राष्ट्रपति रनिङ शिल्डमा नयाँ कीर्तिमान



नेपाल समाचारपत्र,काठमाडौं
नवौं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान रचिएका छन्।

तीनै कीर्तिमान छात्रतर्फ हुने क्रममा पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका अजितकुमार यादवले ३ हजार मिटर दौड र मध्यमाञ्चलकै भुवन महतोले लङजम्पमा कीर्तिमान रचेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान गुरुङले १५ दशमलव ०१ मिटर टाढा फाल्दै गत संस्करणमा मध्यपश्चिमाञ्चलका तिलक नेपालीले बनाएको १४ दशमलव ५४ मिटरको कीर्तिमान तोडे।

त्यस्तै भुवन महतोले ६ दशमलव ५३ मिटर जम्प लगाउँदै करिब ३० वर्षपछि सो विधामा नयाँ कीर्तिमान राखेका छन्। यसअघि २०४४ सालमा आयोजित वीरेन्द्र शिल्ड प्रतियोगितामा धनवीर चौधरीको नाम कीर्तिमान थियो। त्यस बेला धनीवरले ६ दशमलव ४१ मिटर उफ्रेर कीर्तिमान बनाएका थिए।

छात्रा सटपुरमा पश्चिमाञ्चलकी अस्मिता शेर्पाली पहिलो भइन्। अस्मिताले ८ दशमलव ९० मिटर फालिन्। छात्रा ३ हजार मिटर दौडमा राममाया बुढा पहिलो भइन्। निर्धारित दूरी राममायाले ११ मिनेट २३ दशमलव ९ सेकेन्डमा सिध्याइन्। छात्रा लङजम्पमा मध्यपश्चिमाञ्चलकी जयरानी थारू पहिलो भइन्। जयरानीले ४ दशमलव ७२ मिटर छलाङ मारिन्।

छात्र ८ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले २ मिनेट शून्य दशमलव ६७ सेकेन्डमा दौड सकाए। सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी सुष्मा सिंहले निर्धारित दूरी २ मिनेट ३४ दशमलव ८८ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थान कब्जा गरिन्।

छात्र १ सय मिटर दौडमा मध्यमाञ्चलका आशिष खत्री पहिलो भए। उनले ११ दशमलव ०५ सेकेन्ड समय खर्चे। सोही स्पर्धाको छात्रामा १३ दशमलव ४९ सेकेन्डमा दूरी तय गरेकी मध्यमाञ्चलकै लुजःला अमात्य पहिलो भइन्। छात्रा २ सय मिटर दौड पनि आशिष पहिलो भए। उनले २३ दशमलव २९ सेकेन्ड समय लगाए।

कराते
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेमा पश्चिमाञ्चल टिम च्याम्पियन बनेको छ। पश्चिमाञ्चलले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो। ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ मध्यमाञ्चल दोस्रो भयो। तेस्रो स्थानको सुदूरपश्चिमाञ्चलले १ स्वर्ण र २ कांस्य जित्यो।

उसु
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिमाञ्चलकी एलिशा खाती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उसुको अन्तिम दिन नान छ्वानको छात्रमा अजय तामाङ र छात्रामा रसु तामाङले स्वर्ण जिते। थाइची छ्वानको छात्रमा मनीष बुढाथोकी र छात्रामा ज्योति तामाङले पहिलो स्थान हात पारे। विजेता चारै मध्यमाञ्चलका हुन्।

तेक्वान्दो
कोटेश्वर तेक्वान्दो डोजाङमा भएको तेक्वान्दोमा मध्यमाचल ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको छ। १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोस्रो भयो। तेस्रो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पयो।

प्रतिक्रिया दिनुहोस्