नेपाल समाचारपत्र
काठमाडौं
एनसेलका नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त हुनु भएको छ। दूरसञ्चार क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव भएका अमरासेकरा बिहीबार नियुक्त हुनु भएको एनसेलले जनाएको छ।

नियुक्त भएपछि उहाँले डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पु¥याउँदै एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रूपमा स्थापित गराउने आफ्नो लक्ष्य भएको बताउनुभएको छ।

नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीमा काम गरिसक्नुभएको छ। एनसेलसँग आबद्ध हुनु अघि अमरासेकरा आजिआटा गु्रप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रूपमा गु्रपले दक्षिण एसियाली क्षेत्रहरू बंगलादेश, नेपाल, श्रीलंका तथा पाकिस्तानमा पहल गरेका कार्यमा केन्द्रित हुनुहुन्थ्यो।

सन् २०१४ देखि २०१७ सम्म अमरासेकराले एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रूपमा सम्पूर्ण भारतको फोरजी÷एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारिअर व्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिँदै आफ्नो कार्यभार सफलतापूर्वक उहाँले सम्हाल्नुभएको थियो।

यसअघि अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्च तहमा रहेर काम गर्नु भएको थियो। त्यसपश्चात् उहाँले श्रीलंकाको मोबिटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको नेतृत्व गर्दै ५ वटा सेवा प्रदायक रहेको प्रतिस्पर्धी बजारमा मोबिटेललाई दोस्रो स्थानमा पु¥याउन सफल हुनुभएको थियो।

विभिन्न खाले बजारमा संगालेका अनुभव एवं बहुसाँस्कृतिक परिवेशमा सहजै घुलमिल हुनसक्ने दक्ष सिपका कारण अमरासेकराले एनसेललाई अझ उचाईमा पु¥याउन मद्दत गर्नुहुने आशा राखिएको कम्पनीले जनाएको छ।

अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जिनियरिङमा स्नातक तथा स्नातकोत्तर गर्नुभएको हो। यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गर्नुभएको छ।

LEAVE A REPLY