नागरिकताको कचकचले श्रीमतीकै टाउको काटीयो,  घरेलु हिंसामा बाँके किन सधै अगाडि ? 



कुमार श्रेष्ठ, बाँके । कोहलपुर–४, बेलनपुरका मोहम्मद अफ्ताव बेडवाले श्रीमतीको हत्या गरेका छन् । जेठी श्रीमती गुल्सन बेडवाको अफ्तावले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि अफ्ताव टाउको बोकेर इलाका प्रहरी कार्यालय, कोहलपुर पुगेका थिए ।

मामाको छोरी विवाह गरेका अफ्तावको जेठीपट्टी ६ सन्तान छन् । अफ्तावले गुल्सनको नागरिकता बनाइदिएका थिएनन् । यही विषयमा प्रायः कचकच हुन्थ्यो । अफ्तावले कान्छी विवाह गरेपछि झन् घर झगडा बढेको थियो ।

सधैं झगडा हुने भएपछि ‘अब कहिल्यै झगडा नगर्ने’ कसम खान अफ्ताव र गुल्सन भारतको बहराइच जान सोमबार घरबाट निस्केका थिए । ५÷६ महिनाकी दूधे बच्चा लिएर निस्केका उनीहरु रुपैडिहा पुगेपछि गाडी नपाएर घरतिरै फर्किए । बाटोमा भनाभन भइरहेका थिए । भनाभनै बढ्दै गएपछि कोहलपुर–१५ मा पुगेपछि अफ्तावले श्रीमतीलाई छुरा प्रहार गरे । दुई÷तीन पटक छातीमा छुरा हानेपछि श्रीमतीको टाउको छुटाई लिएर अफ्ताव प्रहरी कार्यालय गए । गम्छाले टाउको बेरेर साइकलको टोकरी राखी अफ्ताव इलाका प्रहरी कार्यालयको गेटमा दश बजे राती पुगेका थिए । ‘मैले श्रीमतीको हत्या गरेर टाउको बोकेर आएको छु’ भन्दा डिउटीमा बसेका प्रहरी नै झस्केका थिए ।

त्यसपछि तत्कालै माथिल्लो तहमा कुरा पुग्यो । प्रहरीको टोली घटनास्थलमा पु¥यो । आमाको टाउको नभएको लाश छेउमा बच्ची रोइरहेकी थिइ । प्रहरीले उसको उद्धार ग¥यो । अफ्तावको घर झगडा र कुटपिट दुई पटक कार्यालयमा पुगेको थियो । असोजमा प्रहरीको उपस्थितिमा गुल्सनको नागरिकता बनाइदिने समझदारी भएको थियो । त्यसअघि पनि अफ्तावले कुटपिट गरेको उजुरी प्रहरीमा पुगेर मिलापत्र गराइएको थियो ।

घर बनाउने मिस्त्री काम गर्ने अफ्तावले ‘सधैं कचकच र झगडा हुने गरेकाले हत्या गरेको’ स्वीकार गरेका छन् । ‘सधैं तनाव दिन्थी, भनेको मान्थिन, नागरिकता बनाइदेउ भनिरहन्थी, अफ्तावले प्रहरीलाई भनेका छन्, तनावमा आएर हत्या गरे ।’

प्रहरीले अफ्तावकी कान्छी श्रीमतीलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ । दुवै श्रीमती एउटै घरमा बस्थे । अफ्ताव मिस्त्री काम गर्न बाहिर जाने र फर्किदा श्रीमती–श्रीमतीको झगडामा पर्ने गरेको र उनले कान्छीलाई बढी च्यापेको भुक्तभोगीहरु बताउँछन् । बाँकेमा घरेलु हिंसा हत्यामा बदलिएको यो नै नौलो भने होइन । यसअघि कोहलपुर क्षेत्रमै श्रीमतीले श्रीमानको हत्या गरेका छन् । यस्ता घटना भने मदिरा सेवनमा रम्ने र दुई वटा श्रीमती भएकाको धेरै भएको छ ।

घरेलु हिंसा बढी हुने जिल्लामा बाँके अगाडि नै आउँछ । प्रहरी कार्यालयमा दैनिक दुईबढी यस्ता उजुरीहरु आउँछन् । घरेलु हिंसा बढ्दै जादा भने अपराधमा पुग्ने गरेको छ । सधैं कुटपिट, शंका गर्ने, बैदेशिक रोजगारमा कमाएको पैसा लिएर फरारका घटना धेरै आइरहदा जिल्लामा जिउँदै आगो लगाएर हत्या गर्ने कर्तुत भने रोकिएको छ । रिस उठ्यो कि श्रीमतीलाई जिउँदै जलाउने घटना बाँकेमा धेरै हुँदै आएको थियो ।

पछिल्लो समयमा बैदेशिक रोजगारले घरेलु हिंसा र परिवार विखण्डन र मदिरासेवनले अपराध बढाएको छ । सम्बद्ध जानकारहरु, मदिराको कारोबारलाई व्यवस्थित र कडाई गर्न सकेमा घरेलु हिंसामा कमी आउन सक्छ । बहुविवाह गर्नेलाई कडा कानूनी कारबाही भएपनि चुप लागेर बस्ने गुल्सनजस्ता अनाहकमा मारिएका छन् । नागरिकता नै नबनाएर गुल्सनलाई अफ्तावले अधिकारविहीन बनाएको देखिन्छ । जबकी श्रीमती गुल्सन मामाकी छोरी थिइन् ।

प्रतिक्रिया दिनुहोस्