मोहन दुवाल,कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ। त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिदैन। सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तरक्रियाकै एउटा विम्ब भएर कविता जन्मिन्छ। कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखा पर्ने हुन्छ। कविता अन्य विधाभन्दा फरक शैली र विम्बमा देखा पर्छ। शब्द, भाषा, शैली र भावना–दृष्टिकै सुन्दर अभिव्यक्ति हो कविता। कविता बनाउन गाह«ो छ, कवि भनाउन झन् कठिन हुन्छ। एकजना कविले जीवनमा भोगेका थुप्रै घात–प्रतिघातकै क्रममा प्रकृति र जीवनसँग सिकेर अनुभूति पोख्ने गर्छन्। अनुभूति पोख्दैमा कविता बन्दैन। कविता बन्न अनुभूतिका साथसाथै अभिव्यक्ति पनि आवश्यक हुन्छ।

नेपालभाषा–साहित्यमा यस्तै अनुभूति र अभिव्यक्ति पोख्न सिपालु रहँदै आएका एकजना सफल कवि हुन्– पूर्णबहादुर वैद्य। आधुनिक कवितामा आफ्नो स्पष्ट मुहारचित्र बनाइसकेका कवि पूर्ण वैद्यका कविताहरूमा कविताका मर्महरू शैली र अभिव्यक्ति भएर छरपस्ट छन्। नयाँ संवेदनाले व्याप्त भावनाका उत्सर्गहरू पोख्न दक्ष कविका रूपमा परिचय देखाइसकेका यी कवि आफ्ना कवितामा नयाँ प्रयोग र रूप दिन सक्रिय छन्। नयाँ चेतनालाई रसमय बनाउन सक्नु नै पूर्ण वैद्यका विशेषताहरू हुन्।

नयाँ विम्ब, नयाँ विचार नभएको कविता प्रभावशाली हुँदैन। यसकै खोजीमा निरन्तर लागेर कविता कोर्दै गरेका कवि पूर्ण वैद्य आफ्नो कवि–अहम् देखाउन लागिपरेका छन्। पूर्ण वैद्यका कविताहरूले समाज र मान्छेलाई कस्तो दिशाबोध गर्छन् भन्ने कुरा यहाँ चर्चा गर्न खोजिरहेको छु। सानो छँदादेखि नै कविता लेख्न मन पराउने कवि पूर्ण वैद्य सर्वप्रथम कवितासङ्ग्रह सरासु लिएर देखा परेका हुन्। सरासुले कवितामा एउटा नयाँ आयाम थपिदिएको सन्दर्भ थुप्रै समालोचकहरूले औंल्याएका छन्।

परम्पराभन्दा बाहिर गएर नयाँ शैली र विम्ब देखाएर निस्केको सरासुको कविता–प्रवृत्ति निकै उच्चकोटिको रहेको सम्बन्धमा धेरै समीक्षकहरुले चर्चा चलाएका छन्। नयाँ दृष्टिकोणले व्याप्त भएको सरासु कवितासङ्ग्रहमा नयाँ कला, नयाँ शिल्प र नयाँ अभिव्यक्ति व्याप्त रहेको देखिन्छ। सरासु कवितामा देखा परेको एउटा नयाँ प्रयोग। सरासु आधुनिक कवितामा देखा परेको एउटा नमुना। सरासु नयाँ बौद्धिक जागरणको कवितामा देखा परेको एउटा घोषणापत्र। सरासु निस्तब्धताभित्र देखा पर्न खोजेको एक किसिमको प्रकाश–विम्ब। कविले आफ्नो स्वरमा सरासुमा भनेका छन्– यो ‘सरासु’ मेरो जीवनको निस्तब्धताप्रतिको विरोध र मेरो सधैँको मनभित्रको भाषा हो।

सरासुले उत्कृष्ट कवितासङ्ग्रहका रुपमा १०८४ मा नै श्रेष्ठ सिरपाः (पुरस्कार) जितेको हो। आधुनिक कवितामा एउटा नयाँ प्रयोगका रूपमा देखा परेको यस कविता–कृतिमा २९ वटा कविता नेपालभाषामा सङ्गृहित छन्। सुथ जुयवं (बिहान हुनासाथ) कवितामा कवि लेख्छन् ः याक चा (एक्लै)

चछि च्यानाः (रातभर जलेर) मैनमतः (मैनबत्ती) गुलि नुगः मस्यासें (कति पनि कन्जुस्याइँ नगरी) थःत फुकी (आफूलाई सिध्याउँछ।) समर्पण के हो ? मैनबत्तीसँग सिक्नुपर्ने सुन्दर शब्द–शैलीमा व्यक्त भएको कविता बिहान हुनासाथ बाट शुरु भएको यो कवितासङ्ग्रह सरासुमा कवि पूर्ण वैद्यले त्याग–समर्पणको व्याख्या कविताका हरफहरूमा यसरी गरेका छन् ः तर (तर)फुइ धुंकूगु मैनमत क्वसं (सिद्धिसकेको मैनबत्ती तलतिर)

शहीदया हिथें (शहीदको रगतझैँ) छफुति, निफुति मैन (एक, दुई थोपा मैन) ल्यना च्वनि (बाँकी रहन्छ)। पूर्ण वैद्य यस्तै कविताका हरफहरू कोरेर सशक्त कवि बनेका हुन्। प्रगतिमुखी चेतनाले आफूलाई व्याप्त तुल्याएर कविताकै भावप्रवाहमा मान्छेका भावनाहरू खोज्न सिपालु कवि पूर्ण वैद्यका कविताहरू मर्मस्पर्शी रहनुका साथै समसामयिक र युगसन्दर्भी खालका छन्। यही वैचारिक धरातलमा रहेर पूर्ण वैद्य सबैजसो कवितामा प्राण भर्न सङ्कल्पबद्ध छन् र सङ्घर्षरत छन्। उनको अठोट छ– मान्छे भन्नु नै प्रगति हो।

प्रगति गर्ने सङ्कल्प गर्नु नै मान्छेको जिजीविषा हो। त्यसैले उनको परिभाषामा प्रगति के हो, उनी लेख्छन् कवितामा– मृत्युं क्वात्तु क्वानाः नं (मृत्युले ठुङ्दा ठुङ्दै) घा याय् मफुगु (घाउ पार्न नसकेको) थ्व लँ ⁄ (यो बाटो ⁄)  कस्तो अनुभूति, कस्तो विम्ब र शैली ? यस्तै मनोकाङ्क्षा र भावना व्याप्त छन् कविमा। कविताका हरफ–हरफमा यस खालका अनुभूति र अभिव्यक्ति छरपस्ट छन्। मां बौ नापं (आमाबाबुसँग) कवितामा उनी लेख्छन् ः जिमां ⁄ जिबौ ⁄ (मेरा मुमा ⁄ मेरा बाबा ⁄)जित छिमिसं बुयाः बुयाः (मलाई तिमीहरूले बोकी–बोकी) जिगु तुति चिमि याय्मते (मेरो खुट्टालाई कमजोर नबनाऊ) जित् दनेब्यु, जित वनेब्यु (मलाई उठ्न देऊ, मलाई बढ्न देऊ) पिने लँ वया पियाच्वन (बाहिर बाटो आएर पर्खिरहेछ) मामाममताया परिमिति छेँय् कुनाः (माया–ममताको परिमित घरमा थुनेर) जितः सुचुका तय्मते (मलाई लुकाएर नराख) नगु पाल्चा च्याकाः इलं सःताच्वन (तारा दियो बालेर समयले डाकिरहेछ)। अभिव्यक्तिलाई सुन्दर ढङ्गमा अनुभूति बनाएर पोख्न सक्षम कविले आफ्ना कवितामार्फत नेपालभाषा–साहित्यको कविता–क्षेत्रमा हलचल ल्याइदिएका छन्।

नयाँ धारा, नयाँ गति, नयाँ सोचकै प्रतिविम्ब बनिदिएका छन् पूर्ण वैद्य कविका कविताका–हरफहरू। पूर्ण वैद्यका सबैजसो कवितामा रूप र वस्तु दुवैमा नयाँ पन व्याप्त भएको कारणले कविता सम्प्रेषित हुन सफल छन्। सरासु कवितासङ्ग्रहको विशेषता उल्लेख गरेर समालोचक कृष्णचन्द्रसिंह प्रधानले भूमिकामा यसरी लेखेका छन् ः ड्ड दुराग्रह अथवा समर्पणको भावले होइन, अतृप्ति र अपर्याप्तताको दृष्टिले वस्तुलाई नयाँ अर्थ र व्याख्यामा प्रयोग गरी सार्थकता दियो।

ड्ड समकालीन जीवनको सङ्कट, सङ्क्रमण र अवमूल्यनको भावबोधलाई आस्थाहीन मनस्थितिको सन्दर्भलाई जोडेर जीवन र मनुष्यप्रतिको धारणामा एउटा प्रश्नचिह्न ल्याई पुनः विचार गर्ने दृष्टि दियो।

ड्ड शैलीगत अभिव्यञ्जनासम्बन्धी उपकरणको आधुनिक हतियार लिएर कविताको विकासका लागि र प्रयोगका निम्ति आधुनिकतम सम्भावनाको ढोका खुलाइदियो। कवि पूर्ण वैद्यको कविता भनेको नयाँ शिल्प र नयाँ विचारको ध्वनि हो। सरासुमा संग्रहित कविताको एक अंशहरू ः तुति खनेवं (खुट्टा देख्नासाथ) मति लुई (मनमा कुरा खेल्छ) जिगु गन्तव्य ल्यंदनि (मेरो गन्तव्य बाँकी छ) जितः वनेमागु ज्या यक्को दु (मलाई जानुपर्ने काम धेरै छ)।

सरासुमार्फत केही कवितात्मक शब्द–ध्वनिहरू अगाडि सारेर निकै चर्चामा आएका यिनै कविको अर्को चर्चित कवितासङ्ग्रह लः लः खः ने.सं. १११५ (वि.सं. २०५२) मा प्रकाशित भएको देखिन्छ। लः लः खः (पानी पानी हो) कवितासङ्ग्रहमा कविले लेखेका छन्– पानी कविता मेरो अनुभूतिभित्र समय–समयमा जन्मिएको अभिव्यक्तिको विनम्रता हो। एक किसिमले यो धेरै वर्षको कालक्रमभित्र समय–समयमा लेखिआएको भावबोधको लिपिबद्धता हो। यसमा २०२९÷२०३० सालअघिदेखिको कविता सङ्ग्रहित हुन आएको छ।

शुरुमा पानीसँग सम्बन्धित कविताहरू मात्र सङ्ग्रह गरी प्रकाशन गर्ने कुनै पूर्वप्रायोजित योजना थिएन। पछि पानीलाई सङ्केत गरी लेखिएका धेरै कविता जम्मा भएपछि यसरी ‘पानी पानी हो’ पुस्तकको रूपमा आएको हो। पानीलाई मनमा राखेर, पानीलाई आँखाले हेरेर, पानीलाई स्पर्शमा बुझेर, पानीकै सतहमा बौद्धिकता, तार्किकता, दार्शनिकता घुलमिल गराएर कवितामा यिनी अभिव्यक्ति पोख्न सफल भएका छन्। जीवनमा गतिशीलता खोज्दै एवं प्रगतिको मूल्य र मान्यतालाई आत्मसात गर्दै कवितामा विचार सम्प्रेषण गर्न सिपालु कवि पूर्ण वैद्यले लः लः खः (पानी पानी हो) मा पानीमाथिको तत्कालको संवेदनालाई अनुभूतिमा समायोजन गरी सृजनात्मक योगभित्र घोलेर कविता बनाएका छन्। (क्रमशः)

LEAVE A REPLY