अबु सयाफले दुई भियतनामीको टाउको काटे



 

मनिला, (एजेन्सी)
फिलिपिन्सको इस्लामिक लडाकू समूह अबु सयाफले २ जना भियतनामीको टाउको छिनालेर हत्या गरेको सरकारी फौजले बुधबार जनाएको छ। अबु सयाफको बलियो पकड रहेको फिलिपिन्सको दक्षिण भागमा रहेको बासिलान टापुमा तिनीहरूको शव फेला परेको छ। ती २ जना गत वर्ष लडाकूहरूबाट अपहरित छ जना भियतनामी नाविकमध्ये हुन्।

दक्षिणी फिलिपिन्समा इस्लामिक लडाकूहरूको आक्रमणमा केही समय यता निकै तिव्र हुन थालेको छ। गत मे महिना यता मात्र माराबी शहरमा सरकारी फौज र लडाकूहरूबीचको भिडन्तमा ४ सय जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
फिलिपिनी सेनाले स्थानीय वासिन्दाबाट सूचना प्राप्त गरेपछि फौजले टाउकोविहीन दुई लाश भेटिएको एएफपी समाचार निकायलाई बताएको छ। एकजना भियतनामीलाई गत महिना मुक्त गरिएको थियो भने अन्य बाँकी तीनजना अझै तिनीहरूको नियन्त्रणमा रहेको अनुमान गरिएको छ।

अबु सयाफ फिलिपिन्सको अपहरण गरी फिरौति रकम असुल्ने, क्रुरता र टाउको काट्ने जस्तो डरलाग्दो गतिविधिका लागि निकै कुख्यात मानिन्छ। यस समूहले विदेशी तथा फिलिपिनीहरूको अपहरणका लागि इस्लामिक स्टेट ( आईएस) को सहयोग लिने गरेको जनाएको छ। अबु सयाफले फिरौति रकम नमिलेको रिसमा गत फेब्रुअरीमा एकजना जर्मन र सन् २०१६ मा एकजना क्यानाडली बन्धकको टाउको काटेको थियो।

 

प्रतिक्रिया दिनुहोस्