बाढीको पूर्वानुमान ‘सतर्क रहौं, खतरा छ’



 

टीका बन्धन, काठमाडौं
निरन्तरको वर्षापछि मुलुकका मुख्य नदी र जलाधार क्षेत्रमा पानीको बहाव बढेसँगै मध्य र पश्चिम तराईका अधिकांश नदी तटीय क्षेत्रका बस्ती उच्च जोखिममा रहेका छन्।

आइतबारदेखिको निरन्तर झरीले चुरे र महाभारत हुँदै बहने नदी र खहरे खोलाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको हो। मध्य तराईको सप्तरीदेखि बारा आसपासका त्रियुगा, खाँडो, रातु, गागनलगायतका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ। त्यसै गरी नारायणी नदीदेखि महाकाली नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउनुपर्ने शाखाले जनाएको छ।

नवलपरासीदेखि बाँकेसम्मका विनय, अरुण, तिनाउ, वाणगंगा, झिन्झरी, प्रबासोतानाला, डुण्डुवा आसपासका खोला⁄नदी तटीय आसपासका क्षेत्रमा पनि बाढीको उस्तै जोखिम रहेको शाखा प्रमुख राजेन्द्र शर्माले बताउनुभयो।
उल्लेखित क्षेत्रमा बाढीको जोखिम बढेपछि त्यस्तो सूचना गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलगायतका निकायलाई अवगत गराइएको उहाँले जानकारी दिनुभयो।

‘मध्य तराई र पश्चिमी तराईका नदी तटीय क्षेत्र आसपासका बस्ती र सडक सञ्जाल र अन्य संरचना यति बेला उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो, सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं’ –शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो। शर्माका अनुसार सोमबार कपिलवस्तुको बाणगंगा आसपास र नारायणी नदीले खतराको तह पार गरेको छ।

कुनै पनि नदी तटीय क्षेत्र आसपासमा २४ घण्टाभित्र १ सय ४० मिलिमिटर वर्षा भएको खण्डमा खतराको तह नाघेको बताउने शाखाले उच्च सतर्कताका लागि आग्रह गर्दै आएको छ। नारायणीको माथिल्लो तटीय क्षेत्रमा सोमबार साँझसम्ममा १ सय ८० मिलिमिटर वर्षा भएको थियो भने बाणगंगा आसपासमा १ सय ५४ मिलिमिटर वर्षा भएको तथ्यांक छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा (वर्षा सक्रिय बनाउने प्रणाली) आइतबारदेखि नेपालतर्फ सरेकाले झरी मुलुकका अधिकांश भेगमा जारी रहनेछ।
आज मंगलबार मुलुकका अधिकांश भेगमा वर्षाको प्रभाव रहने र तुलनात्मकरूपमा पूर्वी र पश्चिमी तराई क्षेत्रमा केही बढी वर्षा हुने मौसमविद्हरूले जनाएका छन्। भोलि बुधबारसम्म पनि धेरै स्थानको मौसम पूर्णरूपमा खुल्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्