दिल्लीबाट नौ किशोरको उद्धार



नेपाल समाचारपत्र
बाँके
भारतको दिल्लीमा अलपत्र परेका नौ जना नेपाली किशोरको उद्धार गरिएको छ।
केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति र माइती नेपालको टोलीले दिल्लीमा अलपत्र परेका ६ जिल्लाका १२ देखि १८ वर्ष उमेरका किशोरहरूलाई उद्धार गरी नेपाल ल्याएको हो। घरबाट भागेर गएका नेपाली किशोरहरू भारतको विभिन्न ठाउँमा अलपत्र परेपछि त्यहाँको प्रहरी तथा संघ संस्थाले उद्धार गरेर राखेका थिए।

दिल्ली पुगेर फर्किएका माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार, कञ्चनपुरका ३, दाङका २ र नवलपरासी, सिराहा, जनकपुर, रौतहट जिल्लाका १⁄१ जना किशोर रहेका छन्। ‘आफ्नै अभिभावकसँग जाँदा बिछोडिएका १ जनाबाहेक अरू घरबाट भागेर दिल्ली पुगेका थिए’, कोइरालाले भन्नुभयो– ‘रेलवे स्टेसन, गल्लीमा रोएर हिँडेकालाई त्यहाँको प्रहरी र संघसंस्थाले उद्धार गरेर हामीलाई बुझाएका हुन्।’

तीन महिनादेखि किशोरहरू अलपत्र परेका थिए। किशोरहरू उच्च जोखिममा रहेका थिए। देखासिखी र लहलहैमा घरबाट भागेर हिँडेका किशोरहरू भारतमा श्रम शोषण र अंग प्रत्यारोपणको जोखिममा पर्ने सम्बद्धहरू बताउँछन्।

कोइरालाका अनुसार, किशोरहरू विभिन्न नाकाबाट दिल्ली पुगेका हुन्। नेपाल ल्याइएका किशोरहरूलाई माइती नेपालले काउन्सिलिङ गरेर जिल्ला बाल कल्याण समितिको जिम्मा लगाएको छ। किशोरहरूलाई अभिभावक बोलाएर जिम्मा लगाउने तयारी भएको छ। ‘अभिभावक सम्पर्कमा नभएकालाई उद्धार गृहमा राख्नका लागि पहल गरिरहेका छौं’, कोइरालाले भन्नुभयो– ‘धेरैको अभिभावक सम्पर्कमा आएका छन्।’

भारतमा गएर कमाई गरी मोबाइल, घडीलगायत लिएर हिँडेको देखासिकीमा पर्ने किशोरहरू घरबाट पैसा चोरेर भारततिर भाग्ने गरेको पाइन्छ। मध्यपश्चिमका पहाडी जिल्लाबाट स्कुले पोसाकमा भारत हिँडेका कैयौं बालक⁄किशोरलाई नेपालगन्ज नाकाबाट फिर्ता गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्