बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती, अलपत्र यात्रुका पिडै पिडा



नेपाल समाचारपत्र, म्याग्दी । अविरल वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीले सडक कटान गरेपछि यातायात सेवा अबरुद्ध बनेको हो ।

कालीगण्डकी नदीमा बहाव उच्च भएपछि तीनवर्ष पहिले सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले भत्काएको छ । नदी कटानले करिब २० मिटर सडक बगाएपछि बेनी–जोमसोम सडकमा सीधा सवारी यातायात अबरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । सडक अवरुद्ध भएपछि उत्तरी म्याग्दीको साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री, सर्वसाधारण, यात्रुलगायत समस्यामा परेको उहाँको भनाई छ ।

सिधा यातायातको सम्बन्धबिच्छेद भएपछि यात्रुले सवारीसाधन परिवर्तन गरी यात्रा गर्नुपर्ने झन्झट बेहोरेका छन् । बिहीबार परेको वर्षाले कालीगण्डकी नदीले सडक कटान गरी बगाएको थियो । वर्षाले गर्दा कालीगण्डकीमा उर्लिएको बहावले सडकमा क्षति पु¥याएपछि अबरुद्ध बनेको सडक मर्मत गरी खुलाउने प्रयास भैरहेको अध्यक्ष पुनले बताउनुभयो ।

अहिले कालीगण्डकी नदीले कटान गरेको ठाउँमा डोजरको सहायताबाट ढुङ्गा राखेर नदीको बहाव रोकी अस्थायी रुपमा एकतर्फी भए पनि सडक खुलाउने पहल भैरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार आज साँझसम्म एकतर्फ रुपमा सडक खुलाउने कामलाई तिब्रता दिइएको छ ।

सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौंबाट मुस्ताङका लागि छुटेका सवारीसाधनहरु भिरकाटे र मुस्ताङको जोमसोमबाट छुटेका बस, जिप तथा मालबाहक ट्रक पोखरेबगरमा रोकिएका छन् । बेनी–जोमसोम सडकमा बस, जिप, ट्याक्सी तथा मालबाहक ट्रक गरी दैनिक २ सयबढी सवारीसाधनहरु गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्