वडा नागरिक मञ्चको सदस्यदेखि वडा अध्यक्षसम्म



धनवीर दाहाल, रुकुम ।

“पहिले पहिले हाम्रो गाउँमा कोई विरानो मान्छे आउँदा म त डरले भागेर घरभित्र लुक्थे, तर अहिले वडा नागरिक मञ्चमा लागेपछि त कसैको पनि डर लाग्दैन बरु बोल्न आँट आउँछ”– यो भनाई हो साविकको काँडा गाविस ७ की लिला सुनारको । हुन पनि काँडा गाविस सदरमुकाम खलंगादेखि १६ कोष टाढाको दुरीमा थियो । लिला गाउँमै जन्मिनुभयो र गाउँमै हुर्किनुभयो । उतिबेला गाउँघरमा कोही पनि मान्छे नआउने र गाउँघरमा कुनै पनि जनचेतनामूलक कार्यक्रमहरु नभएकाले आफुलाई सुरुसुरुमा बोल्न निकै डर लाग्ने गरेको बताउनुभयो ।

तर अहिले जिल्ला समन्वय समितिको आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालको सहजीकरणमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडीपी) कार्यक्रम अन्तरगत वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र गठन भएदेखि भने लिला निर्धक्क बोल्न सक्ने भएको लिला बताउनुहुन्छ । उहाँ निर्धक्क बोल्ने मात्र होईन आजभोली उहाको दैनिकी समेत फेरिएको छ । उहाँ अहिले वडा नागरिक मञ्चको सदस्य समेत हुनुहुन्छ ।

अहिले वडा नागरिक मञ्चको सदस्य भएदेखि नयाँ मान्छेसँग बोल्ने आँट मात्र होईन विभिन्न कार्यक्रममा समेत आफ्ना कुरा राख्न सक्ने हुनुभएको छ । त्यस्तै मोरावाङ ४ की लक्ष्मी घिसिङ सुनार पनि गाउँमा कोही नयाँ कर्मचारी देखियो भने उहाँ ४ कोष टाढा भाग्ने गर्नुहुन्थ्यो । तर अहिले उहाँ न चार कोष टाढा भाग्नुहुन्छ नत घरभित्र नै लुक्नुहुन्छ । उहाँ त बरु निर्धक्क बोल्ने र आफ्ना कुरा भन्न सक्ने हुनुभएको छ । नयाँ मान्छे देख्दा चार कोष टाढा भाग्ने लक्ष्मी वडा नागरिक मञ्चको संयोजक समेत बन्नुभयो । सुरुसुरुमा डराउने र लजाउने लक्ष्मीलाई यस्तो आँट आउनु पनि वडा नागरिक मञ्चको गठन र मञ्चले गर्ने विभिन्न कार्यक्रमहरु नै भएको लक्ष्मिको भनाई रहेको छ ।

 

लिला र लक्ष्मि मात्र होईन चुनवाङ गाविसकी सुन्तली दमाई र भलाक्चाका नरबहादुर ओलीलाई पनि अहिले ठूलै आँट आएको छ । मान्छेको ठूलो समुह हुँदा होस या सभा समारोहमा जान लाज मान्ने सुन्तली अहिले गाउँका विभिन्न सभा समारोहमा जाने मात्र होईन सचेतनाका कार्यक्रम गर्नुपर्छ भनेर स्थानीयलाई समेत हौस्याउने गर्नुहुन्छ । आफुहरुलाई यस्तो बोल्ने र केही गर्नुपर्छ भन्ने आँट आउँनुको कारण भनेको वडा नागरिक मञ्चको गठन र नागरिक सचेतना केन्द्र नै भएको बताउँहुन्छ ।

वडा नागरिक मञ्च भलाक्चाका संयोजक नरबहादुर ओली पनि शुरुमा हरेक काम गर्दा धक मान्ने गरेता पनि पछि समुहमा लागेपछि सफलता पाउदै गएको बताउनुभयो । अहिले नरबहादुर ओली स्थानीय तहको चुनावमा वडा सदस्यमा समेत निर्वाचित हुनुभएको छ ।

 

लिला, लक्ष्मी र सुन्तली त उदाहरणमात्र हुन् । अहिले वडा नागरिक मञ्च र सचेतना केन्द्रमा आबद्ध महिला र पुरुष मात्र होईन गाउँका अन्य नागरिकहरुको पनि चेतना स्तर माथि उठेको छ । गाउँका महिलाहरु हुन या पुरुष कुनै पनि समस्या पर्दा एकजुट हुन्छन र गाउँको विकासका लागि तम्तयार भईहाल्छन् । कुनै पनि समुहमा आबद्ध नभएका गाउँलेहरु वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रमा आबद्ध भएपछि समुहको गुण, समुहको शक्ति र फाईदाको अनुभवहरु प्रसस्त छन यहाँका सदस्यहरुमा । गाउँगाउँमा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको गठन भएदेखि गाउँमा विभिन्न सचेतनाका कार्यक्रमहरु हुने गरेका छन् । विभिन्न सचेतनाका कार्यक्रम, समुहको बैठक, ऋण लगानी, समुह बचत, रकम लगानी, बचत , घुम्ती सेवा, सरसफाईका कार्यक्रम, आमा समुहको अभियान, वडा र गाउँ परिषदपूर्व योजना तर्जुमा सहभागी हुने लगायतका कार्यक्रममा सक्रिय रुपमा लागि परेका छन् ।

समुहमा आबद्ध भएदेखि अधिकांश पुरुष र महिलाहरुको जीवन स्तर समेत माथि उठेको बताउँछन् । समुहमा आबद्ध हुनु भन्दा पहिले र पछिमा धेरै अन्तर भएको मोरावाङ ६ का वडा नागरिक मञ्चका अध्यक्ष दीलमान बुढाले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँका सबै महिला पुरुषहरु केही गर्नुपर्छ भन्ने मनोभावनाका साथ काम गरिरहेको बताउनुभयो । सुरुसुरुमा फाल्तु काममा डुल्ने, गफगाफ गरेर दिन विताउनेहरु पनि अहिले वडा नागरिक मञ्च र सचेतना केन्द्रमा आबद्ध भएदेखि जीवनस्तर र सोचाईमा समेत ठूलै परिवर्तन आएको बुढा बताउँनुहुन्छ । त्यति मात्र होईन सुरुसुरुमा फाल्तु काममा लाग्नेहरु अहिले समुहमा आबद्ध भएदेखि घरायसी कामदेखि समुहको काम, गाउँघरको सार्वजनिक काममा, करेसा बारीको काम, तरकारी लगाउने जस्ता कार्यक्रमा सक्रिय हुन थालेको बुढाले बताउनुभयो ।

 

उसो त वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरु सचेत र सक्रिय नै छन् । त्यो भन्दा पनि अहिले उनीहरुमा राजनैतिक चेतना पनि माथि उठेको छ । लिला, लक्ष्मी र सुन्तली अहिले स्थानीय तहको निर्वाचनमा नागरिक प्रतिनीधिको रुपमा चुनिएका छन् । उनीहरु अहिले वडा सदस्यमा निर्वाचित भएका छन् भने दिलमान बुढा भने वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसरी वडा अध्यक्ष र सदस्यहरुमा उमेदबारी दिने आँट वडा नागरिक मञ्च र नागरिक सचेतनाको ठूलो हात रहेको वडा अध्यक्षमा विजयी भएका दिलमान बुढाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–पहिले वडा नागरिक मञ्चको सदस्य भएर गाउँको सेवा गरे अहिले वडा अध्यक्ष भएर गाउँको सेवा गर्न चाहन्छु, बुढाले भन्नुभयो ।

 

वडा नागरिक मञ्च र नागरिक सचेतनामा लागेर प्रगति गरेका यीत तीनजना मात्र होईन अधिकांश सदस्यहरु स्थानीय तहको चुनावमा विजयी भएका छन् । ११ वटा गाविसका वडा नागरिक मञ्चका ३५ जना सदस्यहरु निर्वाचित भएका छन् । त्यसमा ६ जना त वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै नागरिक सचेतना केन्द्रका ६ जना सदस्यहरु वडा सदस्यमा निर्वाचित भएका छन् ।

 

यसरी वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका महिला र पुरुषहरु सचेत हुनुका साथै राजनैतिक चेतना स्तर बढ्नुमा वडा नागरिक मञ्च र सचेतना केन्द्रको भूमिका रहेको रुकुमकोट गाविसकी सामाजिक परिचालक टायल गौतम पनि दाबी गर्नुहुन्छ । गौतम भन्नुहुन्छ–“सुरुमा त उहाँहरु वडा नागरिक मञ्च र सचेतना केन्द्रमा आबद्ध हुन पनि हिच्किचाउनुभएको थियो, तर धेरै पटक सम्झाएपछि उहाँहरुले आबद्ध हुन मान्नुभएको हो, जे होस अहिले वडा नागरिकम मञ्चदेखि वडा अध्यक्षमा समेत जित्नुभएको छ, हामीलाई पनि खुसी लागेको छ ।” जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राणाका अनुसार गाउँमा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको गठनले धेरै फाईदा भएको उहाँको भनाई रहेको छ ।

 

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत एवं एलजीसिडिपी रुकुमका फोकल पर्सन चिन्तामणी दाहाल भन्नुहुन्छ– “समुहमा बस्न नरुचाउनेहरु पनि अहिले समुह भनेपछि हुरुक्कै हुने गरेका छन, नागरिकहरुले समुह बस्दा हुने र्फाइदाहरु थहा पाउनुभएको छ, उहाँहरुलाई धेरै फाईदा पनि भएको छ, ” दाहालले बताउनुभयो । त्यस्तै हरप्लेस नेपाल अन्तरगत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडीपी ) को कार्यक्रम हेरिरहनुभएका कार्यक्रम संयोजक दीपकसंगम थापाका अनुसार वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रले गाउँको चेतना स्तरमा वृद्धि भएको छ ।

उहाँ भन्नुहुन्छ– “गाउँका नागरिकहरुलाई हरेक सामाजिक काममा एकताबद्ध हुन वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र बरदान नै सावित भएका छन् ।” यसरी अहिले गाउँका हरेक सभा, कार्यक्रम, विकासे कार्यक्रम, योजना निर्माण र अन्य काममा समेत वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका पदाधिकारी निर्धक्क काममा खटिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्