रोहिणी घिमिरे
हामीले के खानुपर्ने हो तर के खाइरहेका छौं ? टेलिभिजन, रेडियो, पत्रपत्रिका एवं सामाजिक सञ्जालहरुमा आउने आकर्षक विज्ञापनको पछि लागेर कतै हामीले आफ्नो स्वास्थ्य बिगारिरहेका त छैनौं ? औषधिको विकल्पमा पुग्नुभन्दा पहिले नै सचेत गराउने उद्देश्यले पब्लिकेसन नेपालयले ‘खाना खानुभयो ? ः हाम्रा भन्साबारे बजारका भ्रम’ नामको पुस्तक प्रकाशन गरी बजारमा ल्याएको छ।

स्वास्थ्य एवं वातावरणका विषयमा लामो समयदेखि कलम चलाउँदै आएका लेखकद्वय डा. अरुणा उप्रेती र लक्ष्मण अधिकारीद्वारा तयार पारिएको यस पुस्तकमा विशेष गरी हाम्रै वरपरका खेतबारीमा उब्जिएका औषधिजन्य खाद्यवस्तु उपभोग गर्न प्रेरित गरिएको छ। बजारिया विज्ञापनले केही तयारी खानेकुराप्रति विश्वास जगाइसकेको भए पनि स्वास्थ्यका हिसाबले ती खाद्यवस्तु गुणस्तरहीन र खानै नहुने कुरालाई पुस्तकमा जोड दिइएको छ। एक किसिमले भन्ने हो भने, आधुनिकताका नाममा पौष्टिकताले भरिपूर्ण स्थानीय उत्पादनलाई हेला गर्ने अनि बजारिया पत्रु खानालाई महत्व दिने सभ्य भनाउँदाहरुका लागि त यस पुस्तकले झापड नै हानेको छ।

पुस्तकमा उल्लेख गरिएअनुसार लेखकद्वय डा. उप्रेती र अधिकारी एकपटक बाजुरा जिल्लाको मार्तडीमा पुग्दा एक घरमा एउटी महिला जौ कुटिरहेकी रहिछिन्। कुराकानीका क्रममा ती महिलाले भनिन् रे– ‘यो त हामीले कहाँ खान्या हो र ? भैंसीलाई दिन्या हो।’ कस्तो विडम्बना ⁄ यसैको पीठोमा चिनी मिसाएर हर्लिक्स भन्दै बेच्दाचाहिँ जति पैसा पनि तिर्ने तर आफैंले तयार गरेको पौष्टिकताले भरपूर जौको परिकारलाई स्तरहीन खानेकुरा ठानेर भैंसीलाई दिने ⁄ हाम्रो समाजमा आफ्नो घरको मही–दूध सस्तोमा बेचेर कोकाकोला, फ्यान्टाजस्ता महँगा कोल्डड्रिङ्क किनेर खानेहरु पनि पाइन्छन्। पाहुनालाई घरको मकै–भटमास, रोटी, महीले सत्कार गर्नुभन्दा चाउचाउ र कोल्डड्रिङ्क किनेर खुवाउँदा आफूलाई सभ्य ठान्नेहरु पनि यही समाजमा छन्। माथि नै उल्लेख गरियो कि नेपालको पश्चिमी ग्रामीण भेगमा जाँदा यस पुस्तकका लेखकहरु आफैंले पनि भोगेका कुरा रहेछन् यी। यी कुराले पनि लेखक डा. उप्रेती र अधिकारीलाई यो पुस्तक लेख्न अभिप्रेरित गरेको हो।

सकेसम्म चिनीचाहिँ खाँदै नखान सल्लाह दिँदै गरिबले खाने भनेर हामीले हेपेका कोदो, फापर, गहत, भटमास, फर्सीजस्ता खाद्यवस्तुहरुका साथै तीतेकरेला, मेथी आदिको महत्व दर्शाउन लेखकहरु सफल भएकै मान्नुपर्छ। कुन खाद्यपदार्थमा के मिसाउने सम्भावना हुन्छ र सो मिसावटले स्वास्थ्यमा के असर पर्छ ? मिसावट पहिचान गर्ने विधि के हो ? यी सबै कुरा पुस्तकमा समेटिएकाले पाठकलाई खाद्यप्रति सचेत गराउन पुस्तक सहयोगी नै देखिन्छ।

पुस्तकको नाम हेर्दा लाग्छ– पुस्तक खानेकुराका विषयमा मात्रै केन्द्रित होला। तर यसमा ‘ओहो औषधि हत्तेरिका औषधि ⁄’, ‘रैथाने ज्ञान र औषधि’, ‘गोरो बनाउने क्रिम’, ‘घामको महत्व’ आदि शीर्षकका खाद्यवस्तु इतरका विषयवस्तुसम्बन्धी भ्रम र यथार्थलाई पनि चिर्ने कोशिश गरिएको छ। यस्ता विषयवस्तुले पुस्तकको गहनतालाई बढाएको छ।

सुन्दरताका लागि अनुहारमा प्रयोग गरिने सौन्दर्य सामग्री, प्रिय पेयपदार्थको रुपमा लिने गरेका इनर्जी ड्रिङ्क, तत्काल किनेर खाने गरेका जङ्क फुडहरुले स्वास्थ्य बिगारिरहेका छन् कि ? आधुनिकताको नाममा र आकर्षक विज्ञापनको भ्रममा हामीले उपभोग गरिरहेका यस्ता वस्तुबारे थुप्रै जिज्ञासाहरुको जवाफ यस पुस्तकमा दिने प्रयास गरिएको छ। हामीले बजारमा किनेर सेवन गरिरहेका तयारी खाद्यवस्तु आफ्नै लागि हानिकारक र धेरै रोगका कारण बनिरहेकाले यसको बदला आफ्नै घरमा बनाएको स्थानीय स्वस्थ खाना खान पनि यस पुस्तकले उत्प्रेरित गरेको छ।

यस पुस्तकको अध्ययनले सामान्य पाठकलाई आफ्नो स्वास्थ्यबारे सचेत गराउने त छँदै छ, स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्ने सरकारलाई समेत यस पुस्तकले घचघच्याउन सघाउ पुग्नेछ। हाम्रा खेतबारी, करेसाबारीदेखि लिएर भान्सासम्म उपलब्ध हुने औषधिजन्य खाद्यवस्तुको जानकारी दिनुको बदला महँगा चक्की खुवाउँदै हिँड्ने सरकारी नीतिमा समेत यस पुस्तकले प्रश्न उठाएको छ। भौगर्भिक बनावट र हावापानीअनुसारको खेतीमा आकर्षित गराउन छोडेर बर्सेनि मक्किएको गुणस्तरहीन चामल बाँडी जनतालाई अल्छी बनाउने सरकारलाई पनि यस पुस्तकले घचघच्याउने देखिन्छ।

पत्रपत्रिका, टेलिभिजन, रेडियो, होर्डिङबोर्डहरुमा दिइने आकर्षक विज्ञापनले सत्य सन्देश दिइरहेका छन् कि भ्रम फैलाइरहेका छन् ? मननयोग्य छ। विज्ञापनको भ्रममा परेर एकातिर हामीले अनावश्यक खर्च बढाइरहेका छांै भने अर्कातिर अयोग्य वस्तुको उपभोगबाट आफ्नो स्वास्थ्यमा समेत हानि पुर्याइरहेका छौं भन्ने सन्देश दिनु नै यस पुस्तकको मुख्य विशेषता हो। आकर्षक कभर, बीच–बीचमा विषयवस्तुसँग सम्बन्धित स्केच, सलल बगेको भाषाशैली, सन्दर्भ सामग्री आदिले पुस्तकको स्तर बढाएको छ। सामान्य गृहिणीदेखि मुलुकका नीति–निर्मातासम्म जोसुकैका लागि पुस्तक संग्रहणीय देखिन्छ।

 

 

LEAVE A REPLY