दुहुनो गाई बन्दै अस्पताल



 

कृष्णउदास खनाल, वीरगन्ज
२०४२ सालमा महेन्द्र आरोग्य केन्द्र हँुदै नारायणी उपक्षेत्रीय अस्पतालमा परिणत भएको वीरगन्जको छपकैंयामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल बिरामीको सेवा गर्ने निकाय नभई कमाउने थलोका रूपमा विकसित हुन थालेको छ।
पछिल्लो राजनीतिक गतिविधिको प्रत्यक्ष मारमा परेको नारायणी अस्पतालमा बिरामीले पाउने सेवाभन्दा पनि अस्पतालमा आउने विभिन्न प्रकारका रकमको चलखेल हुने गरेको अस्पतालका कर्मचारीहरूले नै बताएका छन्। नाम कमाएका र ख्याति प्राप्त वीरगन्ज बाहिरका चिकित्सकहरूलाई कथित भूमिगतको नाममा आतंक सृजना गरिएपछि करिब एक दशकदेखि यस अस्पतालमा विशेषज्ञ राम्रा चिकित्सकहरूको अभाव देखिएको वीरगन्जको नारायणी अस्पतालको विषयमा अध्ययन गर्दै आइरहेका समाजसेवी युवा कमल चौगार्इंले बताए। उनले अस्पताल सुधार गर्ने र बिरामीहरूको सेवा गर्ने भावनाभन्दा पनि अस्पताललाई दुहुनो गाई बनाउने खेल बढी भइरहेको भन्दै चिन्ता जनाए।

उनका अनुसार अस्पताल दिनप्रतिदिन बिग्रँदै गइरहेको छ। अस्पतालका स्वास्थ्यकर्मीहरू राजनीतिक संरक्षणमा रहेका कारण कुनै गलत कार्य गरेपछि छुट्ने गरेको पाइएको छ। केही वर्ष अगाडि मात्रै अस्पतालको स्टोर शाखाको सामान चोरीको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेको भए पनि कर्मचारीहरूको आन्दोलनका कारण प्रहरीले पक्राउ परेका स्वास्थ्यकर्मीलाई छाड्न बाध्य भएको थियो। अस्पतालमा कहिले चोरीको अरोपमा बबण्डर त कहिले अस्पताल हाताभित्र सञ्चालित फार्मेसीको विषयमा चर्को विवाद हुने गरेको छ। अस्पतालभित्र सञ्चालन भइरहेको फार्मेसीमा पनि राजनीतिक संरक्षणका आधारमा बढी चलखेल हुने गरेको पाइएको हो। यसपालि पनि अस्पतालले नै सञ्चालन गरेको फार्मेसी बन्द गरी निजी क्षेत्रबाट सञ्चालित फार्मेसीलाई प्रोत्साहन गर्ने खालको खेल शुरू भएको अस्पतालका कर्मचारीहरूले नै बताएका छन्। तर अस्पतालका मेसु डा. चित्ररञ्जन साहले भने अस्पतालको फार्मेसी यथावत् राख्दै अन्य फार्मेसी सञ्चालन गर्न दिइने बताए।

यसैबीच पछिल्लोपटक सार्वजनिक समाचारअनुसार स्वास्थ्य मन्त्रालयले अस्पताललाई पठाएको ८५ लाख रुपियाँ तीन दिनमा सकिएको छ। रङरोगन, मर्मत र सामान खरिदमा रकम सिध्याइएको हो। अस्पतालमा केही महिना पहिले भएको पेन्टमाथि पुनः पेन्ट लगाएर काम नलाग्ने घर, भवनमा समेत रङरोगन भइरहेको देखिन्छ। नाउक्षे अस्पताललाई मन्त्रालयले कार्यादेश केही महिनाअघि पठाए पनि रकम तीन दिनअघि पठाएकाले टेन्डर प्रक्रिया झन्झटिलो भएका कारण कोटेसनमा दिइएको निमित्त मेसु चित्ररञ्जन साहले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्