मालबाहक ट्रक नाकामा रोकिए



 

गौशाला, २४ असार । भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) कारण महोत्तरीसँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा मालबाहक ट्रक रोकिएका छन् ।

कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ वटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ । भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजल बोकेर आएका १८ वटा ट््याङ्कर समेत आइतबारदेखि भन्सारमा रोकेको छ ।

भारतले जुन ३० तारिखदेखि लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सिमा नाकामा नेपाल आयात गर्न लागिएको विभिन्न सामान थन्किएको छ । यसरी सामान नेपाल आयात गर्न नपाउँदा कर असुली प्रभावित भएको जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जानकारी दिनुभयो ।

नयाँ करप्रणालीबारे स्पष्ट हुन नसकेको र यसबारे अन्यौलता रहेका कारण नेपालतर्फ लैजान तयारी अवस्थामा राखिएका मालबाहक ट्रक नाकामै रोकेको भिठ्ठामोडस्थित भारतीय भन्सारमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्रप्रसाद सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्