मध्यमाञ्चललाई राष्ट्रपति रनिङ शिल्ड



नेपाल समाचारपत्र काठमाडौं
डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले ९औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ।

मध्यमाञ्चलले समावेश ८ खेलमध्ये एथ्लेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै टिम च्याम्पियनको उपाधि रक्षा गरेको हो। कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक भने टिम च्याम्पियनमा गणना गरिँदैन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल २ सय ६४ अंकसाथ दोस्रो भयो। पश्चिमाञ्चलले एथ्लेटिक्समा १ सय ३८, कबड्डीमा ५६ र भलिबलमा ७० अंक जोडेको थियो। तेस्रो स्थानमा रहेको मध्यपश्चिमाञ्चलले एथ्लेटिक्समा १ सय ७३, कबड्डीमा १४ र भलिबलमा २८ गरी कुल २ सय १५ अंक बटुल्यो। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रकाशको कीर्तिमान
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। निर्धारित दूरी ५० दशमलव २० सेकेन्डमा पूरा गर्दै उनले २०५८ सालमा भएको वीरेन्द्र रनिङ शिल्डमा कृष्ण महतोले बनाएको ५२ दशमलव ०८ सेकेण्डको कीर्तिमान तोडेका हुन्। २०६५ सालअघि राष्ट्रपति रनिङ शिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो। मध्यमाञ्चलका भुवन महतो दोस्रो र पश्चिमाञ्चलका सन्दीप चौधरी तेस्रो भए।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी अनीता भुल पहिलो भइन्। अनीताले १ मिनेट ०७ दशमलव २५ सेकेण्डमा दौड पूरा गरिन्। पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोस्रो र मध्यमाञ्चलकी काजल विष्ट तेस्रो बने।

छात्रा त्रिपलतर्फ मध्यमाञ्चलका भुवन महतो १३ दशमलव २३ मिटर उफ्रँदै शीर्ष स्थानमा रहे। मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो तथा सुदूरपश्चिमाञ्चलका नीरकुमार रानाले तस्रो स्थान हात पारे। त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन्। विपनाले १०.५६ मिटर जम्प गरिन्। सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते।

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारू पहिलो भइन्। सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा जयरानीले २७.४४ सेकेण्ड समय निलिन्। १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोस्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेस्रोमा सीमित भइन्।
भलिबल
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन्। राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो। ८ अंकसाथ मध्यमाञ्चल दोस्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेस्रो बने।

छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो। मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन। ९ अंक जोडेको पूर्वाञ्चल दोस्रो भयो। ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेस्रो स्थान चित्त बुझायो।

फुटबल
फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जिते। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो। छात्राको उपाधि भिडन्तमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ गोलअन्तरले हरायो।

कबड्डी

कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शतप्रतिशत जित निकालेर क्रमशः छात्र र छात्रामा च्याम्पियन बने। दुवैले समान १२–१२ अंक जोडे।
क्रिकेट
कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित गरेर च्याम्पियन बन्यो। लिग कम नकआउट आधारमा भएको क्रिकेटमा छात्र टोलीले मात्र प्रतिस्पर्धा गरेको थियो।

कीर्तिमानधारी पुरस्कृत

समापनका अवसरमा गत ८औं संस्करणका कीर्तिमानधारीलाई नगदद्वारा पुरस्कृत गरियो। मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमाञ्चलकी मन्जु रावतले छात्रा १ हजार ५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक विकले छात्र सटपुट तथा पश्चिमाञ्चलकी विपना परियारले छात्र ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए। दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपियाँ प्राप्त गर्दा बाँकीले जनही १० हजार नगद पाए।

प्रतिक्रिया दिनुहोस्