डोल्पामै थन्किए कक्षा ११ का उत्तरपुस्तिका



दुुनै (डोल्पा), २६ असार । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को उत्तरपुस्तिका १६ दिनदेखि डोल्पामै थन्किएको छ । यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिईएको परीक्षाका उत्तरपुस्तिका जिल्लामै थन्किएका छन् ।

क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनै पनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको छ । परीक्षा सम्पन्न हुनेबित्तिकै कोहोलपुर लैजाने तयारी भए पनि डोल्पामा यातायातको एकमात्र विकल्प हवाई यातायात पनि बन्द भएको र सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाट समेत लैजान समस्या भएकाले लैजान नसकिएको जिल्ला शिक्षा अधिकारी, रामराजा खकुरेलले जानकारी दिनुभयो ।

अहिले उत्तरपुस्तिका लैजानका लागि क्षेत्रीय परीक्षा बोर्डको कार्यालयबाट कर्मचारी आइसकेको र अब पैदल मार्गबाट लैजानुको विकल्प नभएको बताउँदै उहाँले जुम्ला हुँदै लैजाने कि रुकुम जाजरकोट हुँदै लैजाने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । गत असार १ गतेदेखि सुरु भएको कक्षा ११ को परीक्षा असार १० गते सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्