नेपाल–भारतका सम्पदा जोडेर शिव परिपथको प्रस्ताव



काठमाडौँ, २३ असार । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपतिनाथ–चौसठ्ठी शिव लिङ्ग र भारतका विश्वनाथ एवम् केदारनाथलाई जोडेर शिव परिपथ (सर्किट) निर्माणको प्रस्ताव अघि सारिएको छ ।

भूकम्पअघि जीर्ण बनेको र भूकम्पले क्षति पु¥याएका पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गरी पशुपति क्षेत्रमा आज आयोजित हस्तान्तरण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले नेपाल–भारतको समग्र पर्यटन प्रवद्र्धनका लागि शिव परिपथको आवश्यकता औँल्याउनुभयो ।

परिपथ निर्माण गरिए पर्यटनका माध्यमबाट दुवै देशको आर्थिक उन्नतिमा सहयोग पुग्ने भएकाले कोषका तर्फबाट प्रस्ताव गरी प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।

चौधरी फाउन्डेसनको सहयोगमा वत्सलेश्वरी मन्दिर, वत्सलेश्वरी पाटी, मङ्गलागौरी, अनन्त आदित्य नारायण र पञ्च गणेश मन्दिर एवम् खानेपानी धारा मर्मत सम्भार गरिएको हो । फाउन्डेसनको आर्थिक सहयोगमा २०७२ मङ्सिरदेखि मर्मत सुरु गरी हालै सम्पन्न गरेर आज कोषलाई हस्तान्तरण गरियो ।

फाउन्डेसनले रु ७७ लाखको लागतमा सम्पदा पुनःनिर्माण गरेको चौधरी ग्रुपका सञ्चार अधिकृत मधुसुदन पौडेलले जानकारी दिनुभयो । “दोस्रो चरणमा भष्मेश्वर घाट र आर्यघाट पनि जीर्णोद्धार गर्ने कार्यक्रम रहेको छ, यी दुई सम्पदा पुनःनिर्माणका लागि रु एक करोड ५४ लाख लाग्ने अनुमान गरिएको छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले धार्मिक, सांस्कृतिक कारणले नै नेपाल–भारतबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुभयो । पशुपतिनाथमा दर्शन गरी गुरु नानक मठ र निर्मल अखडासमेत पुग्नुभएका राजदूत पुरीले पशुपति क्षेत्र धार्मिक सद्भावको स्थल बनेको अनुभव आफूले गरेको सुनाउनुभयो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले कोषले जग्गा उपलब्ध गराएमा काठमाडौँमै शाश्वत धामको उपत्यका केन्द्र बनाउन फाउन्डेसन तयार रहेको जानकारी गराउनुभयो ।

“आमाको अन्त्येष्टिका बेला पशुपति क्षेत्रका धार्मिक, सांस्कृतिक सम्पदा संरक्षणका लागि केही गर्ने इच्छा जागेको हो, लुम्बिनीमा पनि काम गर्ने तयारी गरेका छौँ”– उहाँले भन्नुभयो ।

सो अवसरमा कोषका सदस्य सचिव टण्डनले कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको ५३६ रोपनी जग्गामा धाम बनाउन कोष सञ्चालक परिषद्मा प्रस्ताव गरिने प्रतिबद्धता जनाउनुभयो । विकासका लागि जनसहभागिता कार्यक्रम आह्वान गरेपछि फाउन्डेसनले सम्पदा पुनःनिर्माणको प्रस्ताव गरेको सो अवसरमा जानकारी गराइयो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक साफल्य अमात्यले सम्पदा पुनःनिर्माणको काम सरकारले मात्र गर्न नसक्ने भएकाले जनसहभागिता र सामाजिक उत्तरदायित्वका माध्यमबाट समेत काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्