खोलाले जिप बगाउँदा चार बेपत्ता



 

कविराज नेपाल, पाल्पा
बिहेको भोजबाट फर्किंदै गरेको एउटा जिप खोलाले बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका छन् भने एक जनाको उद्धार भएको छ। तानसेन नगरपालिका ९ र माथागढी–३ को बीचमा पर्ने अम्लिहान भन्ने ठाउँमा जिप आइतबार राति करिब १ः३० बजे खोलाले बगाएको हो।

पाल्पा माडी फाँटमा बगेको तिनाउखोलाले लु१ज १२१७ नम्बरको जिप बगाउँदा चार जना बेपत्ता भएका हुन् भने एक जनाको जीवितै उद्धार गरिएको हो। बेपत्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। बेपत्ता हुनेमा तानसेन–१ भुसालडाँडाकी २९ वर्षीया उषा श्रेष्ठ, बगनाशकाली गाउँपालिका–३ नायरका ४० वर्षीय पदमबहादुर कुवँर, माथागढी गाउँपालिका–१ चिदीपानीका ५१ वर्षीय तिलबहादुर गाहा र उनको श्रीमती ४० वर्षीया माया गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिप आउँदै गर्दा एक्कासि स्टार्ट बन्द भएपछि फोनमार्फत् आफन्त र प्रहरीलाई खबर गरिएको थियो। जिपका चालक तानसेन–१ भुसालडाँडाका शक्ति श्रेष्ठलाई निजको दाजु सम्पूर्ण श्रेष्ठसहितका स्थानीयले डोरीले तानेर उद्धार गरेका थिए। उद्धार गर्ने क्रममा डोरी चुँडिएको र जिपसहित यात्रुलाई बगाएको प्रत्यक्षदर्शी सम्पूर्ण श्रेष्ठले बताए। उनका अनुसार र करिब १ घण्टासम्म जिप खोलाको भेलमा परेको तर हारगुहार गर्दा पनि समयमा प्रहरी र स्थानीयबासी जुट्न नसक्दा उद्धार हुन नसकेको हो। समयमै उद्धार हुन सकेको भए जिपमा सवार सबैलाई उद्धार गर्न सकिने स्थानीयको भनाइ छ।

आइतबार रातभर र सोमबार बिहानैदेखि भइरहेको लगातारको वर्षाले खोला बढेको कारण जिप र बेपत्ता व्यक्तिको खोजी कार्यमा कठिनाइ भएको छ। खोजीका लागि स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पाल्पादेखि बुटवलका विभिन्न स्थानमा परिचालन भएका छन् तर दिनभर प्रयास गर्दा पनि प्रयास सफल नभएको बताइएको छ।

माडी फाँट अम्लिहानमा पक्की पुल नहुँदा वर्षेनी सवारीसाधन बगाउँदै आए तापनि सम्बन्धित निकायले पुल बनाउन चासो दिएका छैनन्। पुल नहुँदा खोलाको बीचबाटै सवारीसाधन ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ। जसका कारण यहाँ विभिन्न समयमा सवारीसाधन बगाउने समस्या रहिआएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्