महिला उद्यमीहरूको भेला हेटौंडामा



नेपाल समाचारपत्र,हेटौंडा
नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा देशभरका १ सय ५० जिल्ला नगर उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमी हेटौंडामा भेला भएका छन्। दुई दिनसम्म चल्ने राष्ट्रिय भेलाका लागि उनीहरू हेटौंडामा भेला भएका हुन्।

भेलामा ‘अर्थतन्त्रमा महिला उद्यमीको भूमिका तथा महिला उद्यमीको प्रवद्र्धन’ विषयमा छलफल गरिने जनाइएको छ। स्थानीयरुपमा कार्यक्रम संयोजन गर्ने मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष तथा महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले भेलामा देशभरका जिल्लानगर उद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करिब २ सय महिला उद्यमीको सहभागिता रहेको जानकारी दिनुभयो।

भेलामा आ–आफ्नो क्षेत्रका समस्या, कानुनीरूपमा आएका व्यवधानबारे छलफल गरी निष्कर्षलाई महिला उद्यमी घोषणापत्रका रुपमा कार्यान्वयनका लागि सरकारसमक्ष पेश गरिने न्यौपानेले बताउनुभयो। महिला उद्यमीहरूको उद्यमशीलतालाई राष्ट्रिय आयआर्जनमा लगाउने उद्धेश्यअनुरुप महिला उद्यमी भेला गरिएको हो।

उद्यमशीलतामा महिलाको पहुँच बढाउने र उद्यमशीलताको गतिलाई माथिल्लो उचाईंसम्म पु¥याउने उद्धेश्यले अन्तक्र्रिया गरिएको न्यौपानेले जानकारी दिनुभयो। उद्यमी बन्न चाहने महिलालाई अन्तक्र्रियाले प्रेरित गर्नेछ।
अन्तक्र्रियामा उद्यमशीलतामा लागिसकेपछि महिलाले अपनाउनुपर्ने होसियारी, बजारीकरण, जनसम्पर्क र कच्चापदार्थका विषयमा पनि जानकारी गराइनेछ। कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने र अर्थतन्त्रमा महिलाको सहभागिता बढ्ने आयोजकको दाबी छ।

नेपाल उद्योग वणिज्य महासंघले गरेको सर्वेक्षणअनुसार नेपालमा २ लाखभन्दा बढी महिलाका नाममा दर्ता गरिएका उद्योग व्यवसाय छन्।

भेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शनी गरिएको छ। भेलाले आयआर्जनमा महिलाको भूमिका उल्लेख्य भए पनि महिलाको पहुँचका कारण महिला उद्यमीहरूले उचित स्थान नपाएकोबारे पनि चर्चा गर्नेछ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशत योगदान महिलाले गरेका छन्। तर, औपचारिकरुपमा भने यो तथ्य बाहिर देखिएको छैन।

महासंघले राजधानीबाहिर यसरी भेला गरेको यो पहिलो भएको महासंघका महासचिव सुरेशमान श्रेष्ठले बताउनुभयो।

भेला उद्घाटन गर्दै हेटौंडाका मेयर हरिबहादुर महतले महिला उद्यमीका समस्या समाधानमा नगरपालिका तयार रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्