‘बव क्याट लोडर’ भित्रिँदै



 

ईश्वरराज ढकाल, काठमाडौं
नेपालमा पहिलोपटक ‘बव क्याट लोडर’ भित्रिने भएको छ। भूकम्प र अन्य प्रकोपबाट जोखिम स्थानमा प्रवेश गरी ती स्थानका सामग्री हटाउन सो मेसिन आउन लागेको हो।

अन्य लोडरको तुलनामा फरक बव क्याटले साना बाटोमा प्रवेश गरी तत्काल ती सामान बोकेर बाटो सफा गर्नेछ। अन्य लोडरको तुलनामा यो पूर्णरूपमा फरक हुने काठमाडौं महानगरपालिका दमकल कार्यालयले जनाएको छ।

‘सामान्य लोडरले सामान हटाउने काममा मात्रै प्रयोग हुन्थ्यो भने बव क्याटले तत्काल सामान बोकेर हटाउन प्रयोग गरिन्छ’ –काठमाडौं महानगरपालिका दमकल कार्यालयका प्रमुख किशोर भट्टराईले बताउनुभयो।

उहाँका अनुसार उक्त लोडरले स्मारक क्षेत्रमा हुने आगलागीको क्रममा सामान हटाउने काम गर्छ। सो लोडरको चक्का र चेन रबरका हुने भएकाले जुनसुकै स्थानमा सजिलै प्रयोग हुन सक्ने दमकल कार्यालयको भनाइ छ। बव क्याट लोडर गल्ली र सानो बाटोमा सजिलै छिर्न सक्छ। अबको २ महिनाभित्र २ वटा बव क्याट लोडरसहित ५ वटा दमकललगायतका सामग्री नेपाल भित्रन लागेको हो।
अमेरिकाको पेन्सिनभेनियाबाट आउन लागेको ती सामग्री अत्याधुनिक सिस्टममा रहने उहाँको भनाइ रहेको छ। उहाँका अनुसार फायर फाइटरले लगाउने ड्रेस र अन्य सामग्री, २ वटा एरियल ल्याडर, कमान्ड कार नेपाल भित्रन लागेको हो। कामपाले बौद्धमा स्थापना गर्न लागेको दोस्रो स्टेसनमा सो सामग्री राखिने भएको छ।

प्रमुख भट्टराईले लामो समयको प्रयासपछि सबै सामग्री नेपाल ल्याउन लागिएको जानकारी गराउँदै ती सामग्री नेपाल भित्रिएपछि दमकल कार्यालय आगलागी नियन्त्रण गर्न सक्षम रहने दाबी गर्नुभयो।

हाल दमकल कार्यलयमा रहेको ६ मध्ये ३ वटा काम लाग्ने र अन्य मर्मत गरी बनाउन सक्ने अवस्थामा छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित दमकल कार्यालयमा नयाँ दमकल आएपछि कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा समस्या भएको छ।

बौद्धमा स्थापना गर्न लागिएको दमकल स्टेसन तयार हुन करिब २ वर्ष लाग्ने भएपछि नयाँ दमकल व्यवस्थापन गर्न समस्या परेको हो।

कामपाले सञ्चालन गरेको दमकल कार्यालय आफ्नो स्वामित्वमा नभएको कारण क्षतिग्रस्त दमकल कार्यालय कस्ले बनाउने हो भन्ने विषयमा समस्या परेको छ। कामपाले दमकल कार्यालयको अवस्थाको बारेमा गृह मन्त्रालयलाई पटक–पटक जानकारी गराइसकेको छ। गृह मन्त्रालयको स्वामित्वमा रहेको दमकल कार्यालय पुनर्निर्माण गर्ने विषयमा चासो देखाएको छैन।

प्रतिक्रिया दिनुहोस्