–बहादुर सिंह लामा
वर्तमान संविधान जारी गर्ने नेतृत्व गरेको नेपाली कांग्रेस पार्टी र यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । प्रदेश नम्बर १, ५ र ७ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई अपेक्षित नतिजा हात परेन । कांग्रेसले पहिलो चरणको चुनावसँगै दोस्रो चरणमा आउँदा धेरै खालका समस्या र अप्ठ्याराहरु झेल्नुप¥यो ।

अन्तरपार्टी समस्याभन्दा कांग्रेसविरुद्ध एमाले लगायतका दलहरुले ‘गोवयल्स–शैली’मा गरिएको दुष्प्रचारले धेरै प्रभाव पारेको देखियो । खासगरी एमालेले राजनीतिक बजारमा जे र जसरी ‘राष्ट्रवाद’ नामको लड्डु बाँड्यो, त्यसैमा आमनागरिक र मतदाता झुम्मिए । समयमा नै कांग्रेस लगायतका दलहरुले एमालेको तथाकथित राष्ट्रवादविरुद्ध उभिन सकेनन् । कांग्रेस समेत सहभागी रहेको प्रचण्ड सरकारले गरेका राम्रा कामहरुको प्रचारबाजी र जस लिन नसक्दा एमालेले उठाएको राष्ट्रवादी ऐँजेरु झन मौलाउन पुग्यो ।

नक्कली राष्ट्रवाद : सक्कली कथा
हामी सबैले देखेकै र भोगेकै छौं, मुलुकमा सधैँ एमालेले नक्कली र दोहोरो चालको राजनीति गर्दै आएको । वि.सं. २०४६ सालको संविधान जारी गर्ने क्रममा आलोचनात्मक–समर्थनको दोहोरो कुरा गर्दै उसले आफ्नो चरित्रलाई उदांगो पारेको थियो । आफै संलग्न रहेर बनाइएको संविधानलाई विरोध गर्दै कहिले उनीहरु टुँडिखेलको आमसभाबाट देशी–विदेशी शक्तिलाई लल्कार्थे त कहिले उनीहरु नै बहुमतको सरकारविरुद्ध रत्नपार्क क्षेत्रका फलामे रेलिङ भाँच्थे । देशको स्थायी सरकार मानिने कर्मचारीवृत्त उचालेर एमालेले अत्यावश्यकीय सेवा दिने क्षेत्रमा समेत बन्द–हड्ताल र पेन डाउनको संस्कृति जन्माएको थियो ।

मौकापरस्त छिमेकी राष्ट्र भारतको राजनीतिमा ‘जदौ’ गर्न जाने एमालेले त्यसपछि आफूहरु कम्युनिष्ट नभएको ढोंङ गर्न पार्टी कार्यालयबाट लेलिन र माक्र्सका फोटाहरु लुकाएर राखेको पनि थियो । विदेशी कम्युनिष्ट नेताहरुलाई ‘आदर्शवान लिडर’ मान्ने एमाले कति राष्ट्रवादी थियो– त्यो महाकाली सन्धीताका देखिएकै हो । थोरै रुघाखोकी लागे दिल्ली धाएर औषधि उपचार गर्ने र आफ्ना छोराछोरीलाई केन्द्रीय विद्यालयमा पढाउन राजदूत कहाँ धाउने संस्कृति पनि उनीहरुले शुरु गरेका हुन् । ठूला–ठूला नेताका नाममा कलेज, क्याम्पस र खोल्ने र त्यसको सञ्चालन गर्न विदेशी दातृ निकायसँग चन्दा लिने परम्परा एमालेहरुबाटै जन्मेको हो ।

विरोध ठूलो : काम लुलो
वास्तवमा एकताका भनिन्थ्यो– जुन पार्टी र नेताले विदेशी र राजालाई गाली गर्देन, ऊ ठूलो पार्टी र नेता हुन सक्दैन । ठ्याक्कै त्यसै गरेको थियो एमालेले । ‘सीता’ खाएर ‘गीता’ गाउने चरित्रसँगै बाहिर–बाहिर ठूलो स्वरमा विरोध गर्ने र भित्र–भित्र आफ्ना सहकारी एवं गैर सरकारी संस्थामार्फत चन्दा–सहायता उनीहरुले नै लिन्थ्ये । सबैले देखेका छन््– अहिले मुलुकभर जति पनि समाजसेवाका नाममा ‘पसल’ खोलिएको छ त्यसमा सबैभन्दा ठूलो हिस्सा एमालेसँग सम्बद्धहरुकै छ ।

भनिन्छ– नून खाएपछि त्यो लाग्छ । अथवा अर्को भनाइ पनि छ– नून खानासाथ कुखरा झोक्राउँछ । दुर्भाग्य यहाँ त एमाले नामक ‘ह्याचरी’बाट निस्कने ‘कुखुरा’हरु झन बढी आक्रामक र राष्ट्रवादी हुन्छन् । राष्ट्रवादको सपना बाँड्न उनीहरु माहिर छन् । छिमेकी राष्ट्रका उत्पादनको भित्री लुगा लगाउनेदेखि महँगा गाडीहरु उनीहरु नै चढ्छन् । एकताका वर्तमानका एमाले पार्टी अध्यक्ष केपी ओलीका बारेमा अरुले होइन, झलनाथ खनाल, माधव नेपाल लगायत वामदेव गौतमले समेत ‘भारत परस्त’ नेता भेर सार्वजनिक तवरमा नै टिप्पणी गर्थे । तिनै अध्यक्ष ओली यतिखेर किन र के का लागि विरोधी बनेका छन् ? त्यो सबैले बुझेका छन् ।

खासगरी वर्तमान संविधान जारी गर्ने क्रमदेखि नै तराई–मधेश क्षेत्रमा असन्तष्टि थियो । जनजाति, मुस्लिम लगायत अल्पसंख्यकहरुका आ–आफ्नै माग र मुद्दा थिए । सबै दल एवं नेताहरुले उनीहरुका जायज मागहरु सम्बोधन गर्नुपर्ने बताइरहन्थे । करिव ९० प्रतिशतलाई मनाउनुको सट्टा बिच्क्याउने काममा पनि ओलीको नै हात रह्यो । उनले तराई–मधेश क्षेत्रलाई मात्रै नभएर त्यहाँका नागरिकहरु समेतलाई ‘छालाको रंगीन राष्ट्रवाद’मा परिभाषा गरे । सम्म भूमि र समथर जमिन भन्नासाथ युपी–विहार बुझ्ने उनको मनोदशाबीच ‘पहाडे–राष्ट्रवाद’को नारा जन्मन पुग्यो । वास्तवामा एउटा पार्टी र त्यसको नेता जातपात र भूगोलभन्दा धेरै माथि उठ्नु पर्दथ्यो । दुर्भाग्य उनीबाट त्यस्को काम भएन र मुलुक अहिले त्यही नक्कली मुजुररुपि राष्ट्रवादमा लत्पतिएको छ ।

चामल नै विकेको छैन
वास्तवमा हामीकहाँ जस्ले झुठो कुरा गर्छ । सपना–संसारमा पु¥याएर जुन पार्टीले ‘हावादारी’ कुरा गर्छ, त्यसैमा अली बढी आश्वस्त हुने गरेको परिपाटी देखियो । संविधान जारीपछि पहिलो चरणको निर्वाचन हुँदै दोस्रो चरणमा आउँदा माओवादी केन्द्र लगायत कांग्रेसले जुन ऐतिहासिक काम ग¥यो, त्यसमाथि हाम्रो ध्यान नै गएन । विरोध, विष्मय र विचलन मन पराउने हाम्रो मानसिकताबीच कांग्रेस र माओवादी जस्ता पार्टीहरुले गरेको कामको जस समेत लिन सकेनन् ।

संयोगले यसपटकको दोस्रो चरणको चुनावमा म पार्टीको तर्फबाट भोजपुर जिल्लाको अनुगमनमा थिएँ । त्यस जिल्लाई प्रायः मान्छेहरुले एमालेको गढ भन्दथे । जनजातिको बाहुल्य क्षेत्रमा म पुग्दा त्यहाँको कथा–व्यथा छुट्टै थियो । त्यहाँ मैले आफ्नो पार्टी नेतृत्व र वर्तमान अवस्थामाथि मज्जाले प्रकाश पारेँ । एमालेको नक्कली राष्ट्रवादविरुद्ध सक्कली कुरा उठाएँ । हामी सबैले अहिले देखेका छौं – त्यहाँ आशा गरेभन्दा राम्रो नतिजा आयो । कुनै पनि पार्टी एवं त्यसको नेतृत्वले स्थानीय तहमा वास्तवमा नै आफ्ना कुराहरु पु¥याउन सकेका रहेनछन् भन्ने मलाई लाग्यो ।

एउटा भनाइ छ– ‘नबोल्नेको चामल विक्दैन, बोल्नेको पीठो पनि विक्छ ।’ वास्तवमा नै अहिले प्रमुख प्रतिपक्षी दलले यही काम गरिरहेको छ । यसप्रति सबै सचेत हुनु जरुरी छ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटका सांसद हुनुहुन्छ । )

LEAVE A REPLY