बन्दकर्ताद्वारा कपिलवस्तुमा बसमाथि पेट्रोल बम प्रहार, एक घाइते



सीताराम चौधरी, चन्द्रौटा ।
बन्दको अवज्ञा गरेको भन्दै विप्लब माओबादीका कार्यकर्ताले कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोलामा यात्रुबाहक बसमाथि पेट्रोल बम प्रहार गर्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बाँके नरैनापुर गाउँपालिका १ का ६५ वर्षीय कमरुद्धिन जोलहा रहेका छन् । काठमाडौंबाट बाँकेतर्फ जाँदै गरेको ना ५ ख ८९४८ नम्बरको नागरिक यातायातको बसमाथि बिप्लब माओबादी कार्यकर्ताले बम प्रहार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सवारी स्कटिङभन्दा पछाडि एक्लै जाँदै गरेको बसमाथि बन्दकर्ताले बम प्रहार गरेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । पहाडमा लुकेर बसेका बन्दकर्ताले बसलाई निसाना बनाएर ४ वटा पेट्रोल बम प्रहार गरेपनि एउटा बम बसको पछाडि लागेको प्रहरीले बताएको छ ।

बम प्रहारबाट बसको पछाडिपट्टिको सिटमा बसेका जोलहा घाइते भएको प्रहरी निरीक्षक भट्टराईले जनाउनुभयो । घाइते जोलहालाई चन्द्रौटामा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको उहाँले बताउनुभयो । नेकपा क्रान्तिकारी (विप्लब माओबादी) ले आफ्ना कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै बन्दको आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्