लोक कलाकर्मी सम्मानित



गल्कोट म्युजिक प्रालिले शनिबार राजधानीमा स्रस्टा सम्मान २०७४ आयोजना गरी लोकगीतका विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरेको छ। कार्यक्रममा लोक गायक राजु परियार, झलक संगीतम, रेशम सापकोटा तथा गायिका देवी घर्ती मगरलाई सम्मान गरिएको थियो।

सोही अवसरमा गल्कोट म्युजिकले बजारमा ल्याएका गीतहरुमध्येबाट युट्युब भ्युअर्सको आधारमा उत्कृष्ट ठहरिएका गीतहरुका विभिन्न गायकगायिका, मोडल, सर्जकलगायतलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा मोडलतर्फ वारि चरौदी बोलको गीतबाट उत्कृष्ट अभिनयको सम्मान बुद्धवीर थापा, सञ्चिता शाही ठकुरी तथा सर्जक हिमाल सिंहलाई, हाम्रो माया बोलको गीतबाट मोडल सारिका केसी, तिमी मेरो बोलको गीतबाट आशा खड्का, सम्झी–सम्झी रुन्छु बोलको गीतबाट गायक राजु परियार, घाइते मुटुबाट गायक कुलेन्द्र विश्वकर्मा, रुँदा सँगैबाट गायिका पूर्णकला बीसी, ध्वनि मिश्रणतर्फ सञ्जय श्रीपाली, रेकडिस्ट एवं गायक गोविन्द ओली तथा विभिन्न गीतका सर्जक प्रस्तुतकर्ताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका अध्यक्ष शम्भुजित बास्कोटा, लोकगायक एवं सर्जक रेशम सापकोटा तथा गल्कोट म्युजिक प्रालिका प्रबन्ध निर्देशक रामु विरहीले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै बास्कोटाले प्रतिष्ठानले लोक कलाकारहरुलाई छिट्टै परिचयपत्रको व्यवस्था गर्ने बताए। ‘हामी अब छिट्टै नै लोक कलाकारलाई परिचयपत्रको व्यवस्था गर्दै छौं। यसले उनीहरुलाई सुविधा प्रदान गर्छ, राष्ट्रको गहना भनेर चिनाउँछ यसले गर्दा उनीहरुलाई गर्व महसुस हुनेछ’, बासकोटाको भनाइ थियो– ‘लोकगीतले हाम्रो संस्कृति बोकेको हुन्छ।

हामी विश्वका जुनसुकै ठाउँमा जस्तोसुकै गीत सुनिरहेको भए पनि लोकगीत सुन्ने बित्तिकै हाम्रो ठुम्का अर्कै हुन्छ।’

प्रतिक्रिया दिनुहोस्