उचाई चुम्दै सान्चेज



 

कविरस शर्मा

चिलीका स्टार फुटबलर एलेक्सिस सान्चेजको लोकप्रियताले आजको दिनसम्म निक्कै उचाई पाइसकेको छ। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमय वर्तमान विश्व फुटबलमा सान्चेजको प्रदर्शन छायाँमा परेको छ। तर, सान्चेजसहितको चिलीविरुद्ध मेसीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगलले पनि घुँडा टेकिसकेको पछिल्ला नतिजाहरुबाट स्पष्ट नै छ। होचा कदका भए पनि तीव्र गतिमा बल नियन्त्रण गर्ने खुबीका कारण सान्चेजले फुटबल जगत्मा एकपछि अर्को सफलताको क्रमले निरन्तरता पाउन थालेको हो। मात्र २८ वर्षको उमेरमा उनको मूर्ति चिलीस्थित उनकै गृहनगर टोकोपिलामा निर्माण भइसकेको छ।

उनी इंग्लिस प्रिमियर लिग क्लब आर्सेनलका महत्त्वपूर्ण खेलाडी हुन्। आर्सेनलले उनलाई साताको ३.५७ करोड नेपाली रुपियाँ बराबर तलब दिने गरेको छ। यसका बावजुद उनको माग यति बढेको छ कि आगामी सिजन उनी आर्सेनलमा नै रहने विषयमा समेत एकिनका साथ भन्न सक्ने अवस्था छैन। उनलाई जर्मनीको बायर्न म्युनिखले प्रतिसाता ४ करोड नेपाली रुपियाँ बराबरको तलब दिने प्रस्ताव अघि सारेको छ।

आजको मितिमा भनेजति तलब पाउने सान्चेजको विगत भने यस्तो थिएन। जतिबेला उनी ५ वर्षका थिए, त्यति बेला उनका पिता परिवारबाट अलग्गिएका थिए। त्यस पछाडि सान्चेजसहित अन्य तीन सन्तानको जिम्मेवारी उनको आमाको काँधमा आइपरेको थियो।

अनि दैनिक गुजाराका लागि ६ वर्षको उमेरमा अरूको गाडी धोएर पैसा जुटाउन उनी बाध्य बनेका थिए। अलि हुर्केपछि उनले सडकमा मनोरञ्जनका सानातिना क्रियाकलाप पनि गर्न थाले। त्यसपछि भने उनी फुटबलतिर आकर्षित भएका हुन्। जसले उनलाई अहिलेको उचाईसम्म पुर्याएको छ।

चुस्तताका साथ बल खोसेर प्रतिद्वन्द्वी टोलीका खेलाडीभन्दा टाढा पुग्ने गुणका कारण उनले ‘स्क्वीरल’ अर्थात् न्याउरी मुसाको उपमा पाएका छन्। १० वर्षको उमेरमा सान्चेजलाई ‘वन्डर किड’ बाट सम्बोधन गरिन्थ्यो। स्कुल टिमको एक म्याचमा उनी निर्धारित समयभन्दा २० मिनेट ढिलो पुगेका थिए। जति बेला उनको टिम ०–१ ले पछि परेको अवस्था थियो। तर, उनको आगमनसँगै उनको टोलीले एकपछि अर्को गर्दै ८ गोल गरेर जित हासिल गरेको थियो।

१६ वर्षमा व्यावसायिक क्लब करियरको शुरुआत

१६ वर्षको उमेरमा नै सान्चेजले चिलीको क्लब कोबरेलोवाको सिनियर टिमबाट खेलेका थिए। त्यस पछाडि उनी अर्जेन्टिनाको चर्चित क्लब रिभर प्लेटमा अनुबन्धित भए। यस्तै गरी सन् २०११ मा उनी स्पेनिस क्लब बार्सिलोनाको महत्त्वपूर्ण खेलाडी बने। त्यसपछि सन् २०१४ मा उनी आर्सेनलमा भित्रिएका हुन्।
सान्चेज जति फुटबलमा उत्कृष्ट छन् पियानो बजाउन पनि उत्तिकै माहिर छन्। सान्चेजलाई पियानो बजाउँदै गरेको युट्युबमा सजिलै हेर्न सकिन्छ। यति मात्र होइन उनी च्यारिटी गर्न पनि अगाडि नै छन्।

सान्चेजको जन्म सन् १९८८ डिसेम्बर १९ मा चिलीको टोकोपिला शहरमा भएको थियो। सन् २००६ देखि चिलीको राष्ट्रिय टिमबाट खेल्न थालेका उनले १ सय १५ म्याचमा ३८ गोल गरिसकेका छन्। सन् २०१५ र २०१६ मा चिलीलाई लगालग दुई पटक कोपा अमेरिका कप च्याम्पियन बनाउन उनको योगदान महत्त्वपूर्ण बनेको थियो। गत आइतबार रसियामा सम्पन्न कन्फेडेरेसन कपमा उनले १ गोल गरेका थिए। यसअघि बार्सिलोनामा रहँदा ८८ म्याचमा उनले ३९ गोल गरेका थिए। अहिले आर्सेनलका तर्फबाट १ सय ३ म्याचमा उनले आफ्नो गोलसंख्या ५३ पुर्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्