केन्यामा लडाकूद्वारा नौजनाको शिर छेदन



नैरोबी, (एजेन्सी)
छिमेकी राष्ट्र सोमालियाबाट आएका अतिवादी इस्लामिक लडाकू समूह अल–सबाबले केन्याकोे दक्षिण पूर्वी भागमा रहेको एउटा गाउँमा शनिबार बिहान सबेरै आक्रमण गरी ९ जना सर्वसाधारणको टाउको काटेर हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

यस समूहले नयाँ तरिकाको हिंसात्मक नीति लिएको हुनुपर्ने आशंका गरिएको छ। अल – सबाब विरुद्धको विशेष सुरक्षा दलका कमान्डर जेम्स ओले सेरियनले लामु काउनिटको जिमा नामक गाउँमा सो आक्रमण भएको पुष्टि गरेका छन्। वर्षौं यता केन्यामा दर्जनौंपटक डरलाग्दो आक्रमण गरिसकेको अल– सबाबले यस अघि त्यहँँ यसरी कसैको टाउकै काट्ने गरेको थिएन।

पूर्वी अफ्रकी राष्ट्र केन्यामा केही सातादेखि तिनीहरूले आक्रमणलाई निकै तिव्रता दिन थालेका हुन्। जसका कारण आगामी महिना त्यहाँ हुन गइरहेको राष्ट्रपतीय चुनावको सुरक्षामाथि नै प्रश्न उठेको छ। अत्यन्तै खतरनाक अन्तर्राष्ट्रिय लडाकू समूह अल कायदासंग कार्यगत एकता भएको दाबी गर्ने अल–सबाबले केन्याले सन् २०११ मा आफू विरुद्ध कारवाही गराउन फौज पठाएको बदला लिन बारम्बार यसरी आक्रमण गर्ने गरेको बताइएको छ।

गत वर्ष यो समूह अफ्रिकाकै सबैभन्दा खतरनाक इस्लामिक लडाकू समूह प्रमाणित भएको थियो। शनिबार तिनीहरूले पान्दागुओ क्षेत्रमा पनि आक्रमण गरेको बताइएको छ। सोमालियामा भने तिनीहरूले आफ्ना शत्रूहरूलाई टाउको काट्नु सामान्य घटना मानिन्छ।

प्रहरीका अनुसार जिमा गाउँमा आक्रमण गर्न करिब १५ जना लडाकू मात्र आएका थिए। स्थानीय जनतालाई निकै भयभित पार्ने उद्देश्यले तिनीहरूले यसरी हत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ। केहि समयअघि माज्ञ अल –सबाब लडाकूहरूले केन्याको लामा र मान्देरामा बम आक्रमण गरी कम्तिमा ४६ जनाको ज्यान लिएका थिए।

प्रतिक्रिया दिनुहोस्