१६ किलो अफिम नष्ट



 

नेपाल समाचरपत्र, बाँके । प्रहरीले बरामद गरेको लाखौं रुपैया बराबरको लागु औषध अफिम शुक्रबार नष्ट गरिएको छ ।

बालुवाङका जयबीर घर्तिमगरको साथबाट बरामद गरिएको १६ किलो अफिम बाँके प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालयको परिसरमा अफिम नष्ट गरिएको थियो । प्रहरीले केही दिनअघि घर्तिमगरलाई नेपालगञ्ज बसपार्कबाट पक्राउ गरेको थियो । रुकुमबाट किनेर ल्याइएको अफिमलाई भारत पु¥याउन लागेका बेला घर्तिमगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घर्तिमगर मोटरसाइकलमा थिए ।

घर्तिमगरका अनुसार, रुकुमका मान्छेसँग ३ लाख ८० हजार रुपैयामा उक्त अफिम किनिएको थियो । भारतमा पु¥याउन सकेको भए लाखौंमा बिक्री हुने सम्बद्धहरु बताउँछन् । बाँके प्रहरीका मुद्दाफाँटका सई मणि लामिछानेको नेतृत्वको प्रहरीले जिल्ला प्रशासन, नगरपालिका कार्यालयका प्रतिनिधिको रोहबरमा अफिम नष्ट गरेको थियो ।

मध्यपश्चिमका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, जाजरकोटमा अफिमको व्यवसायिक खेती हुने गरेको पाइन्छ । यी जिल्लाहरुमा भारतीय कारोबारीले लगानी गरेर अफिम खेती गर्ने गरेको स्रोतहरु बताउँछन् । ‘भारतीयले नै बिउ, मल खरिददेखि रेखदेख गर्नेलाई पैसा दिन्छन्, स्रोतले भन्यो, जाजरकोटमा ठूलो मात्रामा अफिम नष्ट गर्दा उक्त रहस्य खुलेको थियो ।’

बाँकेका प्रहरीका अनुसार, बरामद १६ किलो अफिम पछिल्लो समयको सबैभन्दा धेरै हो । पहाडी जिल्लामा गाजा, अफिम उत्पादन गरेर भारत पु¥याउने र भारततिरबाट ब्राउनसुगर निकासी गर्ने गरिएको पाइन्छ । भारतमा जताततै सहजै पाइने ब्राउनसुगर किनेर युवाहरुले ठूला शहरतिर मात्रै होइन, पहाडी जिल्लाका गाउँगाउँमा पु¥याउने गरेका छन् । नेपालगञ्ज नाकामा ब्राउनसुगरसहित पक्राउ गर्ने पहाडी जिल्लाका युवाहरुले पनि त्यस्तो पुष्टि गर्दछ ।

प्रहरीले ठूलो मात्रामा गाजा र अफिमसहित पक्राउ गर्ने व्यक्ति प्रायः भरिया हुने गर्दछन् । केही पैसाका लागि उनीहरुले निश्चित ठाउँसम्म पु¥याउने जिम्मा लिएको पाइन्छ । १६ किलो अफिम बोकेर आएर घर्तिमगर भने आफै कारोबारी रहेको प्रहरीले बताएको छ । मुद्दाफाँटका सई लामिछानेका अनुसार, घर्तिमगरले रुकुमका व्यक्तिसँग किनेर आफै बेच्न भारततिर जादै गर्दा नेपालगञ्जको बसपार्कमा पक्राउ परेका हुन् ।’

लागु औषधको सञ्जाल शहर बजारदेखि पहाडी जिल्लाका गाउँगाउँमा फैलिएकाले कारोबारीको सक्रियता बढेको छ । नेपालगञ्ज कारागार र प्रहरीको खोरमा रहेका लागु औषधका बन्दीहरुको संख्याले पनि कारोबारी दिनदिनै बढेको देखिन्छ । नेपालगञ्ज कारागारमा लागु औषधका सबैभन्दा धेरै बन्दी छन् । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा त्यस्तै छ । युवा पुस्तामा रहेको विकृति बिस्तारै बालक र किशोरमा फैलिएको छ । नेपालगञ्जमा हुने चोरी, लुटपाटका घटनामा संलग्न हुने अधिकांश लागु औषध प्रयोगकर्ता हुने गरेका छन् ।

१६ किलो अफिम जल्दै ।

प्रतिक्रिया दिनुहोस्