बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री



शिवहरिप्रसाद भट्टराई,राजविराज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको अति बाढी प्रभावित क्षेत्र ठेलियास्थित महुली खोलाको कटानस्थल अवलोकन गर्नुभएको छ।

प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट ओर्लिएपछि पीडितको आग्रहमा डेढ किलोमिटर पैदल हिँडेर बाढीपीडितको अवस्था, जिल्लाको महुली खोलाबाट भएको क्षति, डुबानमा परेको बस्ती तथा नेपाली सेनासहित संयुक्त सुरक्षाफौजले गरिरहेको नदी नियन्त्रण कार्यको समेत स्थलगत अवलोकन गर्नुभएको थियो।

स्थलगत निरीक्षण पश्चात बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले प्रति परिवार २ बन्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणका लागि १० हजार गरी २५ हजार रुपियाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभयो।

यसै गरी बाढीका कारण क्षति भएका बाढीपीडितलाई सहुलियत ब्याजदरमा १५ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउनेसमेत उनले घोषणा गरे।

बाढी प्रभावित क्षेत्रमा निःशुल्क औषधिसहित स्वास्थ्यकर्मीको टोली तथा सफा र शुद्ध पानी पिउने व्यवस्था तत्काल गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो।

सम्बोधनकै क्रममा उहाँले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानद्वारा नदी नियन्त्रणसम्बन्धी काममा भ्रष्टाचार भएको भन्ने गुनासोको छानविन गर्न समिति बनाएर यथाशीघ्र सम्बोधन गर्ने बताउनुभयो। यसै गरी वर्षा र बाढीका कारण अवरुद्ध रहेको राजविराज–कुनौली सडकखण्डलगायतका सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउनसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो।

प्रधानमन्त्रीसँगै आउनुभएका गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई खाने तथा बस्ने व्यवस्था तत्काल मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै बाढीबाट पीडित भएका जनता भोकै बस्नुनपरोस यसको तत्काल समाधान गर्न निर्देशन दिनुभयो। पाल किनेर भए पनि बासको व्यवस्था गर्ने उहाँले बताउनुभयो।

बाढीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न व्यवस्थित योजना बनाएर सरकारले काम गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री शर्माले व्यवस्थित बसोबासका साथै सुरक्षित बस्तीको व्यवस्था मिलाउन सरकार लागि परेको बताउनुभयो।

सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले सप्तरी जिल्लामा बाढीपीडितको अवस्थाबारे जानकारी गराउनुभयो।

प्रधानमन्त्रीसहितको उक्त टोलीले महुली, सुन्दरी, जिता, खाँडो खोलाबाट भएको क्षतिको अवस्था हेलिकोप्टरबाट अवलोकन गरेका छन्। यता बाढीपीडितहरूले नदी नियन्त्रणको स्थायी समाधान गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्। जिल्लाको बाढी प्रभावित अन्य स्थानमा हेलिकोप्टरबाटै अवलोकन गरिएको थियो।

सप्तरीको महुली, खाडो, जीता, सुन्दरीलगायतका खोलामा आएको बाढीले १ हजार ५ सय बस्तीका परिवार प्रभावित भएको तथ्यांक रहेको छ।

प्रतिक्रिया दिनुहोस्