राष्ट्रपति रनिङ सिल्डमा अजितको कीर्तिमान



 

नेपाल समाचारपत्र
काठमाडौं
नवौं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा मध्यमाञ्चलका अजितकुमार यादवले नयाँ राष्ट्रिय कीर्तिमान रचेका छन्।

अजितले बिहीबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रइकमा उनले निर्धारित दूरी ४ मिनेट ०३ दशमलव ३८ सेकेन्डमा पूरा गरे। उनले अघिल्लो संस्करणमा आफैले बनाएको ४ मिनेट १४ दशमलव ५ सेकेन्डको कीर्तिमान तोडेका छन्। सो विधामा सुदूरपश्चिमाञ्चलका सुनील सुनार दोस्रो र मध्यपश्चिमाञ्चलका माधवकुमार चौधरी तेस्रो भए। सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी राममाया बुढाले दूरी ५ मिनेट १७ दशमलव ०४ सेकेन्डमा सकाउँदै पहिलो भइन्। मध्यपश्चिमाञ्चलकै आशा राउत दोस्रो र मध्यमाञ्चलकी हुमी बुढा मगर तेस्रो भए।

कराते
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेको छात्र ४२ केजीमा मध्यमाञ्चलका अनिल उपरकोटी पहिलो भए। ४७ केजीमा मध्यमाञ्चलका साजन लामाले स्वर्ण चुमे। छात्राको ४० केजी फाइनलमा मध्यमाञ्चलकी जिया खड्गीले स्वर्ण जितिन्।

प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशमा खेलकुदको विकासका लागि विद्यालयलाई आधार बनाएर शुरूआत गरिएको यो प्रतियोगिता खेलकुद प्रतिभाको पहिचान गर्ने उपयुक्त माध्यम भएको धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले २ खेलबाट शुरूआत गरिएको यो प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा ८ खेल समावेश हुनुले प्रतियोगताको दायरा फराकिलो बन्दै गएकामा खुसी व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्