राजधानीको ट्राफिक जाम



 

राजधानी काठमाडौंमा अहिले बढी नै ट्राफिक जाम हुने गरेको छ । विशेष गरी कोटेश्वर, बानेश्वर, गौशाला, चाबहिल, कलंकीजस्ता मुख्य चोकहरुमा ट्राफिक जामको समस्या अत्यधिक रहेको छ । हुँदा–हुँदा एनएसीअगाडिको टेप्पोस्टपसमेत ठूला गाडीको चापले अस्तव्यस्त देखिन थालेको छ । त्यस्तै भक्तपुर–काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग जडिबुटीमा जाम नभएको दिन नै हुँदैन । केही दिनयता त्यहाँको जाम गठ्ठाघर नै पुग्ने गरेको छ । विशेष गरी बिहान–बेलुकाको अफिस जाने–आउने समयमा बढी जाम हुँदा यात्रुहरु भनेको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।

हुन त उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले आगामी साउन १ गतेदेखि राजधानीबाट छुट्ने लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन गोंगबुबाट मात्रै प्रस्थान गर्नुपर्ने निर्णय गरिएको समाचार प्रकाशमा आएको छ । यतायात व्यवस्था विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरीलगायतका निकायहरुको बैठकले सो निर्णय गरेको हो । अबदेखि लामो दूरीका लागि छुट्ने सवारीसाधन गौशाला, जोरपाटीलगायतका गोंगबुबाहेकका स्थानबाट छुट्न नपाउने भएका छन् । यसले पनि केही हदसम्म चक्रपथका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम गर्न मद्दत गर्नेछ । तर यस कार्यले मात्रै हुँदैन, ट्राफिक जाम कम गर्न दीर्घकालीन योजना नै बनाउनुपर्छ ।

पहिलो कुरा त काठमाडौंका सडकको तुलनामा सवारीसाधनको संख्या धेरै भयो । दोस्रो कुरा, स्थानीय रुपमा चल्ने सार्वजनिक सवारीसाधन बढी यात्रु चढाउने उद्देश्यले मुख्य चोकहरुमा बढी समय रोक्ने प्रचलन छ । एक त हाम्रो सडकका चोकहरुमा विनाअवरोध गाडी पास गर्न ओभर ब्रिजहरु छैनन्, त्यसमाथि पालो पर्खंदा जाम बढ्ने नै भयो । त्यसैले सर्वसाधारणलाई मर्का नपर्ने गरी सवारीसाधनको संख्या बढ्न नदिने नीति बनाउनुपर्यो । साथै मुख्य चोकहरुमा गाडी पार गर्ने ओभर बृजहरुको निर्माण गर्नेतिर लाग्नुपर्यो । यसै गरी कोटेश्वरबाट नेपालको पूर्वी भागतर्फ जाने लामो दूरीका गाडीका लागि जडीबुटीदेखि पूर्व र थानकोट हुँदै बाहिरिने सार्वजनिक सवारीसाधनका लागि कलंकीबाहिर नै बसपार्क निर्माण गर्नु जरुरी देखिन्छ ।
बसस्टप भनेको गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थान मात्र हो, तर यहाँ त बसस्टपलाई पार्किङ स्थलजस्तै गरी सार्वजनिक गाडीहरु घन्टौं रोकिरहेको देखिन्छ । विशेष गरी कोटेश्वर चोकमा सार्वजनिक गाडीहरु लाइनमा देखिन्छन् । यहाँ ध्यान दिएर हेर्ने हो भने, भक्तपुरतर्फ एक लेनबाट मात्रै गाडी पास हुने गरेको देखिन्छ । त्यहाँ बायाँतर्फको सडक डिभाइडरसमेत निकालेर कुनै पनि गाडी रोक्न नदिई सबै लेनबाट सवारीसाधन सरर दौडाउने व्यवस्था गर्ने हो भने धेरै हदसम्म जाम घट्नेछ । घन्टौं गाडी रोकेर यात्रु कुर्ने परम्परालाई नतोडेसम्म राजधानीको ट्राफिक जाम कम गर्न सकिँदैन । साथै मुख्य चोकहरुमा गाडीका लागि ओभर बृजको समेत जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्