राजपालाई नयाँ चिह्न हुन्न: आयोग



काठमाडौं, (नेस)
निर्वाचन आयोगले असोज २ गते हुने चुनावमा राष्ट्रिय जनता पार्टी नेपाललाई नयाँ चिह्न दिन नसकिने जनाएको छ।

निर्वाचन घोषणा भई दुई चरणको निर्वाचन सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ। राजपाले हालै मात्र दल दर्ताका लागि निवेदन दिएको छ। राजपाले आफ्नो दलको चुनाव चिह्न छाता माग गर्दै आएको छ।

आयोगले यस्तो धारणा राखेपछि राजपाले एकता प्रक्रियामा सामेल ६ दलमध्ये कुनै एक दलको चुनाव चिह्न लिनुपर्ने अवस्था उत्पन्न भएको छ।

संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्नसक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।

उहाँले भन्नुभयोे– ‘अब नयाँ पार्टी दर्ता हुने नयाँ पार्टीको चुनाव चिह्न मतपत्रमा छापेर पहिल्यै घोषणा भएको निर्वाचनमा प्रयोग गर्ने भन्ने कुरा सम्भव छैन।’

तत्कालीन मधेसी मोर्चामा रहेका ६ दलले वैशाख ७ गते एकता भएर राजपा नेपाल गठन गरेका थिए। संसद्मा प्रतिनिधित्व गर्ने तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) एकीकृत भएको थियो।

राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दल दर्ताको टु·ो लगाउनुपर्ने कानुनी व्यवस्थाअनुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधानलगायत आवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्