका जोनिशा पौडेलको स्वरमा गहिरो छ धेरै, प्रभु भागवतकै संगीत र स्वरूपराज आचार्यको स्वरमा के चढाउँ प्रभु तथा चन्द्रराज शर्माको संगीत र गायिका लोचन भट्टराईको स्वरमा देवादिदेव स्वस्थानी माता बोलका भक्ति गीत छन्।

यो खरेलको दोस्रो भक्तिगीत एल्बम हो। खरेलले २ वर्षअघि पूर्ण मदः नामक भक्तिगीत ल्याएका थिए। लोकार्पित चैतन्य एल्बमबाट उठेको रकम किराँतेश्वर संगीत आश्रमको विकासमा खर्चिने उनले जानकारी गराए। सांगीतिक क्षेत्रमा लागेको झण्डै ६ दशक हुनै लाग्दा अन्तिम समयसम्म संगीतको उन्नयन र विकासमा आफ्नो यात्रा नरोकिने खरेलले बताए। ‘चैतन्य शब्दले चेतनालाई जनाउँछ र चेतनाको माध्यमद्वारा आम मानिसलाई भक्तिसंगीतमा जोड्नका लागि यो एल्बम सार्थक बन्न सक्छ’ –एल्बमको बारेमा उनले भने। भजनमार्फत् केवल देवी–देउताको शारीरिक वर्णन मात्र नभई त्यसको तत्त्वका बारेमा बुझाउन आवश्यक रहेको उनले बताए। कार्यक्रममा प्रमुख अतिथि टण्डनले चैतन्यबारे चर्चा गर्दै एल्बममार्फत् धर्म र अध्यात्मलाई सहजरूपमा प्रस्तुत गरिएको बताए। सो अवसरमा स्वर्गीय ब्रह्मज्ञानी विद्वान् डा. रामानन्द गिरीको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो। त्यस अवसरमा चण्डीप्रसाद काफ्ले, प्रभु भागवत, शालिकराम रेग्मी र स–साना बालबालिकाको समूहले भक्तिसंगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्