सडक बगाएपछि सकस



उत्तरी प्युठानको नौबहिनी ६ मगरबासामा लुगँखोलामा आएको बाढीले सडक बगाएपछि बर्खे भेलको यात्रा गर्दै स्थानीय ।

सलिम अन्सारी, प्युठान
माथितिर फर्केर हेर्दा खस्न ठिक्क परेका र आफैंलाई पर्खेर बसेका जस्तो चिराचिरा बनेका पहरा अनि तलतिर नहेरूँ भने पनि हेर्नैपर्ने लुगँखोलाको उर्लंदो भेल, अझै नहिडूँ भने लुगँखोला छिचोल्नै पर्ने बाध्यता। यसै साता मात्रै मुसलधारे झरीपछि लुगँखोलामा आएको भीषण बाढीले सडक नै बगाइदिएपछि दैनिक सयौं पैदलयात्रीले जोखिम मोल्नुपरेको छ। नदीमा दिनहुँ बाढी आउने गरेकाले नदी भएर आवतजावत गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन्। बाग्दुला बहाने सडकखण्डअन्तर्गत नौबहिनीको बल्लेखोला नजिक मगरबासामा सडक नै बगेपछि यही बाटो प्रयोग गरेर आउजाउ गर्ने पैदलयात्रुलाई समेत अहिले ठूलै समस्या परेको छ। यसबाट जिल्लाको उत्तरी भेगका सर्वसाधारणहरू बढी मर्कामा परेका छन्।

लुगँखोलामा आएको बाढीले झन्डै तीस मिटरजति सडक बगाएपछि पैदलयात्रु, विद्यार्थी र व्यवसायीलाई असुविधा भएको हो। स्थानीय गंगा उच्च मावि बहाने र साइनिङवे विद्या सदन बोर्डिङमा अध्ययन गर्न जाने पीपलटारी, सिरवारी, बल्लेखोलालगायतका लगभग तीन सय विद्यार्थी प्रभावित भएको विद्यालयका प्रधानाध्यापक देवीप्रसाद रिजालले बताए। सयौं विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्। सडक बगेपछि बालबच्चा विद्यालय आउन नसकेको उनले जानकारी दिए। उक्त सडकको विकल्पका रूपमा प्रयोग गर्ने बाटो दुई तीन घण्टा बढी समय लाग्ने भएपछि भारी बोक्ने भरियाहरू र पैदल हिँड्नेहरू पनि पहिरोको बीचबाटै ओहोरदोहोर गर्न बाध्य छन्। सवारीसाधन चल्न सक्ने अवस्था छैन।

सडक बगेपछि उत्तरी प्युठानका दर्जनौं गाउँ यातायात सम्पर्कविहीन भएका छन्। सडक भत्किएपछि सो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन। गत वर्ष साउन ११ र १२ गते यहाँ पहिरो जाँदा धनजनको क्षति भएको थियो।
हिउँदको महिनामा पहिरो गएको स्थानभन्दा अलि पर बहाने बजारसम्म यातायातका सवारीसाधन पुग्ने गरेको भए पनि वर्षा लागेसँगै सवारीसाधन नचल्दा त्यस क्षेत्रका स्थानीयहरू अहिले पैदल हिँडेर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता आइलागेको छ। लुगँखोलाले मुख्य सडक बगाएपछि समस्या भएको स्थानीय महेश थापाले बताए। उनले भने भौगोलिक रूपमा विकट तथा दुर्गम स्थानमा अवस्थित जिल्लाको फोप्ली, लिघा, डाम्री, खवाङ, स्याउलिबाङलगायतका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउ गर्नेलाई अहिले यो सडक काल निम्ताउने खालको बनेको छ। कतिपयले पहरामाथिको डाँडाबाट बाटो काटे, कतिले खोलाबाटै ज्यान जोखिममा राखेर बाटो छिचोले। स्थानीय थापाले भने छेउमा हेर्यो लुगँखोलाको तिर उभो हेर्यो तारेभीर। लगातारको वर्षाले लुगँखोलामा पानीको स्तर अत्यधिक बढेको छ। कटान गरिएको सडक खण्डमा पानी तीव्र गतिमा बगिरहेको छ।

अप्ठ्यारो भूगोलका कारण यहाँ सडक बनाउन समस्या देखिएको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। ‘सडक सुचारु गर्न जिल्ला विकास समितिले बुधबारदेखि ज्यामी खटाएर सडक निर्माणको काम थालेको उनले जानकारी दिए। ज्यामी खटिएका छन्’, उनले भने– ‘सडक सुचारु हुन समय लाग्दैन।’

प्रतिक्रिया दिनुहोस्